जहाँ टिफिन कटाएर जरिवाना तिराइन्छ…

0 minutes, 0 seconds Read
Spread the love

केही दिनअघि मेयरसँग विद्यार्थी भन्ने कार्यक्रमको भिडिओ क्लिप हेरेँ। साना विद्यार्थी भाइबहिनीहरूले निर्धक्कसँग मेयरसँग, मिडियाकर्मीहरूका अगाडि आफ्ना गुनासा राखिरहेका थिए।

उनीहरू यति निर्धक्क देखिएका थिए कि आज जस्ता प्रश्न सोधे पनि आफूलाई सर म्यामले कारबाही गर्दैनन् ….!

कोहीकोही विद्यार्थीहरू त वास्तविक उमेरभन्दा पनि धेरै परिपक्क देखिन्थे प्रश्न र जिज्ञासाको सवालमा।

एक जना विद्यार्थीको प्रश्नले निकै दिनसम्म सोचनीय बनायो।

ती विद्यार्थीले चर्को स्वरमा प्रश्न गरे, ‘आफ्नो मातृभाषामा विद्यालयमा बोल्दाखेरी त्यसबापत जरिवाना तिर्नुपर्ने विश्वको कुन देश होला? मैले कक्षामा नेपाली भाषामा बोलेबापत प्रत्येकचोटि जरिवाना तिर्दै आएको छु। मलाई मम्मीले टिफिन खान दिएको पैसा स्कुलमा जरिवाना तिर्दै सकिन्छ, अब मैले खाजा के खाने? आफ्नो भाषामा बोल्दाखेरी किन कारबाही गरिन्छ? सामूहिक समस्याजस्तो भएर होला पर्रर तालीको गुन्जायस थपियो।

यो प्रश्न सुनेपछि केही समय अघिको घटना सम्झेँ।

मेरो एक जना आफन्तको छोरा नौ कक्षामा पढ्छ। उसका बाआमा दुवै जना नेपाली विषयका शिक्षक हुन्। स्वभावैले ऊ अरू विद्यार्थीभन्दा नेपाली विषयमा ट्यालेन्ट छ। बाआमाको प्रभाव पनि होला, ऊ स्वयम् पनि नेपालीमा कथा, कविता लेख्न रूचाउने भएकोले पनि उसको नेपाली विषय साथीहरूको तुलनामा निकै राम्रो छ।

एकदिन घरमा आउँदा छोरो मलिन भएर आएछ।

बाआमाले सोधेछन्, उसले केही पनि बताएनछ। एक्लै पारेर आमाले सोधिछन्, उसले खाजा नखाएको, सरले हप्काएको … बताएछ।

खाजा किन नखाएको? आमाको प्रश्नमा पैसा नभएर भन्ने जवाफ दिएछ।

अस्ति दिएको पैसा खै त?’, आमाको प्रश्नमा ऊ अवाक बनेछ।

एक हप्तालाई पुग्ने पैसा दिएकी थिएँ, खाजा खानु पर्दैन? त्यो पैसा के गरिस्? आमाले एकोहोरो कराउन थालेपछि नौ कक्षामा पढ्ने छोरो ग्वाँग्वाँ रून थालेछ।

छोरो एकाएक रून थालेपछि फकाउँदै सोध्न थालिछन् आमाले। कक्षामा नेपाली भाषामा बोलेको भनेर लगातार दश रुपैयाँको दरले जरिवाना गरेछन् शिक्षकले।

त्यो मात्रै होइन, आइन्दा फेरि पनि नेपालीमा बोलेको सुनियो भने झन् डरलाग्दो सजायको घोषणा गरेछन्।

ऊ एक त खाजा खान पाएको छैन, अर्कातिर जति नबोलौं भने पनि कुनै न कुनै बेला मुखबाट नेपाली शब्द फुस्किहाल्छ, सर म्यामले सुन्नुभयो भने फाइन तिर्नुपर्छ। निकै पीडामा देखिएछ छोरा।

आफ्नो मिल्ने साथीसँग नेपालीमा कुरा गर्दा उसले साथीको समेत दश रुपैयाँ तिर्नुपरेको रहेछ।

