कसरी सम्भव भयो पोखरामा पहिलो ओपन हर्ट सर्जरी..?

0 minutes, 0 seconds Read
Spread the love

गण्डकी प्रदेशभरिका अस्पतालमै पहिलो पटक ‘ओपन हर्ट सर्जरी’ गरेका ४५ वर्षीय विष्णु गौतम आइतबार डिस्चार्ज भए।

पोखराको चरक मेमोरियल अस्पताल उनको मुटुको शल्यक्रिया गरेर साउन २६ गते उक्त सेवा सुरू गरेको थियो। सेवा पाउने पहिलो व्यक्ति बनेका थिए, विष्णु।

छाती चिरेर मुटुको अप्रेसन गर्नु कम संवेदनशील थिएन। ओपन हर्ट सर्जरी सेवा सञ्चालन गर्न अस्पतालले डेढ महिनाअघि मात्र निर्णय लिएको थियो। जतिबेला अस्पतालले मुटु परीक्षण शिविर सञ्चालन गरेको थियो।

काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालका डाक्टर सूर्य देवकोटाले आफ्नी दिवंगत आमाको स्मृतिमा मुटु रोग परीक्षण शिविर राख्न अस्पताललाई प्रस्ताव गरे। शिविरमा मुटु रोग परीक्षण गर्न आफैं आउने डाक्टर देवकोटाले बताएका थिए।

कास्कीकै लुम्ले घर भएका डाक्टर देवकोटाको प्रस्ताव स्वीकारेर अस्पतालले डेढ महिनाअघि मुटु परीक्षण शिविर आयोजना गर्‍यो। शिविरमा ६ सय जनाले मुटु परीक्षण गराए।

५ दिनसम्म चलेको शिविरमा मुटु जाँच्न आउने बिरामीलाई अस्पतालले इको र इसिजी शतप्रतिशत छुट दियो, ल्याब परीक्षणमा पनि ४० प्रतिशत छुट दियो। त्यतिबेला ६ सय जनाले मुटु परीक्षण गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए।

मुटु परीक्षण गर्न आयोजित सोही शिविरमा विष्णु पनि आएका थिए। उनले मुटु दुख्ने समस्या डाक्टरलाई बताए। परीक्षण गर्दा उनको मुटुमा जोडिएका दुई वटा रक्तनली बन्द भएको डाक्टरले थाहा पाए। अप्रेशन गर्नुपर्ने सुझाव दिए।

मुटु परीक्षण गर्न आयोजित सोही शिविरमा विष्णु पनि आएका थिए। उनले मुटु दुख्ने समस्या डाक्टरलाई बताए। परीक्षण गर्दा उनको मुटुमा जोडिएका दुई वटा रक्तनली बन्द भएको डाक्टरले थाहा पाए। अप्रेशन गर्नुपर्ने सुझाव दिए।

अस्पतालमा आयोजित शिविरमा विष्णुजस्तै २ जना बिरामीको ओपन हर्ट सर्जरी गर्नुपर्ने अवस्था देखिएको निर्देशक पोखरेलले बताए। मुटुका बिरामी देखिएपछि पोखरामा पनि ओपन हर्ट सर्जरी सेवा थप्नुपर्ने निष्कर्षमा उनीहरू पुगे। मनमोहन मेमोरियल अस्पतालका डाक्टर अनिल भट्टराईसहितको टिमले सहयोग गर्ने आश्वासन दिए।

पोखरामा पहिलो पटक ओपन हर्ट सर्जरी सेवा सञ्चालन गर्न आवश्यक हर्टलङ मेसिन खरिद गर्‍यो। अप्रेशनका बेला शरीरलाई जिउँदो राख्न सबै प्रणाली मेसिनमा जोडिने निर्देशक पोखरेलले बताए। ओपन हर्ट सर्जरी गर्न आवश्यक उपकरण खरिद गर्दा ३ करोड खर्च भएको उनले बाए।

मुटु दुख्यो भनेर आएका विष्णुलाई डाइग्नोसिस गरेपछि मात्र उनको समस्या पत्ता लागेको थियो। उनी अस्पतालकै सम्पर्कमा थिए। अस्पतालले पहिलो पटक ओपन हर्ट सर्जरी गर्न लागेकाले उक्त सेवा लिन विष्णुलाई प्रस्ताव गर्‍यो। विष्णुले पनि अस्पतालको प्रस्ताव विश्वास गरेर स्वीकारे।

पहिलो पटक सञ्चालनमा आएको सेवा पहिलो पटक उपभोग गर्ने बिरामीलाई अस्पतालले नि:शुल्क उपचार गरेको पोखरेलले बताए।

‘हामीले उहाँको अप्रेसन नि:शुल्क गरेका छौं,’ उनले भने, ‘हाम्रो शिविरमा यस्तै रोग पत्ता लागेका अर्का बिरामीको पनि अप्रेसन गर्ने भनेका थियौं, परीक्षण गर्दा प्राविधिक कारणले मिलेन।’

पोखरा-२० भलाम घर भएका विष्णुका परिवार पनि आफ्नै शहरमा मुटुको अप्रेशन सम्भव हुँदा खुसी देखिएका छन्। वैदेशिक रोजगारीमा साउदी अरब गएर फर्किएपछि विष्णुले मुटु दुख्यो भन्ने गरेको उनकी श्रीमती रीता गौतमले बताइन्।

‘साउदीबाट फर्किएपछि श्रीमानले मुटु दुख्यो भन्नुहुन्थ्यो, पोखरामै उहाँको मुटुको अप्रेशन गर्न पायौं,’ उनले भनिन्, ‘अस्पतालले पहिलो बिरामी भनेर सबै फ्री गरिदिनुभयो, अन्त लैजानु परेको भए धेरै खर्च लाग्थ्यो होला।’

विष्णुको छाती चिरेर मुटुको अप्रेशन गर्न डाक्टर अनिल भट्टराईको नेतृत्वमा डाक्टरहरू कृष्णप्रसाद बस्याल, मणिन्द्र बस्नेत, अर्जुन गुरूङलगायत स्वास्थ्यकर्मीले साथ दिएका थिए। उनको मुटुमा बन्द भएको नशाको ठाउँमा नाडी र छातीको नशा लगेर जोडिएको डाक्टर भट्टराईले बताए।

मुटुमा तीन वटा ठूला नशा हुने भन्दै उनले जाली राखेर खोल्न नमिल्ने भएपछि छाती चिरेर अप्रेशन गर्नुपरेको बताए। पोखरामा यो सेवालाई निरन्तरता दिन आफूले सहयोग गर्ने उनले बताए।

‘पोखरामा ओपन हर्ट सर्जरी सफलतापूर्वक सुरू भएको छ, यसले निरन्तरता पाउनुपर्छ,’ उनले भने, ‘एक जनालाई नयाँ जीवन दिन सकियो भने पनि त्यो उसको परिवारका लागि ठूलो कुरा हुन्छ।’

मुटुको अप्रेशन गर्ने डाक्टर नेपालमा निकै कम भएको उल्लेख गर्दै उनले आफू काठमाडौंबाट मासिक रूपमा पोखरा आएर सेवा दिन तयार रहेको बताए।

ओपन हर्ट सर्जरीका लागि २ जना सर्जन, क्याथलक मेसिन चलाउने टेक्निसियन, एनेस्थेसियाका डाक्टर, तालिम प्राप्त नर्सलगायत स्वास्थ्यकर्मीको टिम अस्पताललाई चाहिने उनले बताए।

विष्णुको मुटुको अप्रेसन खर्च अस्पताल प्रशासनले व्यहोरे पनि अहिले नेपालमा उक्त अप्रेशन गर्दा ५ देखि ६ लाख खर्च हुने पनि डाक्टर भट्टराईले जानकारी दिए।

चरक अस्पतालले मुटुको शल्यक्रियासँगै सरकारले विपन्न नागरिकको मुटुको अप्रेसन गर्न दिने १ लाख रुपैयाँ सहयोग प्राप्त गर्न सकिने जनाएको छ। अहिले अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्जन कृष्ण बस्याललाई आंशिक रूपमा राखेको छ। मुटुको अप्रेशन गर्नुपर्ने बिरामीको चाप हेरेर सेवा विस्तार गर्ने निर्देशक पोखरेलले बताए।

अहिले हामी महिनामा ३/४ वटा अप्रेशन गर्न सकिन्छ भनेर लागेका छौं,’ उनले भने, ‘बिरामीको चाप बढ्यो भने नियमित डाक्टरसहित स्वास्थ्यकर्मीको व्यवस्था गरेर दिनहुँ अप्रेशन गर्न सकिन्छ।’

उक्त सेवा सञ्चालन गर्न केही स्वास्थ्यकर्मीलाई तालिम लिन मनमोहन अस्पताल पठाउने तयारी गरेको छ।

अस्पतालमा अहिले मुटु, न्युरो, महिला रोग लगायतमा विशिष्ट सेवा उपलब्ध गराएको निर्देशक पोखरेलले बताए। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *