यसकारण फस्छन् श्रमिक, भन्सार तिरी ल्याउन पाउने सुन पनि पर्छ जफतमा

0 minutes, 4 seconds Read
Spread the love

भन्सार ऐनअनुसार विदेशबाट आउने यात्रुले २०० ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ।

महिलाको हकमा ५० र पुरूषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ भने त्योभन्दा बढी दुई सय ग्रामसम्मको सुनमा भन्सार महसुल तिर्नुपर्ने हुन्छ।

गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ।

भन्सार महसुल तिरेर ल्याउन पाउने र नतिरी ल्याउन पाउने सुनको सवालमा जानकारी नै नपाउँदा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू समस्यामा पर्ने गरेका छन्।

यदि कुनै पुरूषले विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले स्व:घोषणा गरेर एक ग्राम सुनको भन्सार महसुल तिर्ने पर्ने हुन्छ। तर, उसले घोषणा गरेन र छानविनमा पर्‍यो भने चोरी पैठारीमा राखिन्छ। सुन जफत गरिन्छ। सुनको मूल्य बराबरको जरिबाना तिराइन्छ।

आफूले सुन चोरी पैठारी नगरेको गुनासो लिएर त्रिभुवन विमानस्थल कार्यालय प्रमुखसँग दैनिक औषत १० वटा यस्तै गुनासो आउने गरेका छन्।

‘अब त अति भइसकेको मेरो ममी सुन तस्करी गर्ने मान्छे होइन लगाएर आएको सुन केही बढी भयो भन्ने नाममा यसरी दुःख दिनु भएन हामी सबै नियम मान्छौँ, तर छिटो गरिदिनु पर्‍यो,’ ओखलढुंगाका मिलन छिनाल (नाम ठेगना परिवर्तन)ले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेसँग गुनासो पोख्छन्।

मिलनकी आमा छोरालाई अष्ट्रेलिया पठाउन गत महिना कुवेतबाट नेपाल आएकी थिइन्। मिलन आमाको स्वागत गर्नको लागि एयरपोर्ट पुगे। प्लेन ल्याण्ड गरेपछि ४/५ घण्टा प्रतीक्षा गर्दा पनि आमा नआएपछि उनीले सोधिखोजी गरे।

पुलिसले छानविन गरिरहेको छ भनेपछि उनी झस्किए। कारण थियो बढी सुन लगाएर आएको। उनले प्रमुख पाण्डेसँग त्यो बेलाको सिसी टिभी क्यामेरा हेर्न पटक–पटक आग्रह गरे।

भन्सारका कर्मचारीले उनलाई क्लियर गरिसकेपछि उनी माथि छानविन सुरू भएको थियो। ‘सबै सुन फेरि जादा नलगाउनु है, एक पटकलाई मात्रै छुट दिएको नि!’ भनेर छोडिदिए। तर, पछि प्रहरीले समायो र छानविन गर्ने भनेको थियो’ उनले भने।

उनले सन् २०१४ देखि त्यही सुन लगाएर आवत-जावत गरिरहेकी थिइन्। उनी यसअघि पनि नेपाल आउने जाने गरेकी थिइन् तर यस्तो झमेलामा कहिलै परेकी थिइनन्। मिलनको अष्ट्रेलिया जानुपर्ने समय आइसक्यो। आमाको जागिरमा फर्कनु पर्ने समय पनि। तर सुन उपरको छानविन सकिएको छैन।

‘उहाँले आफैँले लगाउँदै आएको सुन हो हामी पत्याउछौँ तर, बढी छ भनेर उहाँले नै स्वःघोषणा गरेको हुन्थ्यो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ‘हाम्रो कानुनले तोकएको भन्दा बढी सुन ल्याउन दिँदैन स्वघोषणा गरिएन भने त्यस्तो सुनलाई तस्करीको सुन भन्छ।’

यस्तै गुनासो बोकेर दुबईबाट फर्किएकी शान्ति अधिकारी र सावित्री श्रेष्ठ त्रिभुवन विमानस्थल भन्सार कार्यालय पुगेका छन्। उनीहरूकाे पनि बढी सुन लगाएको नै गुनासो छ।

‘दुःख गरेर कमाएको पैसाले किनेर लगाएको गहना हो, हामीले कारोबार गर्न खोजेको होइन छिटो टुङ्ग्याइदिनु पर्‍याे सर।’

‘सकेसम्म छिटो गर्छु कानुनले लेखेको विषयलाई मैले गर्न सक्ने ठाउँ भने केही छैन,’ पाण्डेले जवाफ फर्काए।

भन्सारका अधिकारीहरूका अनुसार प्रहरीले समाएपछि जति बढी सुन भएपनि त्यो सुन जफत गर्नुका साथै त्यही मूल्य बराबरको जरिबाना तिराउनु पर्ने हुन्छ।

साथै व्यक्ति उपर छानविनसमेत गरिन्छ। २०० ग्रामसम्मको सुनमा भन्सार तिरेर ल्याउनु पाइने भए पनि धेरै श्रमिकहरूले थाहा नपाएर पहिले घोषणा गर्दैनन्।

पहिले घोषणा नगरेपछि त्यस्तो सुन भने चोरी पैठारी तथा तस्करीको रूपमा राखेर भन्सारले अनसन्धान गर्ने गर्छ। भन्सारले वा प्रहरीले समाएको यस्तो सामान उपर छानविन गर्नको लागि विमानस्थल प्रमुख भन्सार प्रशासक अनुसन्धान अधिकृत तोक्छ।

अनुसन्धान अधिकृतिले २५ दिनभित्र प्रतिवेदन तयार पार्छ भने त्यसको तीन महिनाभित्र प्रमुख भन्सार प्रशासकले निर्णय दिनु पर्ने हुन्छ। कतिपय श्रमिक भने पैसाको लोभमा अरूको गहना बोकेर आउँदा पनि फस्ने गरेको त्रिवी भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन्।

विशेषगरी दुबईबाट आउने श्रमिकलाई यस्तो सुन बढी बोकाउने गरेको उनीहरूको भनाइ छ।
सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *