पहिलो पटक काठमाडौं पुगेका सफेकुन र सफेरूनको सपना यसरी हुँदैछ पूरा

0 minutes, 0 seconds Read
Spread the love

बिहान साढे ६ बजे कलेज पुगिसक्नुपर्ने भएकाले सफेकुन निशा र सफेरून निशा सबेरै खाना खाइसक्छन्। ललितपुरको खुमलटारस्थित कोठाबाट सार्वजनिक गाडी चढेर यी दिदीबहिनी कुमारीपाटीस्थित ‘टेक्निकल ट्रेनिङ एन्ड रिसर्च इन्स्टिच्युट (टिटिआरआई)’ पुग्छन्।

दिउँसो १ बजे कोठामा फर्किएपछि पनि उनीहरूको ध्यान पढाइमै हुन्छ। राति अबेरसम्म पढाइमै व्यस्त रहन्छन्।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकास्थित बासा भन्ने ठाउँका यी दिदीबहिनी गत जेठमा पहिलोपटक काठमाडौं पुगेका थिए। पढेर सरकारी जागिर गर्ने अभिलाषा बोकेर बासाबाट काठमाडौं पुगेका उनीहरू त्यही सपना पूरा गर्न कस्सिएका छन्।

सफेकुन र सफेरून उमेरले २५ वर्ष मुनिका छन्। यसै पनि विपन्न परिवार, त्यसमाथि छोरीलाई पढाउनु पर्दैन भन्ने सोच रहेको समाजमा उनीहरूका लागि पनि पढाइको अवस्था सहज थिएन। जसोतसो विद्यालय त गए तर परिवारमा पढाइको वातावरण भएन। दैनिक ज्यालादारीमा काम गर्न खेतमा जानु यी दिदीबहिनीको बाध्यता थियो।

आमा दुबै छोरीलाई धेरै पढाउन चाहन्थिन् तर अत्यावश्यक खर्च गर्ने पनि उपाय थिएन। आमा र बुवाको सम्बन्ध खराब भयो, उनीहरू आपसमा छुट्टिए। सफेकुन र सफेरून आमाको जिम्मामा पुगे। दाइ र कान्छी बहिनी बाबुको जिम्मामा भए।

ज्याला मजदुरी गर्दै दुई दिदीबहिनीले वसन्त मावि, बासाबासेनीबाट एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरे। त्यसमाथिको पढाइ त उनीहरूको कल्पनामै थिएन। उनीहरू काममा लागे।

‘तीन वर्षभन्दा बढी त अर्काको काम गर्‍यौं,’ सफेकुनले भनिन्, ‘धेरै पढ्ने त भाग्यमै छैन, हामीले पढ्न सक्ने यति नै हो भन्ने लाग्थ्यो।’

आमा दुबै छोरीको पढाइ अघि बढाउन चाहन्थिन्। ढिलै भए पनि आमाले दुबै जनालाई आदर्श मावि, पोखरपुरामा कक्षा ११ मा भर्ना गराइन्। उनीहरू भर्ना त भए तर पढाइमा धेरै ध्यान दिन पाएनन्।

‘भर्ना भएरमात्रै के गर्नु, खर्चले पुग्दैनथ्यो। आमा एक्लैले कमाएको पैसाले हाम्रो खर्च धान्दैनथ्यो,’ सफेकुनले त्यो समयको पीडा सुनाइन्, ‘उमेर बितेपछि स्कुल गएको भनेर धेरैले कुरा काटे। तिमीहरू पढेर के गर्छौ भनेर हेपेर कुरा गरे। हामी स्कुल जान छाडेर कमाउन जान्थ्यौँ।’

अनेक हन्डर र ठक्करबीच सफेकुनले १२ कक्षा सरासर उत्तीर्ण गरिन्। सफेरूनले एक विषयमा मौका परीक्षा दिनु पर्‍यो।

सरकारी जागिर गर्ने सपना देखेका यी दिदीबहिनी अहिले आफ्नो सपना पूरा गर्ने दौडमा छन्। यो दौडमा सारथि बनेकी छन् भेटेरिनरी चिकित्सक अस्मिता सुवेदी। अस्मिता कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुविकास अधिकृतका रूपमा कार्यरत छिन्।

सफेकुन–सफेरून दिदीबहिनी र  अस्मिताको घर एकै ठाउँमा हो। एकै ठाउँका भएकाले उनी निशा परिवारका बारेमा जानकार थिइन्। ती दिदीबहिनीकी आमाको आग्रहमा अस्मिताले उनीहरूलाई पढाउन अग्रसरता लिइन्।

‘उनीहरूलाई प्राविधिक विषय पढाउन सके रोजगारी पक्का हुन्थ्यो भन्ने लाग्यो। सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) मा कृषि र भेटेरिनरीको फारम खुलेको थियो,’ अस्मिताले भनिन्, ‘छात्रवृत्तिका लागि उनीहरूको फारम भरिदिएँ। तयारी कक्षा आफैँले पढाएँ।’

छात्रवृत्तिको परीक्षामा सफेकुनमात्र सफल भइन्। सफेरूनका लागि पढाइखर्च जुटाउनु पर्ने भयो। अस्मिताले रोटरी क्लब अफ नारायणगढलाई सम्झिइन्।

उनी कुनै समय यही क्लबअन्तर्गत ‘रोटर्‍याक्ट क्लब अफ नारायणगढ’ मा ‘सर्भिस प्रोजेक्ट डिरेक्टर’ थिइन्। ‘युथ रेडक्रस सर्कल, रामपुर’ को अध्यक्ष हुँदा उनले रोटरी क्लबलसँग मिलेर मानिस र वन्यजन्तुको स्वास्थ्यका लागि काम गरेकी थिइन्।

उनले क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानसँग कुरा गरिन्। प्रधानमार्फत् सफेरूनको पढाइको कुरा क्लबको बैठकमा पुग्यो। अस्मिताको प्रयास सफल भयो। सफेरूनको पढाइमा रोटरी क्लब र स्पाउच क्लबले सघाउने भए। सफेरूनको १९ महिनाको भेटेरिनरी पढाइ पूरा गर्न ९७ हजार रुपैयाँ आवश्यक थियो।

क्लबका अध्यक्ष भोलानाथ लामिछानेले क्लबले सहयोग गर्ने प्रतिबद्धता जनाए।

लामिछाने भन्छन्, ‘हामीले विपन्न समुदायका विद्यार्थीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएका छौँ। सफेरूनको पढाइका लागि पनि क्लबले सहयोग गर्दैछ।’

पढाइबाट बञ्चित हुन लागेकी मुस्लिम समुदायकी युवती सफेरूनको शिक्षाका लागि आवश्यक सहयोग गर्ने बाचा स्पाउच क्लबकी अध्यक्ष पूर्णमा श्रेष्ठले पनि गरेकी छन्। रोटरी र स्पाउच क्लबसँगै व्यवसायी रजनी मास्केले पनि सहयोग गरेकी छन्।

सफेकुन र सफेरून अहिले ललितपुरस्थित डा. अस्मिताकै आवासमा बस्छन्।

‘उनीहरूलाई होस्टलमा राख्न सक्ने अवस्था भएन। मसँगै बस्छन्। खानाको व्यवस्था हामीले नै मिलाएका छौँ,’ डा. अस्मिता भन्छिन्, ‘उनीहरू पढ्ने अवसर पाएकोमा असाध्यै खुसी छन्। मिहिनेत गर्दै छन्। म भेटेरिनरीकै भएकाले मैले पनि सिकाउने गरेकी छु।’

यो पढाइ पूरा गरेपछि यी दिदीबहिनीलाई कामको समस्या नहुने उनको भनाइ छ।

‘यो पढाइ सकेपछि काम पाउन गाह्रो छैन। लोक सेवा आयोगमा नाम निकालेर सरकारी जागिरमा पनि जान सक्छन्। मुस्लिमको आरक्षण कोटामा अवसर पाउन सक्छन्,’ उनी भन्छिन्, ‘सरकारी जागिर पाएनन् भने पनि आफ्नै व्यवसाय चलाउन सक्छन्।’

पढाइमा सफेकुन र सफेरूनको लगावबाट डा. अस्मिता खुसी छिन्।

दुबै दिदीबहिनी सरकारी सेवामा प्रवेश गर्न चाहन्छन्।

‘मेरो (मुस्लिम) समुदायमा धेरै छोरीहरू विद्यालय नै जाँदैनन्, गइहाले पनि धेरै पढ्दैनन्,’ सफेरून भन्छिन्, ‘केही ढिलो भए पनि हामीले पढ्ने अवसर पाएका छौँ। मेहनत गर्दैछौं।’

उनीहरू आफ्नो समुदायमा छोरीलाई पनि उच्च शिक्षासम्म पढाउनुपर्छ भन्ने चेतना फैलाउन चाहन्छन्। पढाइ र कामको टुंगो लागेपछि छोरीहरूको शिक्षाका लागि जनचेतना अभिवृद्धिको काममा लाग्ने उनीहरूको चाहना छ।  सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *