यस कारण …बन्यो नराम्रो भनिएको स्कुल, नमूना शिक्षालय

0 minutes, 1 second Read
Spread the love

नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ ।

महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका छन् ।

विद्यार्थीको प्रस्तुति र आत्मविश्वास अन्य विद्यालयका विद्यार्थीलाई समेत प्रेरित गर्ने खालको हुन थालेको छ ।विद्यालयको प्रस्तुतिमा यो तहको परिवर्तन आउन वर्षदिन पनि लागेको छैन ।

शितला माविले विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्न थालेपछि यति छोटो समयमा प्रभावकारी परिवर्तन देखिएको महानगरपालिकाका शिक्षा अधिकृत सीताराम कोइराला बताउँछन् । भन्छन्, ‘सही व्यक्ति सही ठाउँमा पुग्दाको नतिजा हो, यो ।’

कोइरालाको भनाइ अनुसार विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठको काम गर्ने शैलीका कारण एक वर्ष नपुग्दै महानगरको टप विद्यालयलाई चुनौती दिन थालेको छ ।शितला माध्यमिक विद्यालयले प्रधानाध्यापकको रूपमा लक्ष्मण श्रेष्ठ पाएपछि प्रगतिको बाटो समाएको हो ।

२०७९ भदौमा महानगरले शिक्षक दरबन्दी मिलान गर्ने क्रममा वडा नम्बर ३२ मा रहेको कोटेश्वर सरस्वती माविमा अंग्रेजी विषय शिक्षक रहेका श्रेष्ठलाई शितला माविमा सरुवा गरेको थियो ।सरुवा भएको करिब ६ महिनापछि श्रेष्ठले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी पाएपछि उनले विद्यालय सुधारका लागि सबैभन्दा पहिला शिक्षक तयार गर्न थाले । आवश्यक तालिमको व्यवस्था गरे । विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षकलाई तालिम दिने, प्रशिक्षण दिने, शिक्षा सुधार योजना बनाउने लगायत गर्न थाले ।

महानगरले प्रक्रिया पुर्‍याएर श्रेष्ठलाई ३० वैशाखमा प्रधानाध्यापकनियुक्त गर्‍यो । प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको करिब ८ महिनाभित्र उनले देखाएको परिवर्तनले अभिभावक, विद्यार्थी र स्वयं शिक्षकमा उत्साह थपिएको छ ।श्रेष्ठ भन्छन्, ‘मैले मेरो र शिक्षक, कर्मचारी साथीहरूले पनि आफ्नो जिम्मेवारी निभाउने वातावरण मात्रै बनाएको हुँ ।’

विद्यालयले विद्यार्थीकेन्द्रित रहेर योजना बनाउने र त्यसमा विद्यार्थीको सहभागिता बढाउने प्रयास गर्ने हो भने विद्यालयको वातावरण आफैं राम्रो हुने उनको तर्क छ । प्रधानाध्यापक श्रेष्ठ विद्यार्थीकेन्द्रित योजना बनाउने कोसिस गरेकैले सकारात्मक प्रभाव देखिएको बताउँछन् ।

शिक्षकलाई तालिम र नेतृत्व

शितला माविले कक्षा प्रविधिमैत्री बनाएको छ । प्रविधिमैत्री कक्षा बनाउनको लागि १४ चैत २०७९ मा विद्यार्थीको अन्तिम परीक्षा सकिएपछि हुने बिदामा विद्यालयका शिक्षकहरूलाई एक हप्ता तालिम दिइएको थियो ।श्रेष्ठको भनाइ अनुसार शिक्षकको कम्प्युटर सम्बन्धी ज्ञान अनुसार तालिम दिइएको थियो ।

कम्प्युटर कसरी चलाउनेदेखि लिएर पावर पोइन्ट बनाउन, गुगलमा भएका सामग्रीलाई कसरी प्रयोगमा ल्याउने, शैक्षिक स्रोत खोज्ने, भएका सामग्रीलाई डाउनलोड गरेर प्रयोग गर्ने, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टल प्रयोग गर्ने तरिका लगायतको तालिम दिइएको थियो ।

विद्यालयमा शिक्षकमध्येबाटै आईटी हेड, तहगत इन्चार्जहरू तोकिएका छन् । यसले कार्य विभाजन मात्रै नभएर जिम्मेवार शिक्षक र नेतृत्वको विकास गरेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

महानगरपालिकाले हरेक विद्यालयको वेबसाइट बनाइदिएको छ । शितला माविले उक्त वेबसाइटको भरपूर उपयोग गरिरहेको छ । उसले विद्यालयका हरेक गतिविधि बेवसाइटमा अपलोड गर्ने गरेको छ । शिक्षकमध्ये आईटी प्रमुख र प्रधानाध्यापकले साइट अपडेट गर्ने काम गरिरहेका छन् ।

यस्तै अभिभावक, विद्यार्थी, शुभेच्छुकहरूले साइटमा राखिएको गुगल फारम मार्फत सुझाव, गुनासो, सल्लाह दिन सक्नेछन् । साइटमा भएको इमेल मार्फत, प्रधानाध्यापकको मोबाइलमा अथवा विद्यालयको फेसबुक पेजबाट पनि सुझाव अथवा गुनासो राख्न सकिने व्यवस्था मिलाइएको छ । सुझाव र गुनासो भने प्रधानाध्यापकले मात्रै हेर्न मिल्ने बनाइएको छ ।

शिक्षा सुधार योजना र विद्यार्थीको सहभागिता

बालबालिकाको शिक्षण सुधारको लागि टीएलपी (टिचिङ लर्निङ इम्प्रुभमेन्ट प्लान) विधि अपनाएको छ । विद्यालयको हरेक शिक्षकले वर्षको दुई पटक शिक्षा सुधार योजना अनिवार्य बनाउनुपर्नेछ । त्यसमा शिक्षकले मैले कसरी पढाएँ, मलाई कहाँ समस्या छ सहितको योजना बनाउनुपर्छ ।

यस्तै सुधार गर्नको लागि विद्यालयको के सहयोग हुन्छ, अब म कसरी पढाउँछु र कुन शिक्षण विधि मार्फत पढाउँछु सहितको योजना हुनुपर्छ । महानगरको शैक्षिक क्यालेन्डरको आधारमा विद्यालयले तयार पारेको शैक्षिक क्यालेन्डर अनुसार शिक्षकले पठनपाठन गराउनुपर्ने व्यवस्था गरिएको छ ।

विद्यालयले ‘नो प्लान, नो क्लास’ को अवधारणा लिएको छ । त्यसको अर्थ कुनै पनि शिक्षकले शैक्षिक सामग्री र पाठयोजना विना कक्षामा प्रवेश गर्न पाउँदैनन् । शिक्षकले कक्षामा प्रवेश गर्नुअघि आज बालबालिकालाई के पढाउने अथवा के सिकाउने भन्ने पाठयोजना बनाउनुपर्नेछ ।

विद्यालयले ‘बुक फ्री  फ्राइडे’ लाई प्रयोगात्मक रूपमा भरपूर प्रयोग गरिरहेको छ । बुक फ्री फ्राइडेमा कुन कक्षामा कुन शिक्षकले के गराउने भन्ने जानकारी बिहीबार नै प्रधानाध्यापकलाई दिनुपर्ने हुन्छ । सामान्यतः आइतबारदेखि बिहीबारसम्म पढाइ भएको विषय जोडेर प्रयोगात्मक रूपमा कार्य गराउने र विद्यार्थीको रुचि अनुसारको कार्यक्रमहरू शुक्रबार हुने गरेको छ ।

त्यसबाहेक दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीपहरू सिकाउने गरेको छ । ‘शिक्षामा सीप’ भन्ने महानगरको कार्यक्रम अन्तर्गत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विद्यालयले शिक्षक विद्यार्थी बीचको सहकार्य र अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउँदै लगेको छ ।

कुनै पनि तहको एउटा पनि कक्षा खाली हुँदैन । कुन कक्षाको कुन विषय शिक्षक विदामा छन् त्यो ठाउँमा त्यही विषय शिक्षक नमिले पनि त्यही तहको शिक्षक कोठामा उपस्थित हुने व्यवस्था विद्यालयले मिलाएको छ ।

तीन तहको बालविकास कक्षा

शितला माविले प्रारम्भिक बालविकास कक्षा मात्रै तीन तहमा चलाएको छ । ईसीडी क, ख र गमा गरेर ८० बढी विद्यार्थी छन् । बालविकास भवन नै छुट्टै बनाएर चलाइएको छ । विद्यालय नजिकै रहेको पर्ती जग्गामा चारकोठे भवन बनाएर राखिएको छ । ईसीडीको लागि ५ जना शिक्षक, एक जना नर्स र एक जना सफाइ कर्मचारीको व्यवस्था गरिएको छ ।

श्रेष्ठ भन्छन्, ‘हामीले निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर विद्यार्थी अभिभावकको विश्वास जित्न पनि यसरी काम गरिरहेका हौं ।’ शितला माविले बालविकास कक्षामा कम पठनपाठन बढी व्यवहारगत कुरा सिकाउने गरेको छ । यसमा बालबालिकालाई आफूभन्दा ठूलासँग अथवा सानासँग कसरी बोल्ने, सर्टको बटन लगाउने, खोल्ने, जुत्ता लगाउने खोल्ने, व्यक्तिगत सरसफाइका कुरा पनि सिकाइन्छ ।

प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ भन्छन्, ‘महानगरभित्रको उत्कृष्ट बालविकास कक्षामध्ये हामी पर्छौं भन्ने मेरो दाबी हो । सुविधाको हिसाबले, प्ले स्टेशन, स्वस्थ खाजा, सरसफाइ हरेक हिसाबले ।’ महानगरपालिकाले थप सहयोग गरे आफूहरूले अझै राम्रो गर्ने उनको भनाइ छ ।

प्रत्येक विद्यार्थीको ‘पोर्टफोलियो’

विद्यालयले अहिले प्रारम्भिक बालकक्षादेखि १० सम्मका विद्यार्थीको ‘पोर्टफोलियो’ बनाएको छ । त्यसमा विद्यार्थीको पारिवारिक, आर्थिक, शारीरिक, स्वास्थ्य अवस्थाको विवरण राख्ने गरिएको छ । त्यसको लागि विद्यालयले बनाएको रिपोर्ट कार्डमा शिक्षकले विवरण भर्नुपर्ने हुन्छ । यसबाट शिक्षकलाई आफ्नो विद्यार्थी चिन्न, जान्न, बुझ्न सघाउपुर्‍याएको प्रधानाध्यापक श्रेष्ठको दाबी छ । यसबाट बालबालिकाको सामान्य दिनचर्या अर्थात् सुत्ने, उठ्ने समयको अवस्था पनि थाहा हुन्छ ।

प्रधानाध्यापक श्रेष्ठ शिक्षक तथा कर्मचारीको सुझाव अनुसार विद्यार्थीको ‘पोर्टफोलियो’ बनाएको बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूको सुझाव कार्यान्वयन गरिएको छ र यसको प्रभाव अत्यन्तै लाभदायक बनेको छ ।’ यसले विद्यार्थीलाई बानी, व्यवहार सुधार गर्न सुझाव दिन शिक्षकलाई सजिलो बनाएको छ भने शिक्षक आफूले गर्नुपर्ने व्यवहार परिवर्तनका लागि पनि सहज भएको छ ।

त्यसैगरी विद्यालयले पछिल्लो समय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम -वि.स्वा.पो.का.) सुरु गरेको छ । त्यसमा वर्षको दुई चोटि विद्यार्थीको उचाइ नाप्ने, वजन जोख्ने, बच्चाको दृष्टि क्षमताको सामान्य जाँच गर्ने, जुकाको औषधि खुवाउने, छात्राहरू -महिनावारी हुने उमेर समूहका) लाई आइरन चक्की खुवाउने गरिएको छ ।

हरेक महिना मनोसामाजिक परामर्श

हरेक महिना एउटा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुन्छ । विद्यार्थीको पढाइ-लेखाइ, बानी-व्यवहार सुधार्न प्रेरित गर्न, विद्यार्थीले भोगिरहेको सामान्य खालको समस्या समाधान गर्न शिक्षकहरूले सहयोग गर्छन् ।

परामर्शको लागि एक निजी संस्थाको सहयोगमा दुई जना शिक्षक  (महिला र पुरुष) लाई तालिम दिइएको छ । सामान्य खालको परामर्श दिनुपरे ती शिक्षकहरूले दिने गर्छन् भने जोखिममा परेका बालबालिकाको लागि संस्थाको सहयोगमा विशेष मनोसामाजिक परामर्शकर्ताले परामर्श दिने गरिएको छ ।

पारिवारिक समस्याका कारण जोखिम अवस्थामा रहेका बालबालिका पहिचान गरेर पनि मनोसामाजिक परामर्श दिने गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए । उनी भन्छन्, ‘हामीले विद्यार्थीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम नगरेसम्म कुनैपनि प्रयास सफल हुन सक्दैनभन्ने बुझेका छौं । र त्यसरी नै काम गरिरहेका छौं । त्यसको प्रभाव पनि एकदमै सकारात्मक देखिइरहेको छ ।’ बालबालिकामा देखिएको सकारात्मक परिवर्तनले शिक्षकलाई थप मिहिनेत गर्न प्रेरित गरेको अनुभवश्रेष्ठको छ ।

विद्यालयले बालबालिका एकले अर्कोलाई सहयोग गर्ने, ख्याल गर्ने वातावरण बनाउने कोसिस गरिरहेको छ । शिक्षकहरू हरेक समय विद्यार्थीको निगरानी गरिरहेका हुन्छन् । त्यसको लागि दिउँसो ब्रेक समयमा (हरेक दुई घण्टीपछि, र खाजा ब्रेक समयमा) कुन तलामा को बसेर हेर्ने भन्ने ‘ग्राउन्ड ड्युटी’ छुट्याइएको हुन्छ । विद्यालयले तोकेको लैंगिक फोकल पर्सनसँग विद्यार्थीले आफ्ना समस्या राख्न सक्छन् ।

विद्यार्थी उपलब्धि अभिवृद्धि योजना

शितला माविले ‘विद्यार्थी उपलब्धि अभिवृद्धि योजना’ लागू गरेको छ । विद्यालयले परीक्षाको नतिजा प्रकाशन गरेपछि विद्यार्थी र अभिभावकलाई नतिजासँगै फारम पठाउँछ । त्यसमा विद्यार्थी र अभिभावक बस्छन् र अब आउने परीक्षामा विद्यार्थीले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

फारममा नतिजा अनुसार कमजोर विषयमा कति प्रगति गर्छु, अथवा अहिलेको भन्दा दिनचर्या सुधार गर्ने, गृहकार्य गर्ने, नियमित विद्यालय आउने, कस्तो भिडियो हेर्छु अथवा हेर्दिनँ भन्ने लगायत योजना बनाएर लेख्नुपर्ने हुन्छ ।

यस्तै विद्यार्थीले आफ्नो सुधार गर्नुपर्ने कमजोरी के हो र सुधार गर्नयो काम गर्छु भनेर योजनासहित लक्ष्य निर्धारण गरेर प्रतिबद्धता गर्नुपर्ने हुन्छ । विद्यार्थीले प्रतिबद्धता गरेको योजनामा अभिभावक र विद्यार्थी दुवैको हस्ताक्षर हुनुपर्छ ।

अर्को परीक्षाको नतिजा आउँदा अघिल्लो पटक विद्यार्थीले गरेको प्रतिबद्धता अनुसार प्रगति भयो-भएन विद्यालयले तुलना गर्छ । विद्यार्थीले प्रतिबद्धता गरे अनुसार सुधार हुन नसकेको कुरामा विषयगत शिक्षकले अभिभावक र विद्यार्थीसँगै राखेर कहाँनेर अभिभावकको सहयोग पुगेन, कहाँनिर शिक्षकको सहयोग पुगेन अब शिक्षकले कस्तो सहयोग गर्नुपर्छ भनेर सोधिन्छ ।

त्यो अनुसार शिक्षक तथा अभिभावकले विद्यार्थीलाई सहयोग गर्नुपर्ने हुन्छ । यसले विद्यार्थीलाई मात्रै नभएर शिक्षक तथा अभिभावकलाई जिम्मेवार र जवाफदेही बनाउने प्रधानाध्यापकको तर्क छ । त्यसको लागि विद्यालयले यो वर्ष विद्यार्थीलाई फारम भराएको छ ।

प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘विद्यार्थीलाई गाली गरेर, थर्काएर हुँदैन । उनीहरूलाई आफैंले आफ्नो कमजोर पक्ष, बलियो पक्ष पहिचान गरेर त्यही अनुसार सुधार गर्न प्रयास गर्न प्रेरित गर्नुपर्छ भनेर हामीले यो उपाय अपनाएका हौं ।’

शितला माविले सबैको समान क्षमता हुँदैन, नजानेको साथीलाई जानेकाले सिकाउने, नजानेको कुरा सोध्न पछि पर्नुहुँदैन अथवा नजानेकै कारण लजाउनुपर्दैन, बाझेर भन्दा तर्क राखेर आफ्नो कुरा राख्नुपर्छ भनेर सिकाउँछ ।

त्यसैले यहाँका विद्यार्थी अहिले आफ्नो कुरा निर्धक्क राख्न सक्छन् । महानगरले आयोजना गर्ने सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप कार्यक्रमहरूमा सबैभन्दा बढी सहभागिता जनाउने शितला मावि हो ।

चित्रकला, वतृत्वकला जस्ता कार्यक्रममा यहाँका विद्यार्थीले पुरस्कार समेत जितेका छन् । विद्यालयमा ईको क्लब, स्काउट, जुरेस, डिबेट क्लब, कोड क्लब, ट्राफिक क्लब लगायत ११ वटा क्लब छन् । उनीहरू क्लब अनुसारको गतिविधिमा संलग्न हुन्छन् ।

विद्यार्थीलाई दिइने छात्रवृत्तिको लागि अभिभावकले लिखित निवेदनमा कारण सहित उल्लेख गर्नुपर्छ ।विद्यालयले विद्यार्थीको आवश्यकता अनुसार छात्रवृत्ति दिनुको साथै आवश्यकता अनुसार दाता संघ-संस्थासँग जोड्ने प्रयास गर्ने गरेको छ ।

विद्यालयमा हुने हरेक आर्थिक कारोबार पारदर्शी हुन्छ । विद्यार्थीले तिरेको पीएमटी (प्रोभिजनल, माइग्रेसन, ट्रान्सक्रिप्ट) शुल्क अथवा अन्य शुल्क बैंकिङ प्रणालीमा जोडिएको छ । विद्यालयको आर्थिक तथा शैक्षिक सुशासन कायम गर्ने कोसिस गरिरहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

सात सय बढी विद्यार्थी र ४० जना शिक्षक कर्मचारी रहेको विद्यालयको पछिल्ला उपलब्धिहरूले शिक्षक, कर्मचारी, अभिभावक सबैमा उत्साह थपिएको छ । अभिभावकको सहभागिता बढ्दो छ । उनी भन्छन्, ‘जिम्मेवारीको हिसाबले पनि तुलनात्मक रूपमा मैले दोब्बर मिहिनेत गर्नैपर्छ तर अहिलेको स्थानमा पुग्नका लागि शिक्षक, कर्मचारीको मिहिनेत र लगन जोडिएको छ ।’

नेतृत्व र शिक्षकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे शिक्षा सुधार गर्न गाह्रो नहुने बताउँदै श्रेष्ठ भन्छन्, ‘गरे हुने रहेछ, हाम्रोमा हराएको स्कुल भेटियो भने जस्तो अवस्था भएको छ ।’ अनलाईनखबरबाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *