विद्यालयमा प्रभावशाली ठहरिएको अलिखित ‘पाठ्यक्रम’

0 minutes, 0 seconds Read
Spread the love

‘विद्यालयको कक्षाकोठामा हामीले पढेका कुरा बिर्सिसकेका छौं। तर त्यहाँबाट विकास भएको संस्कारले हामीलाई अन्तिमसम्म निर्देशित गर्छ र यसले जीवनपर्यन्त छोड्ने छैन,’ इटन कलेजका एक प्राचार्य भन्छन्।

सजिलो सुनिने तर यस वाक्यभित्रको गहिरो अर्थको मन्थन यस लेखमा गर्ने छु।

यहाँ शिक्षामनोविद भाइगोत्स्कीको सांस्कृतिक हस्तान्तरणको दर्शनलाई छोटकरीमा उल्लेख गर्न प्रासंगिक हुन्छ।

यो दर्शनअनुसार कुनै संस्कृति विशेषमा हुर्केको बालकले वयस्क हुँदा उही संस्कृतिको नमूना दोहोर्‍याउँछ। कसैबाट उक्त बालकले औपचारिक रूपमा आफ्ना मूल्यमान्यता नसिके पनि उस्तै गुणहरू र संस्कार विकास गर्छ र त्यो घरपरिवार र समुदाय नै उसका लागि संस्कारको विद्यालय बन्छ।

उदाहरण — नेवार जातिले आफ्ना परम्परा र मूल्य कुनै औपचारिक शिक्षाबिनै सयौं वर्षअघिको मान्यतालाई स्वतः स्फूर्त रूपमा पूर्ण संरक्षण गर्दै अघिल्लो पुस्तामा बढाउँछन्। परम्परा र संस्कार कायम गर्छन्।

ठीक यसै तरिकाबाट विद्यालयहरूले आफ्नो लिखित पाठ्यक्रमभन्दा बाहिर संस्थागत रूपमा कायम गरेका मूल्यलाई आफ्ना विद्यार्थीमा हस्तान्तरण गर्छन्। विद्यालयका ती मूल्य, मान्यता र भित्र अविन्तरमा गढेका भावका समूहले विद्यार्थीमा सोहीअनुरूप संस्कारको निर्माण गर्छन्।

विद्यालयको संस्कृति अलिखित, अदृश्य र प्रभावशाली हुन्छ र यसले गुप्त पाठ्यक्रमका रूपमा शक्तिशाली ढंगबाट विद्यार्थीमा प्रभाव पार्छ। यसको जरो विद्यालय नेतृत्वका मान्यता, शिक्षकका विचार र समग्र परिवेशबाट सिर्जित संस्कृतिमा रहन्छ। यही नै विद्यार्थीमा मुखरित हुन्छ र उनीहरूलाई दिशानिर्देश गरिरहन्छ।

फरक विद्यालयका विद्यार्थीको स्वभाव फरक हुनु वा एउटै शिक्षण संस्थाका उत्तीर्णहरूको चरित्रमा त्यो ठाउँ छाडेको दशकौंसम्ममा पनि समानता कायम रहनु उद्धृत दर्शनको एक प्रकट रूप हो। यही हो विद्यार्थीहरूले सिकेका तर प्रत्यक्ष शिक्षण नगरिएको तत्व वा संस्कार जुन विद्यालयको संस्कृतिका नामले शिक्षाविदहरू परिभाषित गर्छन्।

शिक्षा अनुभवको सँगालो हो र यसबाट अवचेतन मनमा परेको छाप संस्कार हो, यसर्थ शिक्षा आफैंमा संस्कार हो। यसले विद्यार्थीको आन्तरिक स्वरूप उजागर गर्ने हुँदा गुणस्तरीय विद्यालयहरूले सुसंस्कार विकास गर्न चाहिने विद्यालयको संस्कृतिलाई लिखित पाठ्यक्रमसँगै तर त्योभन्दा उपल्लो तहमा राख्छन्।

विद्यालय संस्कृतिका दुइटा पाटा छन्।

पहिलो– दृश्यमा रहने बाह्य र मूर्त वातावरण जसमा विद्यालयको स्वच्छतादेखि कक्षाकोठामा राखिएका कलाकृति, विद्यार्थीका प्रकाशन र समग्रमा सम्पूर्ण भौतिक पक्षका सुसंगठन गरिएका तत्वहरू पर्छन्।

दोस्रो– गुप्त, अलिखित रूपमा रहने विषयगत र सामूहिक धारणाको संग्रह हो। यो संग्रहले नै अदभूत प्रेरक शक्तिका रूपमा विद्यालय र विद्यार्थीलाई निरन्तर मार्गनिर्देशन दिइरहन्छ। संस्कृतिको चुरो त्यही मान्यताको सांस्कृतिक संग्रहमा रहन्छ। त्यसका गुप्तमानकहरूले विद्यार्थीको वैचारिक विकासमा सुक्ष्म ढंगले शक्तिशाली प्रभाव पारेको हुन्छ।

दुवै दृश्य र अदृश्य पाटा मिलेर एकीकृत रूपमा शैक्षिक संस्कृति निर्माण गर्छन्। बाहिर देखिने भौतिक वातावरण विद्यालयको भित्री मूल्य, मान्यता र विचार वा अदृश्य संस्कृतिको स्वरूप हो। त्यसैले विद्यालयको मूल्यांकन गर्दा बाहिरी मूर्त रूपबाट अमूर्त मान्यतातिर जान सकिन्छ। हाम्रा विद्यालय भित्री वा यथार्थ रूपमा कस्ता छन् भन्ने कुरा त्यसको बाह्य समग्रतामा देखिन्छ।

उदाहरणका लागि, भड्किला देखिने विद्यालयले व्यापारिक भाव धेरै देखाउँछन् भने संस्कारी विद्यालयले शिक्षाको कार्यगत मान्यता ज्यादा देखाउँछन्। सुन्दर र सुसंगठित विद्यालय असल संस्कृतिका द्योतक हुन्।

कक्षाकोठाका मान्यता, स्वाभाव र मानकहरूबाट विद्यालयको सामाजिक र भावनात्मक वातावरण तयार हुन्छ। यसरी निर्मित सुक्ष्म वातावरणले विद्यालयको शैक्षिक गुणस्तर, कक्षाकोठामा विद्यार्थीको सिकाइको तरिका र संस्कार उन्नयनको स्तर निर्धारण गर्छ। यो प्रक्रियालाई स्थापित संस्थागत मानकहरूले सशक्त रूपमा अगाडि बढाइरहेका हुन्छन्।

संस्कृति कतै लेखिँदैमा वा भन्दैमा विद्यालय संस्कारयुक्त छ भन्ने निर्क्यौल गर्न सकिँदैन। किनभने, संस्कृति वास्तविक मान्यतामा आधारित हुन्छन् र फेरि पनि स्वीकार गरिएका सांस्कृतिक तत्वहरूलाई विद्यार्थीमा उतार्न नसकेमा पनि ती विद्यालय सुसंस्कृत विद्यालय हुँदैनन्। तसर्थ, ती मान्यता र तिनलाई सुसंगठित भएर हस्तान्तरण गर्ने संस्था मात्र संस्कारयुक्त विद्यालय हुन्।

उदाहरणका लागि, कक्षाकोठामा शिक्षकले कुनै सामाजिक मूल्यमान्यता विद्यार्थीमा विकास गर्ने योजना गरे। तर उनी त्यही कुरीतिको अनुयायी छन्। यस्तोमा ती शिक्षकले विद्यार्थीमा चाहेको परिवर्तन ल्याउन नसक्ने अनुसन्धानले देखाउँछ। उनीहरूको भित्री मान्यता जे छ, त्यसैले अदृश्य रूपमा काम गर्छ। यो नितान्त विषयगत कुरा हो तर शक्तिशाली हुन्छ। यही पर्याय समग्र विद्यालय संस्कृतिमा लागू हुन्छ।

परिकल्पना गरौं, एक नमूना विद्यालयको जसले इमानदारपूर्वक विद्यालय कार्यक्रमबाट विद्यार्थीलाई दयालुपनको शिक्षाप्रदान गरेको छ। अनि मात्र त्यस विद्यालयको संस्कृति परिभाषित छ भनिन्छ। त्यहाँ ज्ञान आर्जनका साथसाथै विद्यार्थीहरूमा विकास गरिएको दयालुपनको संस्कारले समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पनि उत्तिकै प्राथमिकता दिइन्छ।

यो अलिखित पाठ्यक्रम विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र समग्र समुदायका बीच हुने अन्तरक्रियाभित्र विकसित हुन्छ। विद्यालयका सञ्चालक, प्राचार्य वा नेतृत्व तहमा रहेका व्यक्तिहरूको वास्तविक स्वभावले निर्माण गर्छ। ठूला विद्यार्थीले सानालाई र एकापसमा गरिएका व्यवहारहरूले निर्धारण गर्छ। ती सबै संरेखित बन्छन् अनि तिनले अत्यन्तै प्रभावशाली रूपमा मानवीय चरित्र निर्माण गर्छन्।

समग्र शिक्षाको विकास गर्दा अलिखित पाठ्यक्रम प्रारम्भमै केन्द्रमा आउँछ। संस्कृतिबिना प्रगतिशील शिक्षाको परिकल्पना हुनै सक्दैन। यसको सुक्ष्म र प्रभावशाली शक्तिलाई संकलित रूपमा प्रयोगमा ल्याउँदा मात्र विद्यालयको संस्कृति र परिणामहरू विकास हुन्छन्।

सकारात्मक संस्कृतिले सहकार्य र सहयोगी वातावरण सिर्जना गर्छ जसले विद्यार्थीको उपलब्धि उच्च बनाउँछ। विद्यार्थीले सबैप्रति सही दृष्टिकोण राख्न जान्दछन्। विद्यार्थी र शिक्षकको पारस्परिक सम्बन्धको संस्कृतिले विद्यार्थीको भावनात्मक विकास उच्च हुन्छ। यसमा विद्यार्थीले आफूलाई सम्मानित भएको महसुस गर्छन्। अरूलाई आदर गर्न सिक्छन्।

विश्वासको संस्कृतिले विद्यार्थी विश्वासिला बन्छन्, उद्यमशीलताको संस्कारले उद्यमशील बन्छन्, स्वपहिचानको छापले सहअस्तित्वको मान्यता विकास गर्छन् र प्राज्ञिक उत्कर्षताको वातावरणमा वौद्धिक व्यक्तित्व बन्छन्।

भयरहित संस्कृतिमा विद्यार्थीले निसंकोच शिक्षकसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यार्थीलाई शिक्षकले भरोसा दिन्छ भन्ने विश्वासले विद्यार्थीको आत्मसम्मान उच्च हुन्छ र उनीहरूले स्वभावमा लचिलोपन विकास गर्छन्। जवाफदेहिताको संस्कृतिले विद्यार्थीहरू जिम्मेवार नागरिक हुन सिक्छन्।

संस्कृतियुक्त विद्यालयहरूले उल्लिखित मानवीय गुण सम्मिश्रण गरेर विद्यार्थी चरित्रका पार्श्वचित्र बनाउँछन्। उक्त पार्श्वचित्र निर्माण गर्न चाहिने मनोवैज्ञानिक आधारहरूलाई स्थापित गर्छन्। विद्यार्थीका चित्तवृत्ति, मानसिक बनावट र स्वभावलाई परिभाषित गरेर मात्र विद्यालयको शैक्षिक कार्यक्रमको तय गर्छन्।

यी तत्वहरूलाई हचुवाका भरमा राखे वा तिनलाई पहिचान नै नगरी विद्यालय सञ्चालन गरेमा अति न्यून वा अनपेक्षित आदर्श लिएका विद्यार्थीहरू तयार हुन्छन् र सुसंस्कृत र शिक्षित समाजको निर्माण लगभग असम्भव हुन्छ। तसर्थ संस्कृति विकासलाई विद्यालयहरूले गम्भीरतापूर्वक लिनुपर्छ।

स्तरीय शिक्षा केवल विधिशास्त्र मात्र नभई विद्यालयको संस्कृति हो र त्यहाँ विधिशास्त्रलाई नै संस्कृति बनाइन्छ।

उदाहरणका लागि, त्यहाँ विद्यार्थीलाई गराइने सक्रिय सहभागिता, सहकार्य, आलोचनात्मक विचार, समस्या समाधानका कुशलता, खोजीकार्य जस्ता प्रक्रियाहरू शिक्षण प्रक्रियाका अभिन्न अंग नै बन्छन्। त्यहाँ ज्ञान सम्प्रेषणका र सूचनाका हरेक पक्षलाई विद्यालयको संस्कृतिका रूपमा विकास गरिन्छ।

यतिमा मात्र विद्यालयको संस्कृति सीमित हुँदैन। यसको क्षेत्र कक्षाकोठा बाहिर र सम्पूर्ण विद्यालय समुदायमा व्याप्त हुन्छ। शिक्षाका सबै पक्षहरू यसैमा संरेखित रहन्छन्। संस्कृति पाठ्यक्रम विकास र संगठनमा, मूल्यांकनमाा र शैक्षिक पहुँचसम्ममा विस्तारित हुन्छ। यसरी विद्यालय संस्कृति निर्माणमा स्थायित्व आउँछ।

विद्यालयको दर्शन, सामूहिक मान्यता, परम्परा, भौतिक वातावरण, विविधता र अभ्यासहरू संस्कृतिका स्तम्भहरू हुन्। ती स्तम्भहरूको सुदृढीकरण भएमा मात्र सुसंस्कृत र स्तरीय विद्यालय स्थापना हुन्छ। अन्यथा विद्यालयले विद्यार्थीहरूलाई बलियो संस्कार प्रदान गर्न सक्दैनन् र शिक्षा अपूरो बन्छ।

विद्यालय संस्कृति एक अमूर्त, अलिखित पाठ्यक्रम हो जसको आधारमा विद्यालय जीवन्त बन्छ र विद्यार्थीको मनमस्तिष्कमा कार्य गर्छ। प्राज्ञिक विकाससँगै चारित्रिक उन्नयनलाई एकीकृत गर्छ। औपचारिक र संरचनात्मक शिक्षण र विद्यालय संस्कृतिको संयोजनको प्रभावशाली शक्तिले विद्यार्थीहरूलाई ती कुराहरू सिकाउँछ जसले उनीहरूलाई जीवनपर्यन्त मार्गदर्शन गर्न सक्छ। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *