पाठ्यक्रमबाट बिपीको जीवनी हटाएको प्रमाण देखाउन उपप्राध्यापक चलाउनेको चुनौती

0 minutes, 0 seconds Read
Spread the love

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले विश्वेश्वरप्रसाद कोइरालाको जीवनी स्नातक तहको पाठ्यक्रमबाट हटाएको भनेर आफूविरूद्ध प्रचारवाजी भइरहेकोमा खण्डन गरेका छन्।

‘त्रिविमा समाजशास्त्रको स्नातकोत्तर तह मात्र पढाइ हुन्छ, स्नातकको पढाइ हुँदैन। अपराधी र तिनका संरक्षक जो-कोहीलाई स्नातकोत्तरको पाठ्यक्रममा पहिला बिपीको समाजवाद भएको र पछि मैले हटाएको कुनै प्रमाण छ भने देखाउन मेरो खुला चुनौति भयो,’ उनले जारी गरेको अपिलमा उल्लेख छ।

आफूमाथि कुटपिट गर्ने नेविसंघका कार्यकर्ताले नै यस्तो झुटो प्रचार सामाजिक सञ्जालमा फैलाएको र नेताहरूलाई समेत यो कुराको ब्रिफिङ गरेको उनको भनाइ छ।

केही समयअघि कान्तिपुर टेलिभिजनको टफटक कार्यक्रममा बोल्दै कानुन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले चलाउनेलाई बिपीको जीवनी पाठ्यक्रमबाट हटाएको आरोप लगाएका थिए।

चलाउनेले पाठ्यक्रमबाट बिपीको जीवनी हटाएपछि नेविसंघका कार्यकर्ताले विरोधस्वरूप लगाएको ताला खोलिदिएपछि उनीमाथि आक्रमण भएको गुरूङले बताएका थिए।

कुटपिटमा संलग्न नभएकालाई समेत मुद्दा लगाइएको भनेर कानुन मन्त्री गुरूङले बताएका थिए। नेतालाई पनि आफूविरूद्ध प्रचार गर्नेहरूले गुमराहमा राखेको चलाउनेको भनाइ छ।

‘उनीहरूले कसरी नेतालाई समेत गुमराहमा पार्छन् भन्ने कुरा कानुन मन्त्रीको सार्वजनिक टिप्पणी सुन्दा हुन्छ। कांग्रेसभित्रका कतिपय नेताका दुःख पनि कानुन मन्त्रीका जस्तै छन्,’ उनले अपिलमार्फत भनेका छन्, ‘अपराधीहरूले आफ्नो कु-कर्मलाई जस्टिफाई गर्न श्रद्धेय नेता बिपी कोइरालाको नाम बेचे।’

उपप्राध्यापक चलाउनेले बिसौँ वर्ष देखिका समाजशास्त्रका पाठयक्रममा समेत बिपीको कुनै समाजवाद वा जीवनी नभएको बताएका छन्।

‘के कसैले मलाई बिपीको समाजवाद वा कुनै जीवनी वा कुनै पनि किताब त्यहाँ पहिला कोर्षमा भएको देखाउन सक्छ? अनि पाठ्यक्रममा हुँदै नभएको कुरा मैले कसरी हटाएँ?,’ उनले भनेका छन्, ‘पाठ्यक्रममै भए पनि मजस्तो सामान्य शिक्षकलाई त्यसरी हठात हटाउने सुविधा हुँदैन। कोर्सबाट कुनै किताब हटाउने वा थप्ने आफ्नै विशिष्ट प्रक्रिया, पद्धती र परम्परा हुन्छ। यो त कमनसेन्स भएको मान्छेले थाहा पाउने कुरा हो।’

नेविसंघ त्रिवि समितिका तत्कालीन सभापति हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज राना मगर र दीपक ओझाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोप छ।

उनीहरूले २०७७ असोज २० गते चलाउनेमाथि कुटपिट गरेका थिए। त्यसपछि कुटपिट गर्नेहरू विरूद्ध ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो।

गएको जेठ ३० गतेको मन्त्रिपरिषदको बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।

ज्यान  मार्ने कसुरको मुद्दा फिर्ता गर्ने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। त्यसपछि नेविसंघका कार्यकर्ताले आफ्नाविरूद्ध सामाजिक सञ्जालमा भ्रामक कुरा लेख्न थालेको चलाउनेको भनाइ छ।
सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *