नेपालको ‘निजामती’मा पैसा नै छैन!

0 minutes, 0 seconds Read
Spread the love

केही समयअघि भृकुटीमण्डपमा चियाको चुस्की लिँदै म र मेरा केही साथी कुराकानी गर्न थाल्यौं।

एक जना साथी भन्छ, ‘अब त पढाइ पनि सकिन लाग्यो मैले के गर्दा ठीक होला भनाओ त साथीहरू ?’

यसको उत्तर मैले के दिम् भन्ने भयो।

‘अस्ति नै त लोक सेवा भिड्ने कुरा थियो त अहिले जाँगर लागेको छैन?’ भनेर मैले उल्टो प्रतिप्रश्न तेर्साएँ।

साथीको उत्तर आयो,  ‘खै यार यसो सोचेको नेपालको निजामतीमा पैसा नै छैन। अधिकृत नै भए पनि बिजोक छ। फेरि आफूलाई चलायमान हुन मन लाग्छ। सरकारी कर्मचारीको पारा हेर्दा ब्युरोक्रेट्स जस्तो नै देखिनन् हामीले राम्रो मान्छे नदेखेर पनि होला।’

मित्रले सिंहदरबारको एक मन्त्रालयको उपसचिवको नाम लिँदै भने, ‘उहाँजस्तो मान्छे देख्दा चाहिँ निजामतीमा पनि छ है भन्ने लाग्छ फेरि उहाँकै मन्त्रालयको अरूहरूको कार्यशैली देख्दा यसरी त कहाँ होला र! भन्ने लाग्छ हेर।’

म पनि ठीक लागेर त्यो त हो भन्ने आशयले समर्थन जनाएँ।

सँगै बसेको अर्को साथीले पनि मसँगै पढ्ने अनि यहाँ राम्रै भएकाहरू पनि अधिकांश विदेश गइसके भन्दै आफ्नो कुरा गर्दै थियो।

केही महिना अघिको कुरा हो।

एक जना मिल्ने साथीले सरकारी सेवामा देखिने ढिलासुस्ती, काम पन्छाउन खोज्ने र घुस माग्ने आशयले काम रोक्दिन खोज्ने परिपाटी देख्दा आफू निराश भएको भनेर सुनाए। मैले कुरा के हो भनेर सोध्दा  ‘काठमाडौंको एक निकायमा आफू यो कामले जाँदा कर्मचारीले हुने काम पनि यता र उति भन्दै नचाए। हामीजस्तो पढे/लेखेकालाई त यसो गर्छन् भने अरू नजान्नेलाई त यी कर्मचारीहरूले कति सताउँछन् होला है ?’  उनी अझै थप्छन्, ‘हाम्रै करले पालिने हो यी नेता र कर्मचारीहरू त्यही पनि सानो काममै हामीलाई निकै दु:ख पाउनुपर्ने अवस्था छ। देश बन्दै छ त भन्छन् बन्दै छ पनि तर हरेक ठाउँमा ठेस खान पुग्ने वातावरण रहिरह्यो भने आम जनमानसमा कस्तो प्रभाव पर्छ भनेर सोचेको देखिएन’ भन्छन्।

साथीको आफ्नो बाबाको यहाँ राम्रै कमाइ छ र आफू पनि मज्जाले नेपालको कानुन क्षेत्रमै लाग्न सक्ने पर्याप्त आधार भएता पनि त्यो कुराले गर्दा विक्षिप्त भएका थिए।

उनी पनि निराश हुँदै भन्न थाले ‘यो देशमा मैले सक्दो मेहनत गरेर पनि राम्रो कमाउन त सकूँला रे घर जमिन कार पनि जोड्न सक्छु तर कर्मचारीको यो किसिमको व्यवहार सुधार नभएसम्म देश उँभो त लाग्दैन। अनि यहाँकै हिसाबले खटिएर मैले यहाँको भन्दा राम्रो गर्न सक्छु या कमाउन सक्छु भने विदेश किन नजाने त होइन ?’ भन्दै थिए।

हुन पनि हो हामी नेतालाई यो गरेन, त्यो गरेन भनेर भन्छौं। यिनीहरू त पाँच वर्षको लागि आउने हुन या बीचमै चुनाव भए अर्को आउँछ थिती नियम बसाल्ने यिनै हुन् तर कर्मचारी भनेको पनि त स्थायी सरकार हो। हाम्रा सबै कुरा यिनैमार्फत् हुन्छ। सरकारको सेवा लिने पनि यिनैमार्फत् हुने हो तर पनि यो व्यवहारले हेर्दा त लाग्छ देश बिग्रनुमा नेता र कर्मचारी दुबैको उत्तिकै हात छ।

म आफैं कानुन पढ्ने विद्यार्थी कामको सिलसिलामा सर्वोच्च अदालततिर जाँदा त्यहाँको कर्मचारीको व्यवहार हेर्दा नै यो क्षेत्र यसरी सुधार होला र भन्ने लाग्छ अरूले त कसरी विश्वास गर्लान् र!

कतै निस्किँदा यातायातमा पाउने सकसदेखि लिएर सरकारी काम गर्दा पाउने झन्झट र हेपाहपन यसले नराम्रो सन्देश त पक्कै दिएको छैन।

ल नेता त युवा भएनन् रे तर कर्मचारी हेर्दा सबै युवाहरू नै देखिन्छन् तर पनि देश किन बनेन? सिस्टम किन बनाउन सकिएन भनेर गम्भीर हुन जरूरी छ।

केही दिन अघि बुटवलबाट काठमाडौं आएको मेरो साथीले भेटम् भन्यो। उसले एयरपोर्ट आउन भन्यो।

एयरपोर्टमा ऊ पनि आफ्नो साथीको र त्यो साथीको बाबासँग आएको रहेछ। साथीलाई छोड्न आएको रहेछ दुबईमा जाने फ्लाइट रहेछ।

ठ्याक्कै भित्र प्रवेश गर्ने बेला भएपछि भने मन थाम्न नसकेर उसको साथीले भक्कानिएर रोयो।

हुन पनि एक्लो छोरो घरको पनि बाध्यता हुन्छ दुई वर्षको लागि गएको भएता पनि देश छोड्ने बेला पिर मर्का त पर्छ नै।

म पनि एक वर्षअघि मामा, माइजू र नानी त्यतिबेला एक महिनाको लागि काठमाडौं आएर अमेरिकाको लागि जाने क्रममा पिर लागिरहेको थियो। सानो नानीले अंग्रेजी फरर बोलेको देख्दा त उतिबेला नै सोचेको थिएँ, ‘आफ्नो लागि ना सही भोलिको दिनमा छोराछोरीलाई राम्रो शिक्षा दिन र अरूभन्दा अब्बल बनाउन पनि विदेश त जानुपर्छ’ जस्तो लाग्या थियो।

देश छोड्न त कसलाई मन पर्छ र? बाध्यता आआफ्नै छ। त्यही हो पैसो फाल्न नसक्नेहरू खाडीतिर गएका छन् भने सम्भ्रान्त वर्ग सुकिलामुकिलाहरूको गन्तव्य अस्ट्रेलिया, अमेरिका र युरोपतिर भएको छ।

साथीलाई छोडेपछि त्यो साथीसँग विमानस्थलमै कुराकानी गर्यौं।

साथी भन्दै थियो, ‘यस्तै हो केटा गरिब देशमा जन्मिएपछि ढिलोचाँडाे हामी पनि लाग्नैपर्छ। मसँगै पढेको साथी सबै बाहिर गए, अब त्यो हिमाल पनि बाहिर जाने भन्दै थियो। मैले नै यसरी यहीँ आएर कति धेरैलाई बिदाइ गरिसकें। मेरो भाइ पनि जाने भन्छ।’
त्यो साथीले यहीँ राम्रो कमाइरहेको छ। त्यही पनि निराश रूपले प्रस्तुत भएको पाएँ।

मैले भने, ‘ भोलिको दिनमा अवसर हुन्छ सबै लस्कर लाएर विदेश जाने ट्रेन्ड फलो नगरौं। म पनि आशले नै बसेको छु।’

उसले भनेको जस्तो ‘गरिब देशमा जन्मिएपछि’ भन्नेमा मलाई थोरै चित्त बुझेन।

देश गरिब त आफैं भएको होइन नि! चीन पनि गरिब थियो ४० वर्षमै शक्तिशाली भयो। अवसर खोज्नुपर्यो, रणनीति बनाउनुपर्यो त्यो अब युवाले नै गर्ने हो। त्यसपछि त भारत चीनबीच रहेको हामी पनि सुखी सम्पन्न नहुने त कुरै छैन।

मेरै भाइ र म घरमा बस्ने कक्षा ७ मा पढ्दै गरेको भाइले पनि देशमा बस्ने कुरै गर्दैन। कक्षा ११ र १२ पढेपछि विदेशिने ट्रेन्ड नै चलेको जो छ।

यसरी ऊर्जाशिल युवाशक्ति बाहिर जाँदा राजनीतिक दललाई भने केही फरक परेको देखिन्न।

राजनीतिक दलहरू अझै पनि गफ र भाषण गर्न मात्र व्यस्त छन्।

चुनाव आए युवालक्षित घोषणापत्र राख्ने कांग्रेस, एमाले र माओवादी लगायतका दलहरूले व्यवहारमा भने केही गर्दैनन्।

विश्वविद्यालय र शिक्षा क्षेत्र यिनैको राजनीतिले खत्तम भएको छ। त्रिभुवन विश्वविद्यालयलाई झन् खत्तम बनाए लाज शरम अलिकति पनि छैन। मेरा धेरै साथीहरू मास्टर्स पढ्न त विदेश नै जाने हो भन्छन्।

राजनीतिक दलहरूलाई अझै पनि युवाहरू विदेशिएको कुराले छोएको छैन अनदेखा गरेका छने। जसले भोलिको दिनमा ल्याउने संकटबारे यिनीहरूलाई कतै फरक परेको देखिन्न।

म आफैं पनि बुटवलमा स्थायी रूपले बसेको मान्छे र त्यतातिरको उल्लेख्य मान्छे यही निजामती क्षेत्रमा भएर होला मलाई कक्षा १० बाट नै ओहो सरकारीमा नाम निकालेपछि त सरकारी गाडीमै हिँड्न पाइने रवाफ पनि झार्न पाइने ( त्यतिबेलाको सोचाइ ) शान,  मान र टाेलछिमेकमा पनि आफ्नो छुट्टै पहिचान हुने देखेर यतैको लागि ध्यान गएको त छ। अझै केही समयमा अरू केके भेटिन्छ। कहीँकतै अवसर देखिएको क्षेत्रमा लाग्न सके निजामती क्षेत्रमा नहेर्ने र नजाने भन्ने त छ।

एसिया र विशेषत दक्षिण एसियामा विदेशिने लहर नै चलेको छ।

नेपाल, भारत र पाकिस्तानजस्ता देशमा विदेशीले समस्या उहीँ रोजगार नपाएर वा भइगरेको रोजगारले खान लाउन र छोराछोरी पाल्न समेत धौधौ हुने स्थिति आएर अधिकांशले देश छोड्ने गरेका छन्।

दक्षिण कोरियामा मान्छे बढी शिक्षित भएर नै रोजगार नपाएको हुँदा युरोप अमेरिका जानेहरूको लहर छ।

चीनमै पनि युवाहरू रोजगार नभएर विदेश पलायन भएका छन्। त्यसैले यो नेपालको मात्र समस्या होइन।

हालै राष्ट्रसंघ अनुसार भारतले चीनलाई जनसंख्यामा उछिनेको भन्ने छ तर युवा जनसंख्याले ओतप्रोत भएको भारतमा पनि युवालाई रोजगार नभएर झन् तनाव छ। त्यसैले समस्या जहाँ पनि छ। देश बनाउने युवाले नै हो।

हालै  इजरायलमा न्यायालयको शक्ति घटाउने प्रस्ताव ल्याउँदा हजारौं युवाहरूले त्यस्तो विरूद्धमा प्रदर्शन गरेका थिए।

युवाले जवाफदेही बनाउने हो हस्तक्षेप गर्ने हो।

यदि युवाहरूलाई रोक्ने हो भने कम्तीमा वातावरण चाहिँ बनाइदिनुपर्यो। कक्षा १ देखि १० सम्म पुग्दा नै देश गरिब छ भन्ने मगजमा पारिदिने भएपछि ती कलिलाहरूको दिमागमा पनि कुन देशमा जन्मिए भन्ने बनाइदिएको छ।

समाजले पनि मेरो छोरा यहाँ, छोरी यहाँ भन्दै सम्पत्तिको समेत रवाफ देखाउँदा प्रभाव पारेको छ।

र अन्त्यमा, हालै ट्विटरमा एक कूटनीतिज्ञ भन्दै थिए, ‘अहिलेको युवाले दिएको खाने र अह्राएको गर्ने होइन। अनुभव आफैं हासिल गर्नुपर्छ। अहिलेको युवामा सुन्ने, पढ्ने र सोच्ने बानी छ त्यो देख्दा खुसी लाग्छ। हरेक देशको भविष्य त्यो देशको युवामा अडिएको छ। इतिहासलाई रि-रिड गर्नुपर्छ रि-राइट होइन।’ भन्दै हुनुुहुन्थ्यो।

अहिलेका युवाले आश जोगाएरै हस्तक्षेप गर्नुपर्छ। निजामतीमा त युवा अनुहार नै छ। केही नयाँ युवा सांसदले आश पनि जोगाउँदै छन्।

काठमाडौं महानगरमा बालेनको प्रवेशले पनि युवाहरू राजनीतिमा आउन सक्छन है भन्ने स्थापित भएको छ। यो देश हाम्रै समयमा बनाउने हो। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *