एक समूहले सार्वजनिक जग्गा कब्जा गर्न बनाएको संरचनामा अर्को समूहको चल्यो डोजर

0 minutes, 0 seconds Read
Spread the love

स्थानीयवासीले संरक्षण गरेको सार्वजनिक जमिनमा बनेका मन्दिर, प्रतीक्षालय लगायतका संरचनामा अर्को एउटा समूहले डोजर चलाएको छ।

बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित रंगशाला मार्गसँग जोडिएको चौरालीपथको १८ धुर सार्वजनिक जग्गा र त्यहाँको संरचनामा डोजर चलेपछि देवीनगरका बासिन्दा विरोधमा उत्रिएका छन्।

चौरालीपथमा रहेको नक्सा नं ९ क कित्ता नं ४६८६ को साढे चार धुर जग्गामा नापीको मूल नक्सा र फाइल नक्सा भिडाएर पूर्वतर्फ बनेका संरचनाहरूलाई आधार मानेर नापजाँच गर्दा १८ धुर जग्गा बढी देखिएको थियो।

बस्तीको बीचमा एक करोडभन्दा बढी मूल्यको जग्गा सार्वजनिक ठहर भएपछि स्थानीयवासीले रकम उठाएर जग्गामा तारबार गरी शिवालय र प्रतीक्षालय बनाएका थिए। सोही जग्गा एउटा समूहले आफ्नो दाबी गर्दै बडादसैंको अघिल्लो दिन बिहानै डोजर लगाएर त्यहाँका संरचना भत्काएको हो।

चौरालीपथ टोलका अध्यक्ष लोकप्रसाद पंगेनीका अनुसार नापी कार्यालयले नापजाँच गरेर बाँकी रहेको जग्गा स्वतः सार्वजनिक हुने ठहर भएपछि टोलका बासिन्दाले तारबार गरी संरक्षण गरेका थिए। त्यही जग्गा सँधियार कब्जा गर्न खोजेको उनको आरोप छ।

उनले भने, ‘नापी कार्यालयले नै बढी भएको जग्गा सार्वजनिक भनेर छुट्याइदिएको हो। त्यसमा हामीले झन्डै २० लाख रुपैयाँ संकलन गरेर मन्दिर र प्रतीक्षालय बनाएका थियौँ। तारबार गरेका थियौँ।’

उनले टोलका सबै मानिस दसैँको रमाइलोमा रहेको मौका पारेर स्थानीय बासिन्दा बालकृष्ण विश्वकर्मा र भीमबहादुर अधिकारीले मन्दिरको संरचनामाथि डोजर चलाएको आरोप लगाए।

एक स्थानीयवासीले भने, ‘बालकृष्ण र भीमबहादुरले बाहिरबाट झन्डै दुई सय मान्छे ल्याएर दादागिरी देखाए। बिहान उज्यालो हुँदा नचिनेका मान्छेहरूको भिडमा डोजर चल्दै थियो।’

थाहा पाउनासाथ प्रहरीलाई खबर गरेको भए पनि डेढ घण्टा पछिमात्रै आएको टोलका बासिन्दाहरूको गुनासो छ।

टोलवासीहरूका अनुसार यसअघि पनि भीमबहादुर र बालकृष्णले उक्त जग्गा कब्जा गर्ने प्रयास गरेका थिए। उनीहरूको प्रयास सफल हुन नदिन टोलका अन्य बासिन्दा मिलेर आफ्नै खर्चमा मन्दिर र प्रतीक्षालय बनाएका थिए। वडा कर्यालयले पनि थोरै सहयोग गरेको थियो।

स्थानीयवासीहरूका अनुसार पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फ सडक छेउको १८ धुर जग्गा छुट फेला परेको थियो। जग्गाधनी मानिएका लालबहादुर पुनले बढी देखिएको जग्गा दाबी गरेनन्। उनले टोल संस्थालाई दिए।

लालबहादुरले छुट देखिएको जग्गा आफूले दाबी नगरी टोल संस्थालाई दिएको बताए। उनका अनुसार उक्त जग्गामा भीमबहादुर र बालकृष्णले दाबी लाग्ने होइन।

त्यही जग्गामा अहिले भीमबहादुर र बालकृष्णले डोजर चलाएका हुन्। उनीहरू पनि स्थानीयवासी नै हुन्। दुबैजना जग्गा व्यपारी रहेको टोलका बासिन्दाको भनाइ छ।

मालपोत कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–९क को कित्ता नम्बर ४६८६ र कित्ता नम्बरर ४६८७ मा बालकृष्ण र भीमबहादुरको स्वामित्वमा सवा चार धुर मात्रै जग्गा देखिएको छ।

उनीहरूको स्वामित्वको सवा चारधुर जग्गा सार्वजनिक भनेर टुंगो लागेको जग्गासँग जोडिएको छ। जोडिएकै कारणले उनीहरूले आफ्नो स्वामित्व दाबी गरेर डोजर चलाएको टोलबासीको आरोप छ।

स्थानीयवासी पर्शुराम अर्याल भन्छन्, ‘टोलवासीले संरक्षण गरेर राखेको जग्गामा एक्कासि डोजर चलाएर लाखौँको रकम क्षति गर्नु निन्दनीय छ।’

उक्त जग्गामा पटकपटक विवाद भएपछि बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले २०७७ सालमा सर्वेक्षक र अमिनहरूको टोली पठाएको थियो।

बुटवल उपमहानगरका सर्वेक्षक त्रिदेव बुढाथोकी र अमिन अमृत खाम्चाको टोलीले कित्ता नं ४६८६ को उक्त जग्गाको फाइल नक्सा र नापीको मूल नक्सामा उल्लेख गरिएको क्षेत्रफलभन्दा बढी रहेको ठहरसहित २०७७ फागुन ११ गते न्यायिक समितिमा प्रतिवेदन बुझाएको थियो।

स्थानीयवासी रामलाल भुसालका अनुसार महँगो मूल्यको उक्त सार्वजनिक जग्गा कब्जा हुन नदिन र संरक्षण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पनि परेको थियो।विवाद बढेपछि बुटवल उपमहानगरले उक्त जग्गामा कुनै पनि संरचना निर्माण गर्न र बेचबिखन गर्न नपाउने गरी रोक्का गरिदिएको थियो।

वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले फेरि एकपटक अन्तिम नापजाँच गरेर मात्रै टुंगो लगाउने बताए।

उनी भन्छन्, ‘बुटवल उपमहानगरले तिहारपछि नापजाँच सुरू गर्छ। सोहीअनुसार कसको जग्गा कुन हो भन्ने टुंगो लाग्छ। त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ।’  सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *