अनुहार हेरेर बिक्रीमा राखिन्छन्: ‘नेपाल महिला’

0 minutes, 0 seconds Read
Spread the love

रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी उनको काँधमा आयो । सामान्य लेखपढ गरेकी उनलाई आम्दानीको स्रोत केही थिएन । गाउँघरमा मजदुरी गरेर दिनचर्या चलाउँदै गरेकी उनको पीडा र दुःख देखेर गाउँकै एक जना दाइले विदेश जान सुझाए ।

विदेश त जाने तर, कहाँ जाने ? कति पैसा लाग्छ ? के कामका लागि जाने ? जस्ता प्रश्नहरूको उत्तर उनीसँग थिएन । ती सबै प्रश्नको उत्तर तिनै दाइले दिए । उनलाई भिजिट भिसामार्फत दुबई जान सुझाए । दुबईबाट ओमान जाने र त्यहाँ घरायसी काममा लगाइदिने भनिएको थियो ।

‘मैले काठमाडौँ त देखेकी थिइनँ । विदेश त मेरोलागि चन्द्रमा जस्तै थियो । त्यही चिनेको दाइले अरू धेरैलाई विदेश पठाइसकेको भन्दै मलाई कुनै चिन्ता नगर्न भन्नुभयो । उहाँले जे जे भन्यो त्यही अनुसार गरेँ’, केही समय अगाडि रातोपाटीको सम्पर्कमा आएकी तामाङले भनिन् ।

उनी काठमाडौँ आइन् । पासपोर्ट, भिसा लगायतका प्रक्रियाका लागि ७० हजार रुपैयाँ सकियो । त्यही दाइले उनलाई थप १ लाख रुपैयाँ खर्च लाग्ने भने । उनले गाउँघरमा २ लाख रुपैयाँ ऋण खोजिन् ।

१५ दिनमा उनको सबै कागजात तयार भयो । १६ औँ दिनमा उनलाई बेलुका ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न भनियो । उनी सोही अनुसार विमानस्थल पुगिन् । विमानस्थलमा अध्यागमनका कर्मचारीले कुन देश जान लागेको ? के गर्न जान लागेको ? जस्ता प्रश्न गरे ।

उनले त्यही दाइले सिकाएअनुसार घुम्नका लागि दुबई जान लागेको भनिन् । अध्यागमनले उनलाई प्रस्थान अनुमति दियो र उनी दुबईतिर लागिन् ।

दुबई पुग्दासम्म उनी पूरै अनभिज्ञ थिइन् । उनीसँगै १० जना अन्य महिला थिए । सबैलाई दुबईको एक ठुलो बिल्डिङमा राखियो । २/३ दिन खानापानी सबै व्यवस्था थियो ।

तामाङका अनुसार त्यहाँ बसेको चौथो दिन ५ जना विदेशी आए । त्यहाँ एक जना नेपाली पनि थिए । नेपालीले सबैलाई देखाउँदै उनीहरूलाई के के भनिरहेका थिए । र उनीहरू एकएक गर्दै नाम टिपिरहेका थिए । अनुहार राम्रो भएका युवतीहरूलाई सुरुमा लगे ।

तिनीहरूले सबै युवतीलाई लगे । र, त्यहाँबाट ओमान पुर्‍याए । ओमानमा एक घरमा काम गर्नुपर्ने थियो । ‘ओमान पुग्दासम्म केही थाहा भएन । त्यहाँ दिनभर घर सफा गर्ने, कपडा धुने, खाना बनाउने लगायतको काम गर्नुपर्थ्यो । तीन महिनापछि अलिअलि भाषा बुझ्न थालेँ । त्यसपछि आफूले काम गर्ने घरकै मान्छेले भनेपछि थाहा भयो, मलाई त दुबईमै ५ हजारमा किनेर ओमान ल्याएको रहेछ,’ तामाङले भनिन् ।

उनलाई महिनाको ७० ओमानी रियल दिन्थे । खान–बस्न पनि राम्रै थियो । काम गर्दै जाँदा अलि पछि उनलाई गाह्रो काममा लगाउन थालियो । उनी काम गर्न नसक्ने अवस्थामा पुगिन् । तर पनि काममा पेलाउन छोडेनन् ।

‘दिनभर काम गर्दागर्दै ढाड दुख्ने समस्या भयो । पछि त एक छिन पनि उठ्न नसक्ने भएँ । त्यसपछि घरबेटीले अब यता राख्न नसक्ने बतायो,’ उनले भनिन् ।

उनीसँगैका अन्य साथी कोही ओमान पुगेका थिए भने कोही बहराइन, कोही कुवेत पुगेका थिए । केही दुबईमै काम गर्दै आएका थिए । यद्यपि उनीहरूलाई पनि आफ्ना साहुले ‘तिमीहरूलाई पैसा तिरेर घरेलु कामका लागि ल्याएको’ भनेर केही समयपछि नै जानकारी दिएका थिए ।

म्याग्दीकी जानकी सुनुवार (नाम परिवर्तन)ले दुई वर्ष कुवेतमा घरेलु कामदारको रूपमा काम गरिन् । उनी दुबईसम्म भिजिट भिसामा गएकी थिइन् । दुबई पुग्दा उनीसँगै १५ जना नेपाली महिलाको समूह थियो । उनीहरूलाई पनि मोलमोलाइ गरेर साहुले किनेरै घरेलु कामदारको रूपमा दुबईबाट लगेका थिए ।

‘नेपालमा भएको दाइ (एजेन्ट) ले कतिपयलाई त तिमीहरूसँग पैसा छैन भने म  हालिदिन्छु, उता गएर कमाएपछि तिरौला नि भन्थे । उता लगेर बेच्ने रहेछ, अनि किन नभनोस् त !’ जानकीले भनिन् ।

यसरी दिनहुँ कयौँ युवती तथा महिलाहरूको मोलमोलाइ गर्दै विदेशीहरूले घरेलु कामदारको रूपमा लैजाने गरेका छन् । वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पनि महिलाहरूको अनुहार हेरेर मूल्य तोकिने गरेको बताउँछन् ।

‘नेपालबाट दुबईमा भिजिट भिसामा लैजान्छन् । त्यहाँ नेपाली दलालहरूले कामदार चाहिनेसँग अनुहार हेरेर ४ हजारदेखि १२ हजारसम्म पैसा लिन्छन्,’ गोलेले भने, ‘राम्रो अनुहार भयो भने १२ हजार दिनारसम्म दिन्छन् । नत्र सामान्यलाई ४ हजारसम्म तिरेर घरेलु कामदारको रूपमा लैजान्छन् ।’

भिजिट भिसामा दुबई पुगेका १४ जना महिला बन्धक अवस्थामा रहेको उनको भनाइ छ । ‘उनीहरूको पनि त्यहाँ मोलमोलाइ भइरहेको छ । उनीहरूले त्यहाँबाट अर्को ठाउँ जान नमानेपछि दुई महिनादेखि बन्धक बनाएर राखेका छन् । उनीहरूको उद्धारका लागि हामीले पहल गरिरहेका छौँ,’ उनले भने ।

गाउँदेखि सहर र सहरदेखि विदेशसम्म नेपाली एजेन्टहरू रहेको र उनीहरूकै सक्रियतामा युवतीहरूलाई दुबई लगेर मोलमोलाइ गरी बेच्ने गरिएको गोलेको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले नेपालबाट भिजिट भिसामा दुबई जाने र उताबाट घरेलु कामदारको रूपमा पठाउने गरेको बताए ।

‘महिलाहरूलाई सिधै घरेलु कामदारको रूपमा लैजान पाइँदैन । अनि भिजिट भिसामा लैजान्छन् । दुबई पुर्‍याएर ओमान, बहराइन, कुवेत लगायतका मुलुकमा घरेलु कामदारको रूपमा पठाउँछन् । त्यसका लागि दलालहरूले मोटो रकम लिन्छन्,’ भण्डारीले भने ।

उनीहरूलाई घरेलु कामदार चाहिने भएपछि भिजिट भिसालाई अन्य भिसामा सजिलै परिवर्तन गराउने गरेका छन् । ‘आफ्नो घरमा नेपाली महिला कामदार राख्नका लागि उनीहरूले दलाललाई जति पैसा पनि तिर्न तयार हुने रहेछन्,’ भण्डारीले भने, ‘त्यही आधारमा अनुहार हेरेर मोलमोलाइ हुन्छ । र पैसा तिरेर घरेलु कामदारका लागि लैजान्छन् ।’

संघले भिजिट भिसालाई रोक लगाउनुपर्ने माग राख्दै आएको छ । भिजिट भिसामार्फत जाने नेपालीहरूले विदेशमा गएर निकै दुःख पाउने गरेको भन्दै सरकारले समयमै रोक्न नसकेको खण्डमा भोलि ठुलो समस्या आउने भण्डारीले बताए ।

सरकार घरेलु कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्न तयार छ । तर, संसद्ले नै रोक लगाएकाले यससम्बन्धी कानुन संशोधन नगरी अगाडि बढ्न सकिने अवस्था छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा रहेको बताए ।

प्रतिबन्धपछि गैर कानुनी रूपमा जोखिम मोलेर नेपाली महिलाहरू विदेश जाने गरेको भन्दै यसलाई वैधानिक रूपमै लैजाने योजना रहेको उनले बताए । नेपालबाट घरेलु कामदारको रूपमा जान नपाउँदा भारतीय बाटो हुँदै अवैध रूपमा नेपालीहरू जाने गरेकोबारे सरकार जानकार रहेको उनको भनाइ छ ।

केही दिन अगाडि आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले भनेका थिए, ‘हामी त कसैलाई जान दिने, कसैलाई रोक्नुपर्छ भन्ने पक्षमा छैनौँ । तर संसद्ले नै रोक लगाएको छ । यसलाई फुकुवा गर्न सकियो भने वैधानिक तवरबाट पठाउनुपर्छ भन्ने हो ।’
रातोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *