काठमाडौँ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवर्द्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको हो ।
खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण गर्न दोस्रो संस्करणमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको जानकारी दिएको हो ।
संगीत प्रवर्द्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।
अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा हुने जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि खुला आवेदन अब १५ दिनसम्म मात्र रहने छ । यसका लागी अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी १५ दिन भित्र फारम भरिसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।
आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकाश तथा पर्यटन प्रवर्द्धनमा खर्च गरिने आयोजकले बताएको छ ।