ती आफन्तलाई त्यो घटनाले निकै दिनसम्म राम्रोसँग चैन भएन रे। ‘हामी आफू पनि नेपाली विषय पढाउँछौं, आफूले कहिल्यै त्यस्तो देखिएन, भोगिएन तर आफ्नै छोराले नेपाली भाषामा बोलेबापत खाजा कटाएर जरिवाना तिर्नुपर्ने कस्तो शिक्षा दियौं हामीले? हाम्रो मातृभाषा, विश्वमा चिनिएको नेपाली भाषा आज निजी विद्यालयमा जरिवाना गर्न लायक कसरी बन्यौं? निकै चिन्ता लाग्यो। एकदिन विद्यालयमा गएर प्रिन्सिपलसँग कुरा गर्‍यौं। अर्को वर्ष एसइई दिने छोरा स्कुलबाट निकाल्न पनि सजिलो छैन, छोराको गुनासो सुन्दा एक सेकेन्ड त्यहाँ राखिराख्न पनि जरूरी देखेनौं।

प्रिन्सिपलले नेपाली भाषा बोल्दैमा कारबाही गरिएको, जरिवाना तिराइएको विषय निन्दनीय भएको र अब उपरान्त त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएपछि ढुक्क भयौं। हाम्रो छोराले के अपराध गरेको थियो र? उसका बाआमा नेपाली विषय पढाउँछन्, उसको घरमा नेपाली भाषामै कुराकानी हुन्छ। अनिवार्य नेपाली भनेर एउटा विषय पढ्नै पर्छ, फेरि…। त्यही भाषामा उसले साथीभाइसँग केही कुरा गर्‍यो भन्दैमा उसको खाजा खाने पैसा कटाएर जरिवाना गर्ने कहाँको आधुनिक शिक्षा हो? कुन देशमा आफ्नो मातृभाषामा बोलेबापत सजाय तिर्नुपर्छ होला? अरू ठाउँमा त आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्छन्, तर हामीकहाँ ठीक उल्टो छ’ एकदिन ती आफन्तले गुनासो सुनाएका थिए।

आफ्नै गुनासो 

मेरो छोरालाई मन्टेश्वरीमा भर्ना गर्ने बेलामा एउटा फारम दिएको थियो विद्यालयले। त्यहाँ लेखिएको थियो, घरमा बाबुसँग कुन भाषामा कुराकानी गर्नुहुन्छ? भनेर। धेरैजना अभिभावक स्कुलको पहिलो दिन पनि आफ्ना बच्चासँग पूरै अंग्रेजी भाषामा बोलिरहेका थिए। मेरो छोरा हाम्रो पनि हजुरआमासँग हुर्केको, हामी उसका बाआमा उस्तै परे अंग्रेजी पनि नेपाली माध्यमबाटै पढेर यहाँसम्म आइपुगेका, यस्तो परिवेशमा छोराको कुराकानीको भाषा के हुन्छ होला? हजुरआमासँग ठेट नेपाली भाषा, उसका बाआमासँग अलि सप्रिएको नेपाली। अनि बुढी हजुरआमासँग कुन भाषामा कुराकानी गर्दो हो पनातिले? चारपुस्ता एकैठाउँमा बस्छौँ, हामी नेपालीमै बोल्छौं भन्यौं। अंग्रेजी भाषा सिकाउने नाममा भर्खर प्ले ग्रुपमा भर्ना गरिने विद्यार्थीहरूमाथि गरिएको यो कस्तो खाले मूल्यांकन होला? जहाँ पनि उस्तै चलन रहेछ, विस्तारै थाहा भयो।

अंग्रेजी स्कुलमा सिकिहाल्छ, नेपाली भाषा राम्रो, शुद्ध हुनुपर्छ भन्ने मान्यता मेरो छ।

अहिले पाँच कक्षामा पढ्ने छोरो उसको कक्षामा नेपाली विषयमा उसका साथीहरूको तुलनामा राम्रो छ, घरमा पनि उसलाई नाता सम्बन्ध, कसलाई के भन्ने, कसरी चिन्ने? नेपाली भाषामा ऊ पोख्त छ उसको लेबल अनुसार।

मेरा आफन्तको छोराले जरिवाना तिरेको घटनापछि छोरालाई सोधें, उसले आफ्नो स्कुलमा नेपाली, हिन्दी, अंग्रेजी जुन भाषामा पनि बोल्न पाइने बतायो। सर, म्यामहरू पनि सबै भाषामा बोल्नुहुन्छ, हामी पनि बोल्छौं। ऊ खुसी देखिन्थ्यो।

मेरो छोरासँगैका साथीहरू बाटोमा हिँड्दा पनि बाआमासँग अंग्रेजीमा कुरा गर्थे, बाआमालाई आफ्ना सन्तान अंग्रेजीमा फर्रर बोल्दा आनन्द आउँदो हो तर मेरो छोरा ऊ त्यो लेखेको छ नि त्यसमा दीर्घ हुनुपर्ने किन ह्रस्व लेखेको छ? भनेर प्रश्न गर्थ्यो। कोही आफन्तको बिहे भयो भने नाता पहिल्यै पत्ता लगाउँथ्यो।

मेरो भाइको बिहे भयो, उसले पहिल्यै नाता लगायो, अब मैले मामाको श्रीमतीलाई माइजू भन्नुपर्छ होइन? अस्ति बिहे भएकी दिदीको श्रीमान मेरो भिनाजु हो? यस्ता यस्ता पारिवारिक नाता सम्बन्ध सामाजिक विषय नेपाली भाषामै पढाइ हुन्छ त्यो भएर पनि धेरै थाहा पाएको छ। उसले अहिलेसम्म नेपाली बोलेबापत जरिवाना तिरेको छैन।

अर्को घटना

मेरो नातेदारको छोरीको बिहे भयो। बेहुलीको भदाभाइ आठ कक्षामा पढ्थ्यो। ऊ अंग्रेजीमा फर्रर… बोल्थ्यो। कोही कतै जमघटमा गइयो भने पनि बुवाआमा छोरासँग अंग्रेजीमै कुराकानी गर्थे। हेर्नु न …. नेपाली फिटिक्कै बुझ्दैन। बोल्न पनि आउँदैन, उसलाई अंग्रेजी नै सजिलो लाग्छ ….आमाले सानसँग सुनाउँथिन्।

कोही कसैलाई बोल्न नपर्ने अंग्रेजी यिनीहरूलाई बोल्नुपर्ने! कानेखुसी गर्दै अरूले गाइँगुइँ गरेको पनि सुनिन्थ्यो। उसले बेहुला बेहुलीलाई टीका लगाइदियो, खाममा राखेर दक्षिणा पनि दियो तर फुपूसँग बिहे गरेका बेहुलालाई के साइनो लगाउनुपर्छ भन्ने थाहा पाएन। त्यो साइनो पनि आमाले अंग्रेजीमा बताइन्। अंग्रेजीमा फर्रर बोल्ने छोराले आफ्ना फुपाजु चिन्न सकेन, भन्न सकेन। अरू सबै विषयमा डिस्टिङ्सन ल्याउँछ , त्यही एउटा नेपालीले धुरूक्कै पार्छ यसलाई।

नेपालीमा जष्ट पास भए भाग्य! आमाले सानसँग सुनाउँछिन्। अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो, जान्नुपर्छ तर त्यसो भन्दैमा आफ्नै फुपाजु धरी चिन्न नसक्नेगरी अंग्रेज बन्नु पनि भएन कि! सवाल यत्तिमात्रै हो।

अरू सबै विषय अंग्रेजी माध्यममा पढाइ हुन्छन्, निजी स्कुलहरूमा तर अनिवार्य नेपालीको विषयमा कम्तीमा नेपाली भाषामा बोल्ने, नेपालीमै कुराकानी गर्ने, साथीभाइको बीचमा नेपाली भाषामै कुराकानी गर्न दिने हो भने यस्तो बिजोग त हुँदैन थियो नि होइन र?

अहिले धेरै विद्यालयमाहरूमा सामाजिक विषय पनि नेपाली माध्यममै पढाइ हुन थालेको छ निकै राम्रो पक्ष हो।

आफ्ना बच्चा फर्रर अंग्रेजीमा बोल्दा हामी मख्ख पर्छौं तर नेपालीमा अक्क न वक्क पर्दा मौन रहन्छौं। घरमा बाआमा अंग्रेजीमा बोल्ने, स्कुलमा नेपालीमा बोले जरिवाना तिर्नुपर्ने अनि बच्चाको नेपाली विषयको परीक्षा बिग्रियो भनेर दिक्क मानेर, नातेदार चिन्दैन भनेर  के फाइदा होला र?

स्कुलमा बच्चाहरूलाई हात जोडेर नमस्कार भन्न सिकाउँदैनौं, गोजीमा हात हालेर भए पनि  ऊ गुड मर्निङ सर, गुड मर्निङ म्याम भन्छ। नमस्कार गर्दा पाखे, गाउँले, अनपढ, संस्कार नभएका जस्तो ठान्छौं हामी तर कोरोना कालमा नमस्कारले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको, हाम्रो सभ्यता संस्कारसँग जोडिएको कुरा  बिर्सन्छौं।

घरमा कोही आफन्त आउँदा, नमस्कार गर्ने, ढोग्ने चलन सहरमा बिस्तारै हराउँदै गएको छ।

बच्चाहरूले हात उठाएर हेलो… हाई…. भनेको देख्छु अग्रजहरू  घरमा आउँदा पनि। किनकि उनीहरू अंग्रेजी विषय पढेका छन्, उनीहरू हाई हेलोमै रमाएका छन्। बाआमा यसमै खुसी देखिन्छन्।

अझ कुनै ठाउँमा त बाआमाले ल बाबु नानी अंग्रेजीमा फर्रर भन्दिऊ त …. बच्चाले अमेरिकातिरका बच्चाले जस्तो फर्रर अंग्रेजी बोल्छन्। ओहो…. बाआमालाई यति भएपछि के चाहियो र? मैले दुई जना अभिभावक देखेकी छु, भर्खर बोली फुटेका जुम्ल्याहा नातिहरूलाई हजुरआमा र हजुरबाले नेवारी भाषामा सिकाउँदै गरेको।

एकदिन हजुरआमालाई सोधे, आमाको जवाफले निकै दिन कौतुहलता बढाइह्यो। हेर नानी यो बच्चा भोलि स्कुल जान्छ, स्कुलमा त नेवारी भाषा पढ्न पाउँदैन , यसका बाउआमालाई पनि राम्रोसँग नेवारी बोल्न आउँदैन, नेपाली बोल्न पनि आउँदैन त्यही भएर आफ्नो भाषा नभुलोस् भनेर आजैदेखि नेवारी भाषा सिकाएको यिनीहरूलाई।

यसलाई तिर्खा लाग्यो भने ल..ल.. भन्छ ल भनेको हाम्रो भाषामा पानी हो।

चार वर्षअघि तोते बोली सिक्दै गरेका ती नातिहरू अहिले बाआमासँग फर्रर नेवारी भाषामा कुराकानी गर्दै, हात समाएर स्कुल गएको देख्छु।

घरमा नेवारी भाषामै कुराकानी हुन्छ रे।  यत्ति भएपछि कम्तीमा आफ्नो भाषा सिक्छन नि। बुढी हजुरआमाले सुनाएकी थिइन्।
हाम्रा स्थानीय भाषा, संस्कृतिको जर्गेर्ना कस्ले गर्ने ? कहिले गर्ने ? अग्रेजीमा फर्रर बोल्दैमा केही हदसम्म फुरूक्क त परौंला, किनकि छोराछोरी भोलि अन्तर्राष्ट्रिय बजारमा भाषाकै कारण अयोग्य हुन नपरोस् तर कम्तीमा आफ्ना भाषाको पनि ख्याल गरिराखौं।

आफ्नै दिदीसँग बिहे हुँदै गरेको व्यक्तिसँग जान्ने बुझ्ने भइसकेका बच्चाहरू नै बेहुलासँग मेरो के नाता पर्छ भन्नेसम्म पनि हेक्का राख्न नसक्ने गरी अंग्रेजीकरण नगरौं कि भन्ने मात्रै हो।

नेपाली भाषामा बोल्दा कुनै स्कुलमा कारबाही गरिन्छ भने त्यस्ता स्कुल क्याम्पसहरूलाई कारबाही किन नगर्ने? आफ्नो मातृभाषामा बोलेको कारण दण्डित गर्ने नियम कुन मुलुकमा छ होला? यसबारेमा शिक्षणसंस्था र स्वयम् अभिभावक नै जागरूक हुनु जरूरी छ। अहिले नौ दश कक्षाका विद्यार्थीहरूलाई सोध्ने हो भने उनीहरूको जवाफ आउँछ प्लस टु पछि अष्ट्रेलिया जाने हो, नेपालमा भविष्य छैन, त्यही भएर अंग्रेजी राम्रो हुनुपर्छ। कोहीकोही अभिभावक विदेशमा बच्चा पढाउँदा, उतै हुर्किएका बच्चाहरू नेपाली भाषामा कमजोर भए भनेर नेपालमा ल्याएर पढाएका पनि उदाहरणहरू छन्। कम्तीमा आफ्नो भाषाको संरक्षण गरौं, जतिसुकै अंग्रेजीकरण गरिए पनि मूलत हामी नेपाली हौं, हाम्रा बच्चाहरू नेपाली भाषा सिकेरै हुर्केका हुन्, उनीहरूलाई नेपाली भाषामा बोलेकै आधारमा कारबाहीको भागीदार नबनाऊँ। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *