माधव नेपाल निर्दोष हो भन्ने साबित भइसक्यो: प्रचण्ड

0 minutes, 0 seconds Read
Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भइसकेको दाबी गरेका छन्।

पोखरामा शुक्रबार समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘माधवजी यहीँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भन्ने भइराख्यो। उहाँ अहिले निर्दोष हो भन्ने साबित भइसकेको छ।’

पूर्वप्रधानमन्त्री नेपाल ललिता निवास जग्गा प्रकरणमा औपचारिक ढंगले निर्दोष साबित भइसकेको दाबी प्रधानमन्त्री दाहालले गरेका हुन्।

‘औपचारिक ढंगले उहाँ (माधव नेपाल) निर्दोष साबित हुनुभयो, अब प्रश्न उठाउने ठाउँ छैन,’ उनले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बयान लिएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ।

‘सिआइबीले अन्तत: उहाँ (माधव नेपाल) को कुरा के हो भनेर बयान त लिइसक्यो,’ उनले भने, ‘बयान लिएर सिआइबीले मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको छ।’

माधव नेपालमाथि प्रश्न उठ्दा आफूलाई समेत टेन्सन हुने गरेको प्रधानमन्त्री दाहालले बताए।

‘माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो। त्यो टेन्सन मलाई पनि!, केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई यसबारे टेन्सन थियो। किनभने माधव नेपाल र हामी त एकै मोर्चामा थियौं,’ प्रधानमन्त्री दाहालले भने।

अध्यक्ष नेपालसँग सिआइबीले गत भदौ ३ गते बयान लिएको थियो। मन्त्रिपरिषदका नीतिगत निर्णयमा पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्रीहरू नेपाल र बाबुराम भट्टराईका निवासमै गएर सिआइबीले ललिता निवास जग्गा प्रकरणबारे बयान लिएको थियो।

उनले भ्रष्टाचार प्रकरणमा दोषी पाइए जो-कसैलाई पनि नछाडिने बताएका थिए। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *