श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौँ। मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा श्री पशुपति कोटिहोम महायज्ञको समुद्घाटन आज मंगलबार हुन लागेको छ। फाउन्डेसनका अनुसार समुद्घाटन कार्यक्रम पशुपति क्षेत्रको वनकालीमा आज १२ बजे हुन गईरहेको हो।

 

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको विराट महायज्ञ आगामी साउन ३२ गतेसम्म सञ्चालन हुनेछ। मानवसेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञले ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर अनाथालय आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणमा सहयोग पुर्याउनेछ।

 

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, कथा वाचिका राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र देवी प्रतिभालगायतले कथावाचन गर्नेछन्। एक महिने यस महायज्ञमा १०८ पण्डितद्वारा विभिन्न पुराणको पाठ, नियमित हवन, ५१०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल पर्वत निर्माण लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

 

मानवसेवा फाउण्डेशनले यसअघि पनि मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्याइसकेको छ। मामाघर आश्रमले ७५ जना अनाथ बालबालिकालाई निःशुल्क रूपमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ। छोरीको घर ज्येष्ठ नागरिक आश्रमले करिब २० जना बेसहारा आमाबुबालाई आश्रय दिइरहेको छ। हाल दुवै आश्रम भाडाको घरमा सञ्चालन भइरहेका छन्।

 

महायज्ञको दौरानमा सयौं गुरुहरू, कलाकारहरू र अतिथिहरूको भोजन प्रसाद सुमार्गी भवन क्षेत्रमा गरिनेछ। सुमार्गी भवन बाहिर राष्ट्रिय भजन प्रतियोगिता, भक्तालुहरूको लागि प्रसाद, र रक्तदानको कार्यक्रम पनि आयोजना गरिनेछ। साथै, एक करोड पार्थिव शिव लिंग निर्माण र एक करोड बेलपत्र दुरा शिव पूजा, बागमती किनारमा २१ करोड दीप प्रज्ज्वलन पनि गरिनेछ।

 

महायज्ञको पूर्वसन्ध्यामा विभिन्न र्‍यालीहरू आयोजना सम्पन्न भएका छन्। असार २२ गते बाइक र्‍याली, असार २४ गते ट्याक्सी र्‍याली, असार २६ गते रिक्सा र्‍याली, असार २७–२९ गते चक्रपथ पैदल यात्रा, असार ३० गते साइकल र्‍याली, र असार ३१ गते विशाल शोभा कलश यात्रा सम्पन्न भएको छ।

 

महायज्ञमा गुरुहरू, कलाकारहरू, अतिथिहरू, र भक्तजनहरूलाई पाशुपति आसपासका धर्मशालाहरूमा बस्ने व्यवस्था गरिएको छ।

 

यस महायज्ञबाट हजारौं भविष्यका कर्णधार बालबालिका र ज्येष्ठ नागरिक आमाबुबाले राम्रो स्याहार, सत्कार, र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।