हेरौ नेपाली दलहरूको भाइचारा….

0 minutes, 11 seconds Read
Spread the love

दुई प्रमुख राजनीतिक दलले दसैंलगत्तै आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदानले नेपाली राजनीतिको एउटा यस्तो संस्कार झल्काउँछ, जुन दक्षिण एसियाका राजनीतिक दलहरूमा विरलै पाइन्छ।

त्यो संस्कार हो — आपसी भाइचारा, सद्भाव र सौहार्दताको।

पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग राजनीतिक कुराकानी गर्ने रणनीतिक अवसरका रूपमा चियापान संस्कृतिको थालनी गरेका थिए। यसलाई नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन निरन्तरता दिँदै आएको छ भने अर्को प्रमुख दल नेकपा एमालेले मनमोहन अधिकारीका पालामा २०४८ सालबाट यस्तै कार्यक्रम गर्दै आएको छ।

२०४७ मा तत्कालीन नेकपा मार्क्सवादी र नेकपा मालेबीच एकता भएर नेकपा एमाले बनेको थियो। मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव थिए। त्यसै बेलादेखि एमालेले दसैं, तिहार, छठ र नेपाल सम्बतको अवसर पारेर शुभकामना आदानप्रदानसहित चियापान सुरू गरेको एमाले नेता अमृत बोहरा बताउँछन्।

यही परम्परालाई निरन्तरता दिँदै एमालेले बुधबार पाटनको च्यासलस्थित केन्द्रीय कार्यालयमा यस वर्षको चियापान आयोजना गर्‍यो, जसमा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता चियापानमा पुगेका थिए। यही स्टोरीको आवरण तस्बिरमा नेपालका सबै प्रमुख दलका मुख्य नेता र पूर्वप्रधानमन्त्रीहरू सँगै बसेर प्रसन्न मुद्रामा कुराकानी गरिरहेका देखिन्छन्।

माधव नेपालले एमाले छाडेपछि उनलाई पहिलोचोटि पार्टीको यस्तो औपचारिक समारोहमा निम्ता गरिएको थियो। उनी रौतहट गएकाले सरिक भएनन्। त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकामा भएकाले उक्त समारोहमा उपस्थित थिएनन्।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपस्थित सबैलाई धन्यवाद दिए र भने, ‘म चियापानमा उत्साहजनक सहभागिताका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। तर थप राजनीतिक विषयमा कुरा गर्न चाहन्न। यो राजनीतिक कुरा गर्ने ठाउँ होइन।’

कांग्रेस र एमाले मात्र होइन, फरक सिद्धान्त र विचार बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पछिल्लो आमनिर्वाचनअघि स्थापना भएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चियापानको परम्परा सुरू गरेको छ।

राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्ती पारेर पुस २७ गते चियापान गर्छ। रास्वपाले पुराना दलहरूको चियापान संस्कृतिलाई आत्मसात् गर्दै आफ्नो स्थापनाको एक वर्ष पुगेको दिन २०८० असार ७ गते पहिलो चियापान आयोजना गरेको थियो।

यस्तो कार्यक्रमको मुख्य विशेषता के भने, यसले फरक-फरक सिद्धान्त र एजेन्डा बोकेका दलका शीर्षदेखि विभिन्न तहका नेता र कार्यकर्तालाई एकै ठाउँमा ल्याउँछ। अझ शीर्षनेताहरू त एउटै मञ्चमा बसेर कानेखुसी गरिरहेका देखिन्छन्। यस्तो संस्कृतिले राजनीतिक रूपमा जतिसुकै दुरी भए पनि नेताहरूलाई भावनात्मक रूपमा नजिक आउन सघाउँछ।

उदाहरणका लागि, नेताहरू संसदभित्र र बाहिर राजनीतिक भाषण गर्दा विपक्षीहरूको आलोचना गर्छन्। सत्तापक्षले विपक्षको र विपक्षले सत्तापक्षको आलोचना गर्नु स्वाभाविक पनि हो। यसरी आलोचना गर्दा कसैको शब्दचयन भद्र हुन्छ भने कोही गालीगलौजमै ओर्लिन्छन्। तर भाषणमा जतिसुकै आलोचना र गालीगलौज गरे पनि जब नेताहरू यस्ता कार्यक्रममा सँगसँगै उभिन्छन् र एकअर्काको हात मिलाउँदै शुभकामना साट्छन्, उनीहरूको मनको मयल थोरै भए पनि पखालिन्छ। व्यक्तिगत मेलमिलाप र हार्दिकताले संवादहीनताको अवस्था आउन दिँदैन। राजनीतिक गतिरोध अन्त्य गर्दै समझदारीको मार्गप्रशस्त गर्छ।

आजको समयमा राप्रपा अन्य दलहरूभन्दा विपरीत धारमा उभिएको छ। ऊ गणतन्त्र अन्त्य गरेर राजसंस्था फर्काउने र नेपाललाई हिन्दु राज्य बनाउने लाइनमा छ। राप्रपा नेताहरू आफ्ना भाषणमा यही लाइनको वकालत गर्छन् र वर्तमान राजनीतिक पद्धतिको कटु आलोचना गर्छन्। सैद्धान्तिक धार फरक भए पनि राप्रपाले चियापान गर्दा अन्य दलका नेताहरूले बहिष्कार गरेको पाइँदैन। उनीहरू हार्दिकताका साथ सहभागी हुन्छन् र आपसमा कुराकानी गर्छन्। राप्रपा नेताहरूले पनि अन्य दलका कार्यक्रममा भाग लिँदै आएका छन्।

अघिल्लोचोटि पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि राप्रपालाई शुभकामना दिन गए।

त्यस्तै, रास्वपाले पहिलोचोटि चियापान गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस उपसभापति धनराज गुरूङ लगायत सहभागी भएका थिए।

यस किसिमको मेलमिलापपूर्ण राजनीतिक संस्कारले नै नेपाली राजनीतिमा सहमति र सहकार्यको प्रयासलाई कहिल्यै टुट्न नदिएको नेताहरूको भनाइ छ।

आपसमा गालीगलौज र आलोचना भए पनि उनीहरू शत्रुतापूर्ण व्यवहार देखाउँदैनन्। जतिसुकै ठूलो मतभेद भए पनि सँगै बसेर कुरा गर्छन्। नोकझोँक गर्लान्, हाँसीमजाक गर्लान् तर समस्याको निकास पनि ढिलोचाँडो निकाल्छन्। यो नेपाली राजनीतिको सबभन्दा सकारात्मक पक्ष हो।

विगतमा कयौंचोटि नेपाली राजनीतिमा गतिरोधको अवस्था उत्पन्न भएको थियो। कयौं दिन, कयौं रात वार्ता गर्दा पनि सहमति जुट्थेन। बाहिरबाट हेर्दा पानी बाराबारकै स्थिति उत्पन्न भएको भान पर्थ्यो। जनताले सहमति होला भन्ने आशा र भरोसा त्यागिसकेका हुन्थे। तर त्यस्तो बेला पनि नेताहरूले सहमति र सहकार्यको प्रयास कहिल्यै त्यागेनन्।

 

यो संस्कारले हाम्रो राजनीतिक प्रक्रियालाई जतिसुकै प्रतिकूल अवस्थामा पनि अवरूद्ध हुन दिएन। यसको एउटा ज्वलन्त उदाहरण २०७२ सालको संविधान हो।

पहिलो संविधानसभा संविधान नै नलेखी विघटन भएको र दोस्रो संविधानसभामा पनि अन्तिम समयसम्म सहमति हुन नसकेको अवस्थामा धेरैले नयाँ संविधान जारी हुने आशा त्यागिसकेका थिए। तर भुइँचालोपछि उत्पन्न विपतको घडीमा जनताको आशा मर्न नदिन दलहरूले अन्तिम छ महिनाभित्र थाती रहेका मुद्दा सल्टाएर संविधानको दस्तावेजमा राष्ट्रिय सहमति कायम गरे। देशी–विदेशी शक्तिको स्वार्थविपरीत सबै दलहरू एक ढिक्का भएर उभिएको त्यो क्षणले मुलुकलाई उदार राजनीतिको नयाँ कालखण्डमा प्रवेश गरायो।

नेपाली राजनीतिक दलहरूको यो संस्कार दक्षिण एसियाको राजनीतिमा विरलै देखिन्छ। आज भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका वा माल्दिभ्समा सत्तारूढ दल र प्रतिपक्षी दलका नेताहरू यसरी सँगै बसेर कुरा गर्ने र सहमति गर्ने कल्पनाबाहिरको कुरा बन्दै गएको छ।

भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी कंग्रेस ‘आई’ का नेताबीच पानी बाराबारकै स्थिति छ। कुनै पनि राजनीतिक मुद्दामा उनीहरूबीच सहमति, सहकार्य वा समझदारीको गुञ्जायस छैन।

पाकिस्तानको राजनीतिमा त एउटा भनाइ नै छ — पाकिस्तानमा सत्तामा बसेको नेताले जब चुनाव हार्छ, ऊ कि त जेल पुग्छ कि निर्वासनमा पुग्छ। त्यहाँको लामो उथलपुथलपूर्ण राजनीतिक इतिहास हेर्‍यो भने यो भनाइ सत्यको नजिक देखिन्छ। पूर्वप्रधानमन्त्री इमरान खान अहिले जेलमै छन्। विगतमा पनि सत्ताबाट ओर्लिएपछि जेल, निर्वासन वा हत्याको नियति भोग्नु पाकिस्तानी नेताहरूको दुर्भाग्य बन्ने गरेको थियो।

सन् १९७१ सम्म पूर्वी पाकिस्तानका रूपमा रहेको बंगलादेशमा पनि सत्तामा बसेकाहरूको नियति हत्या, जेल र निर्वासनमा टुंगिएको इतिहास छ।

बंगलादेशमा पहिलो र दोस्रो राष्ट्रपति शेख मुजिवुर रहमान र जिआउर रहमानको सैनिक ‘कू’ मा हत्या भएको थियो। तेस्रो राष्ट्रपति मोहम्मद इर्साद सत्ताबाट हटेपछि भ्रष्टाचार आरोपमा जेल परेका थिए। पछि उनी लामो समय निर्वासनमा बसे। वर्तमान प्रधानमन्त्री शेख सहिना वाजेदकी प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया अहिले पनि जेलमा छिन्।

त्यस्तै, श्रीलंकामा पूर्वराष्ट्रपति दाजुभाइ महिन्दा राजपक्षे र गोटावाय राजपक्षे दुवैले सत्ता गुमाएका छन्। तमिलहरूको आन्दोलन निर्ममतापूर्वक दबाएर उदाएको राजपक्षे परिवारलाई श्रीलंकाको आर्थिक संकटले सत्ताबाहिर पुर्‍यायो। आन्दोलन बढ्दै गएपछि गोटावाय राजपक्षे त केही समय मुलुक छाडेर निर्वासनमै जानुपर्‍यो।

अर्को दक्षिण एसियाली मुलुक मालदिभ्समा पनि सत्ता हस्तान्तरण सहज हुने गरेको छैन। पूर्वराष्ट्रपति मोहम्मद नसिदलाई बन्दुक तेर्स्याएर राजीनामा गर्न बाध्य पारिएको आरोप छ। अहिलेका भन्दा अघिल्ला राष्ट्रपति अब्दुल्ला यमिन भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा ११ वर्ष लामो जेल सजाय भोगिरहेका छन्।

नेपालमा पनि जननिर्वाचित प्रधानमन्त्रीहरू दुईपटक सत्ताच्यूत भएका छन् भने दुईपटक ‘सैनिक कू’ मार्फत राजाले सत्ता लिएका छन्। गणतन्त्र स्थापनापछि भने अहिलेसम्म शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुँदै आएको छ। यसबीच चारवटा निर्वाचन सम्पन्न भए, जसमा हार्ने दलहरूले यदाकदा धाँधली भएको आरोपसमेत लगाए। तर सबै दलले निर्वाचनको परिणाम स्वीकार गरेका छन्। यो नेपाली राजनीतिको ठूलो उपलब्धि हो।

यो उपलब्धि हासिल हुनुमा राजनीतिक दलका नेताहरूबीचको निरन्तर संवाद र मेलमिलापले ठूलो भूमिका खेलेको छ। चियापान र शुभकामना आदानप्रदानजस्ता आपसी भेटघाटका कार्यक्रमले राजनीतिक संवाद बढाउन सघाउ पुर्‍याउँछ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा दलहरूमाथि लगाइएको प्रतिबन्धबीच राजनीतिक छलफल गर्न असम्भव भएकाले बिपी कोइरालाले रणनीतिक रूपमा यस्तो कार्यक्रम आयोजना गरेको बताउँछन्।

उनका अनुसार २०३३ पुस १६ गते ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ लिँदै स्वदेश फर्किएका बिपी कोइराला नेपालमै बसेर अन्य दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र जनतालाई भेटेर राजनीतिक छलफल अघि बढाउन चाहन्थे। तर त्यति बेला दलहरूमाथिको प्रतिबन्ध हटेको थिएन। समूहमा भेटघाट गर्नु त टाढाको कुरा, बिपीसँग भेटेका मानिसको निगरानीसमेत हुन्थ्यो।

‘यसले बिपीलाई मानिसहरूसँग भेटघाट र कुराकानी गर्ने अवसर जुरेको थिएन। उहाँ राजनीतिक छलफल बढाउन उपयुक्त बाटो खोज्दै हुनुहुन्थ्यो,’ विश्वकर्माले भने, ‘त्यही क्रममा २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गरेर विभिन्न क्षेत्रका मानिस भेट्ने र कुराकानी गर्ने परम्परा थालनी गर्नुभयो।’

यसरी बिपीले रणनीतिक रूपमा सुरू गरेको चियापानलाई त्यसपछिका कांग्रेस सभापतिहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला हुँदै शेरबहादुर देउवाले पनि निरन्तरता दिँदै आएका छन्। यो कार्यक्रममा सबै दलका नेता, सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, पालिका तहसम्मका जनप्रतिनिधि, सामाजिक र व्यावसायिक संघ-संस्था, प्रहरी प्रमुखहरू, पत्रकार लगायतलाई बोलाउने गरिएको उनी बताउँछन्।

‘कांग्रेसमा चियापान परम्परा नै बनेको छ। बिस्तारै अरू दलहरूले यसको अनुसरण गरेका छन्, यो राम्रो अभ्यास हो,’ विश्वकर्माले भने, ‘परिवारमा दाजुभाइबीच बोलचाल छैन भने पनि दसैंमा टीका लगाउन गएर, आशीर्वाद लिएर मेलमिलापको वातावरण बन्छ। नागरिक, राजनीतिक दल र राज्यका विभिन्न अंगबीच पनि चियापानले सद्भाव विकासको काम गर्छ, तिक्ततालाई हार्दिकतामा परिणत गर्छ।’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल चाडपर्वको अवसरमा सामाजिक र सांस्कृतिक पक्ष जगेर्ना गर्न चियापान आयोजना गरिएको बताउँछन्।

‘एमालेले चियापान थालनी गर्दा जनआन्दोलन भर्खरै सफल भएको थियो। अध्यक्ष मनमोहन अधिकारीले पार्टीमा अभिभावकत्व प्रदान गर्न नेता र कार्यकर्ताहरूलाई निम्त्याएर चियापान गर्नुभयो,’ उनले भने।

राप्रपाले भने २०६५ पुस २७ बाट चियापान सुरू गरेको हो। त्यति बेला कमल थापा अध्यक्ष थिए। पृथ्वीनारायण शाहको योगदानको चर्चा र राष्ट्रिय एकताको सन्देश दिन चियापान सुरू गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्।

‘माओवादीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता होइनन् भन्ने खालको गतिविधि गर्‍यो, बहस गर्न थाल्यो। राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको सम्मान गरिनुपर्छ भनेर हामीले सबै दल, कूटनीतिक नियोग लगायतलाई निम्त्याएर चियापान सुरू गरेका हौं,’ उनले भने।

२०७८ मंसिरको महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष चुनिएका थिए। त्यो वर्ष पुस २७ मा राप्रपाले चियापान गरेन। फरक ढंगबाट पृथ्वी जयन्ती मनाउने भन्दै र्‍यालीसहित सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको थियो।

‘त्यसपछिका वर्ष भने निरन्तर रूपमा चियापान गर्दै आएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो कार्यक्रमले वर्षको एकचोटि भए पनि सबै दलका नेता एकै ठाउँ भेटेर कुराकानी गर्ने परम्पराको विकास भएको छ।’

रास्वपा सभापति रवि लामिछाने पनि यस्तो कार्यक्रमले दलहरूबीच सद्भाव र हार्दिकता बढाउने बताउँछन्।

‘यसले दलहरूबीचको तिक्तता मेटाउँछ जस्तो मलाई लाग्दैन। तिक्तता मेटाउन चाहिँ एजेन्डा नै तोकेर छलफल गर्नुपर्छ,’ उनले भने, ‘तर यसरी भेटघाट गरेर संवाद गर्दा सद्भाव र हार्दिकता भने बढ्छ।’

दलहरूले २०७२ को भुइँचालो र बाढीपहिरोजस्ता प्राकृतिक विपद् परेका बेला, कोरोना महामारी र कुनै शीर्ष नेताको निधन भएको वर्ष चियापान गर्दैनन्।  सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *