तामाङ समुदायमा किन स्वीकारिन्छ मामा-फुपूका छोराछोरीसँग बिहे..?

0 minutes, 30 seconds Read
Spread the love

प्राचीनकालदेखि तामाङ समाजले आफ्नो सामाजिक सम्बन्ध र राजनीतिक संगठन व्यवस्थित गर्न सामूहिक विधि र नियम निर्माण गरेका थिए। यी विधि, नियम र कानुनका आफ्नै मौलिक विशेषता छन्। यिनै विधि र कानुनले तामाङजस्तो ठूलो जनसंख्या भएको समाजलाई सशक्त र एक बनाउन सम्भव बनाएका हुन्।

तामाङ सामाजिक सम्बन्धको एक महत्त्वपूर्ण अंगमध्ये विवाह प्रथा हो। तामाङ विवाह प्रथा, मामा-फुपूचेला विवाहबारे मानवशास्त्रीय खोज र स्वास्थ्य विज्ञानका नयाँ तथ्यबारे यस लेखमा चर्चा गरिएको छ।

मानवशास्त्रीय अध्ययनहरूले संसारका विभिन्न जातजाति र समुदायमा कोसँग विवाह सम्बन्ध हुन सक्छ र कोसँग विवाह निषेधित हुन्छ भन्नेबारे कस्ता नियम बनाएका छन्? यी नियमले समाज सञ्चालनमा कस्तो भूमिका खेल्छन् र तिनको पालना कसरी गरिन्छ वा यी नियम उल्लंघन भएमा कस्ता दण्ड-सजायको भागीदार हुनुपर्छ भन्नेबारे तुलनात्मक अध्ययन गरेका छन्।

एकै बाबुआमाका छोराछोरी वा दाजुभाइभित्र विवाह वर्जित गर्ने चलन सबै जातजातिमा सार्वभौम रूपमा रहेको अध्ययनहरूले देखाउँछन्। यस्तो विवाह वर्जित गर्ने चलनलाई अंग्रेजीमा ‘इन्सेस्ट ट्याबु’ भनिन्छ।

विवाहका लागि नाता सम्बन्धको परिधिमा कति नजिकको नातालाई उचित वा ग्राह्य, कुन सम्बन्धलाई अग्राह्य मान्ने भन्ने चलन भने विभिन्न समुदाय र समयमा फरक फरक पाइन्छन्।

आफ्नो ह्रुई अर्थात् खलक वा वंशभित्र विवाह निषेध

तामाङ समाजमा आफ्नो ह्रुई अर्थात खलक वा वंशभित्र विवाह गर्नु पूर्णतः निषेध छ। जतिसुकै पुस्तापछिको भए पनि र जतिसुकै टाढाको वा नचिनेको भए पनि एउटै ह्रुई भएका वा एउटै पुर्खाबाट जन्मेका दाजुभाइ र दिदीबहिनीबीच विवाह गर्नु तामाङ समाजको दृष्टिमा महाअपराधमध्ये एक हो। यी महाअपराधलाई तामाङहरू ‘ठुल्-छेन’ भन्छन्। प्राचीनकालमा यसको सजाय देश निकाला हुन्थ्यो। अझ अगाडि, यस्ता कार्य गर्नेहरूलाई छालाको बोरामा मोडेर खोलामा बगाइन्थ्यो रे भन्ने भनाइले यसको गाम्भीर्य देखाउँछ।

तामाङ समाज यसका ह्रुईहरू अर्थात खलक वा वंशमा आबद्ध भई संगठित भएका हुन्छन्। एउटै आदिम पितृपुरूषका सन्तानहरूको एउटा ह्रुई हुन्छ।

ह्रुईको अर्को नाम हाड हो। तामाङ दर्शनअनुसार यही आदिम पितृपुरूषको हाडको अविच्छिन्नता नै वंशको निरन्तरता हो। यस दर्शनअनुसार मानिसले जन्मिँदा बाबुबाट हाड प्राप्त गर्छ। एउटै ह्रुईभित्रका दाजुभाइ दिदीबहिनीको नाता त्यसैले हाडको नाता हो। यसलाई हाडनाताभित्रको विवाह निषेध गरिएको पनि भन्न सकिन्छ। यो नियम उल्लंघन गर्ने महिला वा पुरूष ‘हाडफोरूवा’ को रूपमा समाजबाट तिरस्कृत हुन्छ।

प्राचीन मिथक कथाअनुसार तामाङहरूको मूल ह्रुईहरू अठार वटा थिए। यी अठार ह्रुईलाई तामाङ ताम्बाहरू आफ्ना प्रवचनमा ‘ह्रुई छेन च्योप्गे, तामाङ म्हार मेन छन’ भन्छन्।

यसको अर्थ, अठार महान ह्रुईसहितको सुनौलो बत्तीजस्तो तामाङ नाम भन्ने हुन्छ।

प्रत्येक ह्रुईको आफ्नै बाप्सा वा भूमि हुन्छ र छुट्टाछुट्टै कुल देवदेवी पनि। कालान्तरमा ह्रुईहरू अठारबाट हाँगाबिँगा हुँदै फैलिए। अहिले तामाङ समाजमा १५० भन्दा बढी ह्रुई वा खलक छन्। तामाङ प्रदेशका विभिन्न किपट यिनै ह्रुईसँग इतिहासमा जोडिएका छन्।

यी विभिन्न ह्रुईलाई सामान्यतया दुई समूहमा राखेर हेरिन्छ —

पहिलो, वंश वा हाडको नाताबाट एकआपसमा जोडिएको समूह।

यसलाई थेमेखोर वा ङा-ह्रुई भनिन्छ। यो भनेको दाजुभाइ खलकजस्तै हो। बोलीचालीको भाषामा यो समूहलाई स्वांगी दाजुभाइ पनि भनिन्छ। एउटै आदिमपितृ पुरूषबाट छुट्टेर बनेका ह्रुईको एउटा समूहको एउटा थेमेखोर हुन्छ। उनीहरूको उत्पत्ति एउटै वंश र हाडबाट भएको हुनाले उनीहरूबीच बिहेबारी हुँदैन। बिहे गरेमा महाअपराधको सजायको भागीदार हुन्छ।

दोस्रो, थेमेखोरबाहिरका अन्य ह्रुईलाई समुच्च रूपमा ङेनखोर भनिन्छ।

तामाङ सामाजिक नियमअनुसार ङेनखोर वर्गका ह्रुईसँग विवाह सम्बन्ध गाँसिन्छ। ङेनखोर वर्गका ह्रुईहरूको संख्या हाडनाताको ह्रुईभन्दा धेरै गुणा बढी हुने हुनाले जनसंख्याको हिसाबले विवाह योग्य वर वा वधुको उपलब्धता प्रशस्त रहन्छ।

तामाङ समाजमा दुई जना अपरिचित भेट्दा परिचयको एउटा मुख्य बुँदा ह्रुई हुन्छ। ह्रुईले कुनै पनि तामाङको अर्को तामाङसँग कस्तो सम्बन्ध रहन्छ त्यो बुझाउँछ र त्यही बमोजिम आफ्नो स्थानबाट बातचित गर्छ।

उदाहरणका लागि — आफ्नै वा स्वांगी ह्रुई परेमा दाजुभाइ दिदीबहिनीको सहयोग र ऐक्यबद्धताको सम्बन्ध रहन्छ। ङेनखोर वा बिहेबारी हुने मावली खलक भए सम्मान र सत्कारको सम्बन्ध रहन्छ।

ङेनखोर वा विवाह योग्य ह्रुई

आफ्नो वंश खलक वा थेमेखोरमा पर्नेबाहेक ङेनखोर वर्गमा पर्ने अन्य ह्रुई मात्र तामाङ समाजमा विवाहयोग्य मानिन्छ। ङेनखोर वर्गका एक ह्रुईसँग नै आफ्नो आमा सम्बन्धित हुने हुनाले ङेनखोर वर्ग श्रद्धेय मानिन्छ।

आफूलाई यो संसारमा जन्म दिने र हुर्काउने आमालाई तामाङ भाषामा डिन्छेन अर्थात पूजनीय आमा भनिन्छ। तामाङ विश्व दृष्टिकोणअनुसार आमाको दूधबाट पाएको मासु मिलेर मात्रै बाबुबाट लिइएको हाडमा पूर्ण मानिसको शरीर बन्छ।

तामाङहरू आफूलाई जन्म दिने आमा र मामाप्रति गहिरो कृतज्ञता र सम्मान राख्छन्। आमाको दाजुभाइको वंशज समग्र ङेनखोर वर्गलाई दूधको वृक्ष मावली खलक वा ‘ङेला दोङवो आस्याङस्याङ’ भनेर सम्मान व्यक्त गरिन्छ। मामालाई आस्याङ भनिन्छ र आस्याङ तामाङ समाजमा अत्यन्तै सम्मानित नाता हो। आस्याङले आशीर्वाद दिए पनि वा श्राप दिए पनि भानिजलाई लाग्छ भन्ने मान्यता तामाङ समाजमा छ।

ङेनखोर विवाहयोग्य वर्गका ह्रुईहरूमा परेको कारणले मामाको खलकको छोराछोरीसँग विवाह सम्बन्ध तामाङ समाजमा मान्य हुन्छ। त्यसै गरी फुपू पनि ङेनखोर वर्ग वा मामा खलकको कुनै ह्रुईमा विवाह हुने हुनाले फुपूका छोराछोरीसँग पनि विवाह सम्बन्ध हुनु स्वाभाविक भयो। त्यसैले यस्तो विवाह आफ्नो वंश वा हाड नातामा नभई बाह्य विवाहयोग्य वंशमा भएको मानिन्छ। मामा र फुपूका छोराछोरीसँगको सम्बन्ध दाजुबहिनीको नभई सोल्टी–सोल्टिनी वा सम्धी-सम्धिनीको रहन्छ। केटाहरूबीच सिधै साला-भेना वा जेठान-ज्वाइँको नाताले बोलाइन्छ।

ङेनखोर वर्गभित्रको भए पनि आमाका दिदीबहिनी र मित बा-आमाका छोराछोरीलाई पनि आफ्नै सह-ह्रुई मानेर उनीहरूसँग विवाह तामाङ समाजमा नगर्ने चलन पनि हुन्छ। तर यस्तो थिति भने कति पुस्ता र नाताको कति घेरासम्म मात्र मान्ने भन्ने स्थानीय चलन हुन्छन्।

तामाङ समाजमा मामा–फुपूका छोराछोरी विवाहयोग्य हुन्छन् भन्नुको मतलब मामा–फुपूका छोराछोरीसँग विवाह गर्नैपर्छ भन्ने बाध्यात्मक नियम छैन। यो एउटा स्वेच्छिक प्रावधान मात्रै हो। तैपनि तामाङ समाजमा मामाको छोराले फुपूको छोरीसँग विवाह गर्ने कुरा पहिलो प्राथमिकताको रूपमा राखेको भने पाइन्छ।

उदाहरणका लागि — पहिले पहिले दिदीबहिनीले आफ्नो छोरी अन्यत्र विवाह गरी दिनुपर्ने अवस्थामा भानिज छ भने आफ्नो दाजुभाइलाई एक वचन सोधेर मात्र अन्तै विवाह गरी दिने चलन थियो। मामाको छोरासँग विवाह नगरी अन्यत्र विवाह गरेको भान्जीले विवाह गरेको केही हप्ताभित्रै मामालाई एक सगुन लिएर आउने चलन अहिले पनि छ।

यो सगुनलाई ‘आस्याङ थोएका’ भनिन्छ। यसलाई मामाको सम्मानमा ल्याइने ‘पगरी’ सगुन वा मामाको शिर उँचो राख्ने सगुन भन्ने बुझिन्छ। यसको अर्को अर्थ भान्जीले मामाघरको बाटो नाघेर अन्तै विवाह गरेर मामाप्रति आदर राख्न नसकेकाले त्यसको क्षमाका लागि लगिने सगुन पनि भनिन्छ। त्यसैले ‘फुपूको छोरी रोजी रोजी, मामाको छोरी खोजी खोजी’ भन्ने उखान तामाङ समाजमा चलेको हुनुपर्छ।

यस्तो भन्ने चलन भए पनि व्यवहारमा धेरैजसो विवाह सहोदर मामा वा फुपूको छोराछोरीबीच हुँदैनन्। पारिवारिक अवस्था, सम्बन्ध, केटाकेटीबीच नजिकको हिमचिम, रूचि आदिले यस्तो विवाह हुनु-नहुनुमा प्रभाव पार्छन्।

सन् १९७० को दशकमा एक तामाङ गाउँमा गरिएको अध्ययनले करिब २५ प्रतिशत मात्रै आफ्नै मामा–फुपूका छोराछोरी विवाह सम्बन्धमा थिए भन्ने देखाएको थियो। यो पनि यातायात र बाहिरी संसारसँग कम सम्पर्क भएको बेलाको सानो क्षेत्र, गाउँठाउँ र सीमित ङेनखोर मात्र सम्पर्कमा भएको समाजको अवस्थाको चित्र हो। त्यस बेला पनि तामाङहरूको अत्यधिक वैवाहिक सम्बन्ध आफ्नै मामा–फुपूका छोराछोरी विवाहबाहेकका ङेनखोर वर्गका ह्रुईहरूको टाढाको साइनोमा हुने गर्थ्यो। सम्बन्धित नै भए पनि अगाडिको पुस्ताको जस्तो बाजेबज्यै, बराजु वा त्योभन्दा टाढाको नातासँग सम्बन्धितबीच विवाह हुन्थ्यो।

एउटा परिवारको अर्को परिवारसँग निरन्तर रूपमा धेरै पुस्तासम्म मामा–फुपूचेला विवाह साटासाट भइरहने सम्भावना त्यसै पनि अत्यन्तै न्यून हुन्छ। तर सहोदर मामा–फुपूका छोराछोरी नभए पनि केटा र केटी दुई भिन्न ङेनखोर वर्गको ह्रुईबाट आएको हुनाले त्यसलाई तामाङ समाज मामा–फुपूचेला विवाह नै भनिन्छ।

बाह्य जातजातिमा विवाहको नियमन

आफ्नो हाडनाता वंशभन्दा बाहिरको तर तामाङभित्रको ङेनखोर वर्गको ह्रुईसँग मात्र विवाह सम्बन्ध जोड्नुपर्ने नियम भने तामाङ समाजमा बाध्यकारी नियम हो। तर यो नियम आफ्नै वंशभित्र विवाह गर्नेभन्दा दण्ड-सजायको हिसाबले फरक छ। कसैले तामाङभित्रको ङेनखोर वर्गको ह्रुईसँग विवाह नगरी अन्य जातजातिसँग विवाह सम्बन्ध जोडेमा तामाङ समाजमा उसका छोराछोरीको सदस्यता भंग हुन जान्छ।

उदाहरणका लागि — कुनै तामाङ पुरूषले अन्य जातिको महिलासँग विवाह गरेमा उसको छोराछोरीलाई ‘ठेम्बार’ वा ‘वर्णशंकर’ उपमा दिइन्छ। यस्तो विवाहबाट जन्मेकाहरूलाई ‘स्याकचा’ पनि भनिन्छ र तामाङ धार्मिक, सामाजिक समारोहबाट उसलाई अलग्याइन्छ। उनीहरूसँग सुरोफुरो चल्दैन भन्ने चलन छ। यो भनेको वैवाहिक सम्बन्ध हुँदैन र एउटै भाँडामा खानपिन गर्ने नजिकको सम्बन्धबाट पनि उनीहरू टाढिनुपर्छ भन्ने हुन्छ।

त्यस्तै छोरीले अर्को जातिसँग विवाह गरेमा उसलाई उसको लोग्नेकै जातिको रूपमा व्यवहार गरिन्छ। कुलपूजा, सामाजिक समारोह, मृत्यु संस्कार आदिमा ऊ अलग्गै बस्नुपर्ने हुन्छ। आफ्नै वंशभित्रको हाडनाता विवाहलाई निर्मम तरिकाले दण्ड-सजाय दिने भए पनि विवाह व्यक्तिगत स्वेच्छाको विषय पनि भएकाले तामाङ समुदायइतर विवाह गरेमा सांस्कृतिक, धार्मिक काममा भने अलग राख्नेसम्मको सजाय मात्र देखिन्छ।

तामाङ समाजले विवाहबारे यस्तो विधि, नियम र कानुन किन लागू गर्‍यो, सजिलै भन्न सकिँदैन। यो हजारौं वर्षको अनुभव र समयअनुसार सामाजिक व्यवस्था कायम गर्न निर्धारण गरेको थिति थियो भनेर अनुमान गर्न सकिन्छ। आफ्नो वंशइतरसँग विवाह गर्नाले एउटा वंश खलक र अर्को वंश खलकबीच दिगो रूपमा पारस्परिक सौहार्द सम्बन्ध र ऐक्यबद्धता स्थापित गर्नु यसको मुख्य उद्देश्य थियो भन्ने पनि अनुमान गर्न सकिन्छ।

यस्तो वैवाहिक सम्बन्धले वैयक्तिक र पारिवारिक भावनात्मक सम्बन्ध प्रगाढ राख्न र आर्थिक पक्षलाई पनि सबल बनाउन मद्दत गर्ने कुरा पनि जोडिएर आउँछ। यस्तो विवाहमा दुई जना केटाकेटी मात्रै संलग्न नभई दुई परिवार र खलक नै संलग्न हुने हुनाले वैवाहिक जीवन सजिलै नटुट्ने सम्भावना पनि अत्यधिक हुन्छ।

विवाहका लागि मानवशास्त्रमा यस किसिमको संगठनात्मक रणनीतिलाई ‘अलायन्स’ निर्माण भनिन्छ। प्रसिद्ध फ्रान्सेली मानवशास्त्री क्लोड लिभाइ-स्ट्राउसले ‘इलेमेन्ट्री स्ट्रक्चर्स अफ किनसीप’ किताबमा मानव सभ्यतामा व्यापक रूपमा रहेको मामा–फूपूचेला विवाहका विविध आयामबारे विस्तृत रूपमा प्रकाश गरेका छन्।

वैवाहिक सम्बन्ध न धेरै नजिकको, न धेरै टाढाको, तर ठिक्क दुरीमा जोड्ने नियम सिर्जनात्मक र व्यावहारिक भएकाले मामा–फूपूचेला विवाहको चलन तामाङमा मात्र होइन, संसारका धेरै समाजको चयनमा परेको हुनुपर्छ।

विवाहबारे मानवशास्त्र र युजेनिक्स

मानवशास्त्रमा नजिकको सम्बन्धमा विवाहलाई ‘कन्सानगुइन’ विवाह भनिन्छ। काका, मामा र फुपूका छोराछोरी ‘कजिन’ हुन्। उनीहरूबीच हुने विवाहलाई ‘कजिन म्यारिज’ पनि भनिन्छ। संसारका करिब २० प्रतिशत समुदायमा यस किसिमको विवाह अहिले चलनमा छ।

कजिन विवाह पनि दुई प्रकारका हुन्छन्।

पहिलो, आफ्नै बुबाको वंशका दाजुभाइका छोराछोरीबीच हुने विवाह। यसलाई ‘पारालल (समानान्तर) -कजिन म्यारिज’ भनिन्छ।

दोस्रो, बाबु र आमाको विपरीत लिंगी वा मामा र फुपूका छोराछोरीबीच हुने विवाह।

यस्तो विवाहलाई ‘क्रस-कजिन म्यारिज’ भनिन्छ। यस्तो विवाहको मुख्य विशेषता भनेको बुबाको वंशबाहिर तर बुबाका दिदीबहिनी (फुपू) वा आमाका दाजुभाइ (मामा) को छोराछोरीसँग गरिने विवाह हो।

तामाङ समाजले अवलम्बन गरेको विवाह पद्धति क्रस-कजिन हो।

कजिन विवाह भनेको एउटै आमाबाबुबाट जन्मेका दाजुभाइ र दिदी बहिनीबीचको विवाह होइन। काका, मामा र फुपूका छोरा र छोरीबीचको साइनोलाई अंग्रेजीमा कजिन भनिन्छ। तर नेपाली र हिन्दी भाषामा यो साइनोलाई बुझाउने दाजुभाइ र दिदीबहिनी भन्ने शब्द मात्र भएकाले यसबाट भ्रम सिर्जना हुने गर्छ।

हुन त नेपालीमा भान्दाइ, भान्दिदी भन्ने र हिन्दीमा चचेरा, ममेरा, वा फुफेरा भाइ/बहन भन्ने शब्द छन्। तामाङ भाषामा भने बाबुका दाजुभाइका छोराछोरीलाई मात्र दाजुभाइ दिदीबहिनी भनिन्छ। मामा र फुपूका छोरा-छोरीलाई सोल्टी-सोल्टिनीजस्तो विवाह हुने साइनोबाटै बोलाइन्छ।

पारालल‍‍-कजिन विवाहको चलन पश्चिम एसियाका देशका मुस्लिम समुदायमा अत्यधिक पाइन्छ। मुस्लिम समुदायमा मात्र होइन, युरोपेली ककसोइड जाति र यहुदीहरूमा पनि यस्तो विवाह प्रचलनमा थियो। युरोपमा यो चलन बीसौं शताब्दीसम्म व्याप्त थियो। इसाई धर्मालम्बीहरूका विभिन्न हाँगामा आआफ्नै चलन छ। क्याथलिक र प्रोटेस्टेन्टमा कति टाढासम्म विवाह गर्न मिल्ने भन्ने फरक फरक नियम छ। मरमोन नामक इसाई सम्प्रदायमा नजिकको नातामा विवाह गरिन्छ। अरब देशमा रहेका इस्लाम धर्मावलम्बीमा पनि एउटै तहको विवाह प्रथा छैन। त्यसैले विवाह प्रथालाई एक धर्मसँग जोडेर हेर्न पनि मिल्दैन।

क्रस-कजिन विवाह संसारका विभिन्न जातिमा हुन्छ। यो तीन थरीको हुन्छ।

पहिलो, मातृरेखात्मक क्रस-कजिन विवाह। यसमा केटाले मामाको छोरी र केटीले फुपूको छोरासँग विवाह गर्छन्।

दोस्रो, पितृरेखात्मक। यसमा केटाले फुपूकी छोरी र केटीले मामाको छोरासँग विवाह गर्नु ग्राह्य हुन्छ।

तेस्रो प्रकार हो दुईतर्फी विवाह (बाइल्याटरल क्रस-कजिन म्यारिज)। यसमा मामा-फुपूका छोराछोरीबीच दुईतर्फी विवाह हुन्छ। मामा-फुपूको छोराछोरीबीचको विवाह भन्नु साख्खै मामा-फुपू हुनैपर्छ भन्ने चाहिँ होइन। मामाको वंश वा फुपाजुको वंशका सदस्यहरूका छोराछोरीबीच हुने विवाहलाई क्रस-कजिन विवाह भनिएको हो।

मामा-फुपूचेला विवाहको मुख्य सिद्धान्त आफ्ना बाबुको खलकभन्दा बाहिरको खलकसँग विवाह सम्बन्ध कायम गर्नु हो।

समाजशास्त्र/मानवशास्त्रका अध्ययनहरूले फरकफरक जातिले मातृरेखात्मक, पितृरेखात्मक वा मामा-फुपूको छोराछोरीबीच दुईतर्फी विवाहको रोजाइ वा प्राथमिकताहरू आआफ्नै थितिअनुसार राख्ने गरेको देखाउँछन्। यी तीनै प्रकारका मामा-फुपूको छोराछोरीबीच विवाहको प्रचलनको दृष्टान्त एसिया, युरोप, अफ्रिका, अमेरिका आदि सबैतिर पाइन्छ।

एसियामा, विशेषगरी आदिवासी समाजमा मामा-फुपूचेला विवाह प्रचलनमा छ। आदिवासी समाजबाहेक अरू धेरै समाजमा यी तीनै प्रकारका विवाह पद्धति प्रचलनमा पाइन्छ। चीनको बहुसंख्यक ‘हान’ जातिको परम्परागत वैवाहिक चलन पनि त्यही थियो। सन् १९४९ मा चीनको युनान प्रान्तमा गरिएको एक अध्ययनले मामा-फुपूचेला विवाह ७० प्रतिशतले गरेको देखाएको थियो। चिनियाँ समाजबारे अन्य अध्ययनले मामा-फुपूचेला विवाहमा पनि मातृरेखात्मक विवाह वा मामाको छोरी विवाह बढी छनौटमा परेको देखाएका छन्। नेपालमा पनि धेरै आदिवासी र गैरआदिवासीमा पनि यो चलन थियो र छ।

उत्तरी भारतको समाजमा हिन्दु धर्मशास्त्रको नियम विकास भएपछि सगोत्री वा सपिण्ड विवाह वर्जित गरिएको थियो। यसमा बाबुपट्टि सात पुस्ता र आमापट्टि पाँच पुस्तासम्म विवाहका लागि निषेधित गरिएको हुन्छ। तर दक्षिण भारतका हिन्दु र ब्राह्मणहरूमा मामा–फुपूका छोराछोरीसँगको वैवाहिक सम्बन्ध ग्राह्य हुन्छ र यो अहिले पनि अत्यधिक प्रचलनमा छ।

यसको पक्षमा तर्क राख्ने क्रममा मामा सगोत्री नभएको र विवाह गरिसकेपछि फुपूको गोत्र फुपाजुको गोत्रमा परिवर्तन हुने हुनाले मामा–फुपूका छोराछोरी विवाह वर्जित नहुने भनेको पाइन्छ। प्राचीन हिन्दु पुराण कथाहरूमा पनि मामाको छोरी विवाह गरेका प्रसंग पर्याप्त आउँछन्।

उदाहरणका लागि — महाभारतका अर्जुनले आफ्ना मामाकी छोरी शुभद्रासँग विवाह गरेका थिए। शुभद्रा बासुदेवकी पुत्री र कृष्णकी बहिनी थिइन्। अर्जुनकी आमा कुन्ती बासुदेवकी बहिनी थिइन्। यसैगरी सिद्धार्थ गौतमले पनि आफ्ना मामाकी छोरी, देवदत्तकी बहिनी यशोधरासँग विवाह गरेका थिए भन्ने कुरा महावंश नामक ग्रन्थमा उल्लेख छ।

युरोपको कथा पनि उस्तै छ। उन्नाइसौं शताब्दीको अन्त्यसम्म युरोपमा विशेषगरी राजपरिवारहरू र उच्च घरानामा कजिन विवाह सम्मानजनक बिहे थियो। बेलायती रानी भिक्टोरियाले आफ्नी आमाका भाइका छोरासँग विवाह गरेकी थिइन्। प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनले आफ्नै मामाकी छोरी इम्मा वेजवुडसँग विवाह गरेका थिए। चार्ल्स डार्विन र इम्मा वेजवुडका दस छोराछोरी थिए। तीमध्ये एक जना खगोलशास्त्री, एक वनस्पति विज्ञ र एक इञ्जिनियर भएका थिए। तिनै जना रोयल सोसाइटीका फेलो थिए भने तीनै जनाले बेलायतको ‘नाइट’ पदवी पाएका थिए। अर्का छोरा राजनीति र अर्थशास्त्र विषयमा संलग्न भएका थिए।

उन्नाइसौं शताब्दीको सुरूआतबाट यस कुरामा नयाँ मोड आयो। युरोपेली शक्ति र साम्राज्यको दबदबा विश्वभरि फैलिएको समय थियो त्यो। र, त्यसबेला युरोपभित्र नयाँ नयाँ वैज्ञानिक आविष्कारका महत्वाकांक्षीहरू जन्मिएका थिए। वंशानुगत गुण र अवगुण सन्तानमा कसरी सर्छन् भन्ने प्रश्नमा ग्रेगोर मेन्डेलले केराउमा यसको परीक्षण गरे।

चार्ल्स डार्विनको जीव विकासक्रममा वंशानुगत गुणहरूले कसरी सक्षमता निर्धारण गर्छन् भन्ने विषयमा चासो थियो।

वंशानुगत गुण/अवगुण सर्नेबारेको अध्ययनलाई ‘युजेनिक्स’ को नाम चाहिँ चार्ल्स डार्विनकै कजिन फ्रान्सिस गाल्टनले सन् १८८३ मा दिएका थिए। उनका अनुसार यो विधाको उद्देश्य योजनाबद्ध तरिकाले नराम्रा वंशानुगत गुण हटाई मानिसको सुधार गर्नु थियो। मानिसको रङ, जात, रोग, बिमार र विशेष गरी मानसिक क्षमता, प्रतिभा सबै वंशानुगत रूपले निर्धारित हुन्छन् भन्ने त्यस बेलाको सरल तर त्रुटिपूर्ण मान्यता थियो।

यसको अर्को विश्वास थियो — संसारका मानिसहरू वंशानुगत रूपमा नश्ल वा जातिहरूमा बाँडिएका हुन्छन् र तिनीहरूलाई वंशानुगत गुणको आधारमा सक्षम र सभ्यदेखि असभ्य र बर्बरसम्म विभिन्न श्रेणीमा बाँड्न सकिन्छ।

युजेनिक्सका समर्थक सर फ्रान्सिस गाल्टनको दाबीअनुसार त युरोपेली गोरा ‘एङ्लो साक्सन’ जाति उत्कृष्ट र सभ्यताका वाहक हुन् भने गोराबाहेकका संसारका अन्य जाति सदाचार र बुद्धिको हिसाबले कमसल र निम्नकोटीका हुन्छन्। गाल्टनको वर्गीकरणमा सबैभन्दा माथि गोरा जाति थियो भने अस्ट्रेलियन आदिवासीहरू अफ्रिकन ‘नेग्रो’ भन्दा पनि एक तहमुनि पर्थे। युरोपलाई सभ्यता विकासको माथिल्लो तहमा राखेर गरिने यस्तो वर्गीकरणमा गोरो नश्ल र रङको अहंकार स्पष्ट झल्किन्छ। युजेनिक्स, वंशानुगत गुणको निरन्तरता र नश्लीय विशेषतासम्बन्धी यो विचारधारा युरोपको साम्राज्यवादी राजनीति र नश्लवादी चिन्तनबाट ग्रस्त थियो।

यस चिन्तनले समाजलाई ठूलो हानि गर्ने दुइवटा काम गर्‍यो।

पहिलो, युरोपेली देशमा आफ्नो जातलाई नश्लीय रूपमा शुद्ध राख्न र सर्वश्रेष्ठता पुष्टि गरी राख्न गरिएका काम। युरोपका धेरै देशमा बेलायत, जर्मनी, स्विडेन, नर्वे, डेनमार्क आदि देशमा दीर्घरोगी, मानसिक बिमारी, कुनै अपराधका लागि सजाय पाएका, अपांगता भएका, गरिब, असहायलाई पनि वंशानुगत रूपमा ‘अक्षम’ मानिन्थ्यो। त्यसैले उनीहरूले बच्चा जन्माएमा सन्तानहरू पनि त्यस्तै अक्षम र कमसल हुने भन्दै जबर्जस्ती बन्ध्याकरण गर्ने, प्रजनन रोक्न उनीहरूलाई बन्दी बनाउने वा स्व-मृत्युवरण (इथुनेसिया) गर्न प्रेरित गर्ने कानुन बनाए।

जर्मनीमा हिटलरको उदयपछि नाजीहरूले जर्मन जातिलाई सर्वश्रेष्ठ आर्य नश्ल भन्दै त्यसको शुद्धता कायम राख्न भनेर थप कडा कदम चाले। जर्मन र अन्य जातिबीच विवाह बन्देज लगाउने मात्रै होइन यहुदी, अल्पसंख्यक र आफ्ना विरोधीको संहार गर्न पनि यही तर्क प्रयोग गरियो।

सेसारभ लोम्ब्रोसो र इएच ह्युटनजस्ता केही मानवशास्त्री समेत अपराध पनि वंशानुगत हुन्छ भन्ने तर्क गर्दै फासीवादी व्यवस्थालाई सघाउन पुगे। यस्तै सोचाइ र नीतिको परिणामस्वरूप लाखौं मानिस मारिए र पीडित भए। जाति र वंशानुगत गुणसम्बन्धी यस्तो विचार युरोप र अमेरिकाका दक्षिणपन्थी उच्च-मध्यम वर्गमाझ प्रिय रह्यो। मानिसहरूबीचका रङ र जातीय भिन्नता वंशानुगत वा जिनेटिक भिन्नताका कारण भएको हो भन्ने गलत दृष्टिकोण र चिन्तनले एक जात अर्को जातभन्दा श्रेष्ठ हुन्छ भन्ने भ्रमलाई विश्वासका रूपमा स्थापित गर्‍यो।

यस्तो नश्लीय विभेदमा आधारित दृष्टिकोण र दर्शनले युरोपमा नाजीवादी र फासीवादी नृशंसता जन्माए भने अमेरिकामा गोराले काला जातिलाई दास बनाउने प्रथाजस्तो अमानवीय कामलाई वैधता दिए। युरोपेली गोरा जातिका मानिस सर्वश्रेष्ठ हुन् र आफूबाहेक संसारका अरू सबै जाति असभ्य र कमसल हुन्छन् भन्ने भाष्य शासन र साम्राज्यको बलियो वैचारिक हतियार हो। यही अस्त्र संसारभरि उपनिवेश फैलाएर अरूमाथि प्रभुत्व जमाउने, दमन र शोषण गर्ने व्यवस्थाका लागि जिम्मेवार छ। यही भाष्यले काला र आदिवासी जनतामाथि मात्रै होइन, विभिन्न उपनिवेशमा रहेका जनतामाथि रंगभेदी कानुन बनाई दोस्रो दर्जाको रूपमा व्यवहार गर्ने कामलाई जन्म दियो।

बलियाले ‘अक्षम’ ठहराएकाहरू, जो कमजोर सामाजिक-आर्थिक वर्गका हुन्थे, उनीहरू हेला र लाञ्छनाका पात्र बनाइए। बाध्यकारी बन्ध्याकरण वा उनीहरूबाट जायजन्म रोक्न बन्दी समेत बनाइए। युरोपबाहिरको संसारको नाता-सम्बन्धभित्रका वैवाहिक सम्बन्धको चलन भएका आदिवासी लगायतका समाजलाई यही कारणले खराब र दोस्रो दर्जाको हुन्छ भन्ने चित्रण थालियो।

तर वैज्ञानिक भएकाले वैवाहिक सम्बन्ध बाह्य परिधिमा हुनुपर्छ भने पनि ककेसाइड गोरा र अन्य जातिबीचको वैवाहिक सम्बन्धलाई नकारेबाट युरोपेली गोरा समाजको ढोंग प्रस्ट हुन्छ।

युरोपमा कन्सानगुइन विवाह वा नजिकको नाताभित्रको विवाहले वंश खिइँदै जान्छ भन्ने कुरा आएपछि बीसौं शताब्दीको पहिलो चरणबाट युरोपमा यस्तो विवाहमा कमी आयो। महिला शिक्षा र स्वतन्त्र रोजगारका लागि नजिकको नातेदार पुरूषमा भर पर्नुपर्ने अवस्थाको अन्त्य, यातायात र सहरीकरणबाट बढ्दो सम्पर्क, मुख्य गरी युरोपमा जनसंख्या वृद्धिमा आएको कमीका कारण यस्तो विवाहमा कमी आएको थियो।

तर युरोपेली समुदायले यो परम्परा छाड्दै जानुमा आफू अन्य जातिभन्दा फरक, श्रेष्ठ र सभ्य जाति हो भनेर कहलाउने अभिप्राय त्यत्तिकै प्रबल रह्यो। यसै क्रममा उनीहरूले गैरयुरोपेली समुदायमा रहेको कजिन र मामा–फुपूचेला विवाह प्रथालाई असभ्य, पुरातन, अवैज्ञानिक भने। हेय दृष्टिकोणबाट चित्रित गर्न थाले। कजिन विवाहलाई बन्देज लगाउने आधार पनि यही भयो। युरोपमा यो विचार सामाजिक मान्यताका रूपमा स्थापित भए पनि यसलाई बन्देज लगाउन कानुन बनेन। तर संयुक्त राज्य अमेरिकामा ३१ राज्यले कानुनबाट बन्देज वा नियन्त्रण गरे।

युजेनिक्स र रंगभेदको यो विचारले मानवीय प्रगतिमा पुर्‍याएको क्षति र क्रुरताका कारण र यसले वैज्ञानिक विधिको नाममा अमानवीय व्यवस्थालाई स्थापित गरेको तथ्य दोस्रो विश्वयुद्धपछि खुल्दै गयो। मानव अधिकारका पक्षमा विश्व जगत अगाडि बढ्नु र विज्ञानमा आएको थप प्रगतिले युजेनिक्स वैज्ञानिक रूपमा गलत भएको पुष्टि गर्‍यो। शारीरिक रोग र मानसिक बिमारी जिनको कारण मात्रै होइन, वातावरण र सामाजिक, आर्थिक कारणले पनि हुन्छन्। न त ‘सक्षम’ हरूका जिन सारेर मानिसको जातिको उत्थान नै हुने कुरा हो।

युजेनिक्स अभियान खासमा चार्ल्स डार्विन र ग्रेगोर मेन्डेलका सिद्धान्तलाई बंग्याएर आफ्नो नश्लीय पूर्वाग्रह र साम्राज्यवादी राजनीतिक लक्ष्य पूरा गर्ने छद्म विज्ञान (स्युडोसाइन्स) हो। नश्लवाद स्थापित गर्न विज्ञानको विधिको दुरूपयोग गरेकाले यसलाई वा वैज्ञानिक नश्लवाद (साइन्टिफिक रेसिजम) पनि भनिन्छ। वंशानुगत गुणको निरन्तरतासम्बन्धी यो ज्ञान अपूर्ण छ। असहिष्णुता, भिन्नतासँगको भय (जेनोफोबिया), पुरूषसत्ता, साम्राज्यवाद र उपनिवेशवादका वैचारिकीले यसलाई टिकाइराख्न मद्दत गर्छन्।

यस्तो दर्शनको निरन्तरता वैज्ञानिक प्रगति र सामाजिक न्यायको उत्थानको काममा ठूलो बाधकका रूपमा अहिले पनि विद्यमान छ। नश्ल र वंशानुगत गुणबारे व्याप्त मिथक र यो सामाजिक मान्यतालाई बढावा दिने राजनीतिक वैचारिकी भत्किसकेको छ। त्यसैले हाल जिनेटिक्सबारे भइरहेका परीक्षणहरूमा पनि पुरानो युजेनिक्सको विचार कतै लुकेर बसेको छ कि भन्ने शंका रहिरहन्छ।

कजिन विवाह, जिनेटिक्स र स्वास्थ्य

सन् १९९० देखि २००३ मा सम्पन्न गरिएको ‘ह्युमन जेनोम प्रोजेक्ट’ नामक वैज्ञानिक अध्ययनले मानिसहरूमा ९९.६ प्रतिशत डिएनए एकै रहेको निष्कर्ष निकालेको छ। फरक जिन वातावरणीय तत्वहरूसँगको अन्तर्क्रियाबाट केवल शारीरिक बनावट, छाला, कपाल र आँखाको रङ, उचाइ आदिमा भिन्नता ल्याउन र केही हदसम्म स्वास्थ्यसँग मात्र सम्बन्धित छ। जिनले मानिसको ज्ञान र प्रतिभाको सम्भावना निर्धारण गर्दैन।

कजिन विवाह मानिसका लागि लाभदायक छ भन्ने र हानिकारक छ भन्ने विषयमा अहिले सामाजिक विज्ञान र जीवविज्ञान दुवैबीचमा फरक मत छन्। यता नगई शारीरिक तथा मानसिक स्वास्थ्यको हिसाबले यसका के जोखिम छन् भन्ने हाम्रो चासो हो।

संसारभरि व्यापक प्रचलनमा रहेको र भावनात्मक रूपले प्रगाढ, सांस्कृतिक हिसाबले अनुमोदित र आर्थिक रूपले प्रभावकारी मानिएको कजिन विवाह किन र कहिलेबाट स्वास्थ्यको हिसाबले जोखिमपूर्ण मानिन थालियो? यसको पछाडिका राजनीतिक-आर्थिक कारण के होलान्? युजेनिक्सको यो विचारलाई सुरूमा पाश्चात्य बुर्जुवा विचार भने पनि पछि बिमारीका समस्या घटाउने विज्ञानका रूपमा साम्यवादी मुलुकहरू पूर्व सोभियत संघ, चीन लगायतले पनि किन अवलम्बन गर्न थाले? मामा–फुपूचेला विवाहबाट जन्मेका बालबालिकाको स्वास्थ्य कति जोखिममा हुन्छ? हामीले नयाँ वैज्ञानिक तथ्यहरूबाट के सिक्न सक्छौं?

अन्तरप्रजातीय प्रजननबारे वैज्ञानिक अनुसन्धान उन्नाइसौं शताब्दीमा वनस्पतिहरूको अध्ययनबाट युरोपमा सुरू भएको हो। ग्रेगोर मेन्डेलले केराउमा यसको परीक्षण गरेका थिए। चार्ल्स डार्विनले ५२ वटा बोटविरूवाको अध्ययन गरेर अन्तरप्रजातीय प्रजननका फाइदा-बेफाइदा केलाएका थिए।

अन्तप्रजातीय प्रजननका कारण बाबुआमाका राम्रा गुण नयाँ पुस्तामा सर्ने फाइदा भए पनि लामो समयसम्म नजिकको सम्बन्धभित्र प्रजनन भएमा नराम्रा गुण हावी भई गर्भ नरहने, तुहिने, बच्चा असामान्य बनावटका स्वरूपमा जन्मने वा रोगी हुने सम्भावना धेरै हुन्छ। अन्तरप्रजातीय प्रजननको अन्ततोगत्वा नतिजा प्रजातिको विनाश हुने हुनाले सबै प्रजातिले आफ्नो अस्तित्व रक्षाका लागि बाह्य प्रजनन खोज्छ — यो उनीहरूको विकासवादी तर्क थियो।

वनस्पतिशास्त्रबाट आएका यी मान्यता मानिसको वंशानुगत गुण-अवगुण सर्ने कुरामा कसरी लागू हुन्छ भन्ने जिज्ञासा स्वाभाविक थियो। विशेषगरी स्वास्थ्य विज्ञानले मानिसका रोग-बिमारीको अध्ययनबाट वंशानुगत सम्बन्धबारे अध्ययन गर्न थाल्यो। त्यस बेलाको स्वास्थ्य विज्ञान आधारभूत तहमा मात्र थियो। धेरै रोगको कारण र निदान पत्ता लागिसकेको थिएन। क्षयरोगजस्ता ब्याक्टेरियाले फैलाउने सरूवा रोगलाई पनि वंशानुगत हुन सक्ने व्याख्या हुन्थ्यो।

मानिसको स्वास्थ्यसम्बन्धी समस्या अनुवांशिक गुणको कारणले मात्र हुँदैन। त्यसमा अन्य विभिन्न कारण हुन्छन्। ब्याक्टेरिया, भाइरस संक्रमण आदि सँगै मानिसको खानपिन, वातावरण, जीवनशैली, ट्रमा, दुर्घटना आदिबाट पनि स्वास्थ्यमा समस्या आउँछ। महिलाको विवाहको उमेर, गर्भवतीको पोषण, स्वास्थ्य सेवामा पहुँच आदिले जन्मनुअगाडि नै पेटको बच्चाको स्वास्थ्यमा प्रभाव पार्छन्। तर यी सबै ज्ञानको अभावमा कारण थाहा नपाएका रोगहरू अक्सर वंशानुगत हो भन्ने अनुमान गरिन्थ्यो।

यसबाट वंशानुगत रूपमा सर्ने रोगहरू घटाउने उपाय एउटै वंशको नजिकको नातामा विवाह नगर्ने र टाढा विवाह गर्ने भन्ने हो भन्ने कुरा व्यापक रूपमा प्रचारित र स्थापित हुँदै गयो।

हुन त कजिन विवाहबाट जन्मेका सन्तानमा भएका रोग कस्ता हुन्छन् भन्ने खोजीबाट यसबारे अध्ययनको काम सुरू भएको थियो। चार्ल्स डार्विनले आफ्नो छोरा जर्ज डार्विनलाई बेलायतमा कुन कुन वर्गका मानिसमा कति मात्रामा साख्खै कजिन विवाह गरिने रहेछ भन्ने अध्ययन गर्न लगाएका थिए। जर्जले ‘मानसिक रोगी घर’ मा भएका बिरामीका बाबुआमा कति साख्खै कजिन विवाहका रहेछन् भन्ने पनि हेरे। उनको अध्ययनले बेलायतका उच्च घराना वर्गमा सर्वसाधारणभन्दा बढी अर्थात् ४.५ प्रतिशत साख्खै कजिन विवाह विद्यमान रहेको र मानसिक रोगीको संख्यामा कजिन विवाह र बाह्य विवाहबाट जन्मेका सन्तानमा खास भिन्नता नरहेको निष्कर्ष निकालेको थियो।

स्वास्थ्य विज्ञानको क्षेत्रमा, विशेषगरी फ्रान्स र जर्मनीमा भएका अनुसन्धानले पछिल्लो समयमा धेरै कुरा पत्ता लगाए। जिन वा अनुवांशिक विधामा भएका वैज्ञानिक अनुसन्धानले वंशानुगत गुण बाबुआमाबाट कसरी सर्छन् भन्ने कुरामा थप स्पष्टता ल्याएका छन्।

मानिसको जिनले उसको शरीरको बनावट र स्वास्थ्य निर्धारण गर्छ। बच्चाले आमा र बुबाबाट यस्तो जिन आधा आधा प्राप्त गर्छ। आमा र बाबुबाट आउने जिन फरक फरक हुन्छन् जसबाट आएको जिन प्रभुत्वशाली हुन्छ, त्यो बच्चामा सर्छ। बाबु र आमा दुवैमा एकै प्रकारको ‘रिसेसिभ जिन’ छ भने बच्चामा त्यो सर्ने पक्कापक्की हुन्छ। सामान्यतया नजिकको नातामा विवाह निरन्तर गर्दा बाबु र आमा दुवैमा एकै प्रकारको खराब वा रिसेसिभ जिन बढ्ने सम्भावना भएकाले कजिन विवाहमा जोखिम हुन्छ भनिएको हो।

नेसनल सोसाइटी अफ जिनेटिक्स काउन्सिलर्सले कजिन विवाहबाट जन्मेका बच्चामा जन्मजात खोट देखिने जोखिम बाह्य विवाहमा भन्दा १.७ देखि २.८ प्रतिशत बढी हुन्छ भन्ने देखाएको छ। यस्तो जोखिम कजिन विवाहमा बाह्य विवाहमा भन्दा जोखिम केही बढी देखिन्छ तर त्यस्तो भयप्रद देखिँदैन।

यस्तै कजिन वा नजिकको नाताभित्र विवाह गर्दा कस्ता किसिमका जोखिम र लाभ छन् र भविष्यमा यसबारे कस्ता अनुसन्धान हुन आवश्यक छ भन्नेबारे छलफल गर्न सन् २०१० मेमा यस विषयका अन्तर्राष्ट्रिय विज्ञहरूको एकहप्ते गोष्ठी भएको थियो। गोष्ठीको प्रतिवेदनमा हालसम्म भएका वैज्ञानिक अनुसन्धान केलाएर कजिन विवाहको जोखिम स्वास्थ्यको कुन पक्षमा कस्तो छ र केमा देखिएको छैन भन्ने तथ्य प्रमाणहरू संश्लेषण गरिएको थियो।

त्यसको पहिलो बुँदा, परिवारमा रोग बोकेका खराब रिसेसिभ जिन छ भने बच्चामा यस्तो जिन सर्ने जोखिम हुन्छ।

दोस्रो बुँदा, प्रजननसँग सम्बन्धित स्वास्थ्य समस्यामा गर्भधारण नहुने, गर्भपतन हुनेजस्ता समस्या कजिन विवाहले बढाएको भन्ने अधिकांश अनुसन्धानले देखाएन। बरू सहोदर कजिन विवाहमा बाल जन्मदर अरूको तुलनामा केही बढी देखियो। बाबुआमाको कजिन विवाह सम्बन्धसँग डाउन-सिन्ड्रोमको पनि केही सम्बन्ध नभएको देखायो। अन्य जटिल किसिमका शारीरिक तथा मानसिक समस्याहरू, जस्तो- उच्च रक्तचाप, मुटुको रोग, मधुमेह, सिजोफ्रेनिया, अटिजम, क्यान्सर आदिसँग कजिन विवाहको प्रत्यक्ष सम्बन्ध छ भन्ने अनुसन्धान प्रकाशन अहिलेसम्म नभएको पनि यो प्रतिवेदनमा भनिएको छ।

रिसेसिभ जिन नकारात्मक गुणको मात्र हुँदैन। सिस्टिक फिब्रोसीसजस्ता जिन दुवै बाबुआमाबाट आएमा बच्चा कमजोर वा बिमार हुन सक्छ। आमाबाबुबाट आएका रिसेसिभ जिन राम्रा छन् भने त्यो निरन्तर सर्नाले नयाँ पुस्ता अझ सशक्त पनि हुन सक्छ। केही राम्रा जिनको निरन्तरताले मस्तिष्क आकार वृद्धि हुनु, समाउन मिल्ने गरी बुढी औंला टाढा हुनु र शरीर सिधा हुनु जस्ता विशेषता मानवहरूमा जैविक विकासको क्रममा तुलनात्मक रूपमा सानो घेरामा प्रजनन र पुस्तौंसम्म अन्तरप्रजनन भएकाले भएको हो भन्ने देखाएको छ

तर सबभन्दा महत्त्वपूर्ण कुरा, अन्तरप्रजननले जिन राम्रो वा नराम्रो जे भए पनि समग्र जाति समूहमा सकारात्मक प्रभाव हुन्छ भन्ने हो। अन्तरप्रजननमा जिन खराब पर्‍यो र लामो समयसम्म अन्तरप्रजनन निरन्तर रह्यो भने अधिकतम बालबालिकामा असर हुन्छ र ती बालबालिकाको या त मृत्यु हुन्छ या तिनीहरू आफैं बालबालिका जन्माउन असमर्थ हुन्छन्। यस्तो अवस्था ती व्यक्ति र परिवारका लागि दु:खदायी हो। तर कमजोरीहरू हट्दै गई समग्र जनसमूह भने यही कारणले अझ बलियो हुन्छ। अन्तरप्रजननमा जिन असल पर्‍यो र लामो समयसम्म अन्तरप्रजनन निरन्तर रह्यो भने जन्मेका बालबालिका बाँच्न र सन्तान जन्माउन अझ सफल हुन्छन्। यस्तो अवस्था पनि समग्र जनसमूह अन्तरप्रजननकै कारणले अझ बलियो हुन्छ।

निष्कर्षमा,

तामाङ समाजले अँगालेको विवाह सम्बन्धका नियमहरू प्राचीनकालदेखि विकास हुँदै आएका परम्परा हुन्। यसको मूल मान्यता आफ्नो ह्रुई वा वंश, हाडनाताभित्र विवाह कहिल्यै हुन नहुने र विवाह सधैं बाहिरको तामाङ ङेनखोर वंशसँग स्थापित हुनुपर्ने भन्ने हो। यस्तो सम्बन्धलाई मामा–फुपूचेला विवाह भनिएको हो।

यस्तो विवाह पद्धतिले दुइटा कुल वा वंशलाई विवाह सम्बन्धबाट जोडेर तामाङ समाजलाई एक जीवन्त सामाजिक संगठनमा बाँधेको देखिन्छ। यस्तो विवाह सम्बन्ध नेपालको तामाङ समाजमा मात्रै नभई धेरै देशका अनेक समुदायमा पनि प्रचलनमा रहेको तथ्य मानवशास्त्रीय अध्ययनले देखाउँछन्। यसले आफूभन्दा बाहिरको समुदायसँग विवाहमार्फत मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्छ।

तर उन्नाइसौं शताब्दीदेखि बीसौं शताब्दीको मध्यसम्मको अवधिमा देखा परेको युरोपेली साम्राज्यवादी राजनीतिबाट पोषित युजेनिक्स नामक छद्म विज्ञानले नश्ल, जात, जाति, रोग, ज्ञान, प्रतिभा र अपराधसमेत सबै वंशानुगत हुन्छन् र संसारका जातहरूमा सभ्यता र आधुनिक विकासमा अगाडि रहेका युरोपेली गोरा जाति सर्वश्रेष्ठ हुन् भन्ने गलत मान्यता सिर्जना गर्‍यो। यस्तो भाष्यले अमेरिका, अफ्रिका, एसिया र अस्ट्रेलिया लगायतका विभिन्न मुलुकमा युरोपेली औपनिवेशिक दमन र शोषणलाई मात्र वैध बनाएन, युरोपभित्रै पनि बाध्यात्मक बन्ध्याकरणदेखि नाजीवादी नृशंस अत्याचार सिर्जना गर्‍यो। युरोपभन्दा बाहिरका समाजमा व्याप्त कजिन विवाह असभ्यता, पुरातन र हेय हो भन्ने भाष्यले साम्राज्यवाद र यसको प्रभुत्वलाई वैध बनाउँथ्यो।

कन्साङगुइन वा नजिकको नाताभित्रको विवाहले वंश खिइँदै जान्छ भन्ने मान्यताको प्रचारका कारण यस्तो विवाह प्रथालाई अवैज्ञानिक, पुरातन र असभ्य भनेर हियाउन थालियो। धेरै देशले यस्तो विवाहमा बन्देज लगाउने कानुन नै बनाए। कजिन विवाहलाई हेय र भयात्मक मान्ने कानुन र मान्यता पुष्टि भएका वैज्ञानिक तथ्यभन्दा पनि पूर्वाग्रह र औपनिवेशिक राजनीतिक अहंकारमा आधारित विचार हुन्। यस्ता विचारबाट उत्पन्न भय र चिन्तामा परेका व्यक्तिहरूलाई ‘काउन्सिलिङ’ गर्दा कजिन विवाह संसारका धेरै ठाउँमा सामान्य परम्परा हो र चार्ल्स डार्विन आफैंले पनि मामाकी छोरी विवाह गरेका थिए भन्ने जानकारी गराउन सन् २००२ मा नेसनल सोसाइटी अफ जिनेटिक्स काउन्सिलर्स अमेरिकाले सिफारिस समेत गरेको थियो।

पछिल्लो समयमा जिनेटिक्स र मानव स्वास्थ्य विज्ञानमा भएका तथ्यले कजिन विवाहमा अलि बढी जोखिम हुने देखाएका छन्। तर मानव स्वास्थ्यमा जिनले मात्र नभई वातावरण, समय, स्थान र समुदायका सामाजिक, आर्थिक र राजनीतिक परिवेशले धेरै प्रभाव पार्ने हुनाले यस्ता तथ्य अझै पूर्ण रूपले स्थापित भइसकेका छैनन्। यसको निर्क्यौल गर्न आवश्यक प्रमाण जुटाउन अझै यथेष्ट वैज्ञानिक परीक्षण हुन बाँकी छ। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *