रहेनन् ‘पुतली बाजे’

0 minutes, 0 seconds Read
Spread the love

पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनको ८७ वर्षको उमेरमा पोखरामा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए । उनको स्मरण शक्तिसमेत घटेको थियो ।

वि.सं. २०२२ मा बेलायतबाट उनी नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । गोरखाको अमरज्योतिमा पढाएका थिए । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उनका विद्यार्थी हुन् ।

स्मिथले डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि पुतली संकलन गरेका थिए । नेपालको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको पुतली उनले संकलन गरेका हुन् । उक्त संग्रहालय स्थापनाका लागि उनले २५ हजारभन्दा बढी पुतली संकलन गरिदिए । त्यही मेसोमा मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुमे । स्मिथले लामो समय पुतलीको अध्ययन र अनुसन्धानमै बिताए ।

एक वर्षयता झन् गाह्रो हुन थालेको थियो । सधैंलाई ओछ्यानमै बस्नुपर्ने बाध्यता थियो,’ उनका सहयोगी मीनबहादुर परियारले भने । बुढ्योलीसगै स्मिथको स्वास्थ्य कमजोर भएको थियो । पुतली खोज्दै जीवन बिताएका कोलिनले बिहे गरेनन् । आफन्तसँग बेलाबेला कुराकानी हुने मीनबहादुरले बताए । उनका कोलिनका दाजुका नातिहरूले बेलाबेला फोन गर्थे । एक नातिले उनको नेपाल र बेलायत बसाइका बारेमा जीवनी लेख्दै छन् । हजुरबा भेट्न ती नाति केही महिनाअघि नेपाल आएका थिए । परियार ३५ वर्षदेखि स्मिथसँगै छन् ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहन्थे । योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए । नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको उनी तेस्रो व्यक्ति हुन् । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको अन्नपूर्ण पुतली संग्रहालयका प्रमुख सुरेन्द्र परियारले स्मिथको अन्त्यष्टि सोमबार गरिने बताए । कान्तिपुर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *