असोज ३
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारहरू तय गरेको छ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली टुंगो लगाएको हो।
जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा अन्तरगतको चालिस प्रतिशतले हुने समानुपातिकतर्फ हुने उम्मेदवारहरूको नामावली प्रस्ताव गरी पारित गरिएको छ। ११० जनाको नाम प्रस्ताव हुँदा खेरी आदिवासी, जनजातितर्फ ३२ जना, खस आर्यतर्फ ३४ जना, त्यस्तै थारूतर्फ ७ जना, दलिततर्फ १५ जना, मधेशीतर्फ १७ जना, मुस्लिमतर्फ ५ जना र महिला ५७ जना हुने गरेर ११० समानुपातिकतर्फका उम्मेदवारहरुको नाम तय गरेको छौँ हामीले।ु
बैठकले प्रदेश नम्बर १ का लागि २० जना महिला नकट्ने गरी ३७ जनाको नाम लिष्ट तयार गरेको छ। त्यस्तै मधेश प्रदेशका लागि २३ जना महिला नघट्ने गरी ४३ जनाको नामावली तयार भएको र बागमती प्रदेशको लागि आदिवासी जनजातिहरूको २३ जना र खस आर्यतर्फ १६ जना, थारूतर्फ १ जना, दलिततर्फ ३ जना, मधेशीतर्फ १ जना महिला रहेका बताइएको छ।
त्यस्तै गण्डकी प्रदेशका लागि आदिवासी, जनजातितर्फ २३ जना, खस आर्यतर्फ ९ जना र दलिततर्फ ४ जनाको नामावली तयार भएको छ। त्यसमा महिला १३ जना रहने व्यवस्था गरिएको छ।
लुम्बिनी प्रदेशको लागि आदिवासी, जनजाति तर्फबाट ७ जना, खस आर्यतर्फ १७ जना, थारूतर्फ ५ जना, मधेशीमा ५ जना र मुस्लिममा ३ जना गरी महिला २० जना नघट्ने गरेर ३५ जनामा तीन जना अल्पसंख्यकसहित रहनेगरी नामावली तयार गरिएको छ।
त्यस्तै गरेर कर्णाली प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला खसआर्यको तर्फबाट १० जना, दलिततर्फ ४ जना, यसमा १६ जना मध्ये ५ जना पिछडिएको क्षेत्रसमेत रहने गरेर बढीमा महिला ८ जना गरेर लिष्ट तयार गरिएको छ।
सुदूरपश्चिम प्रदेशका लागि आदिवासी जनजातिको १ जना महिला, खस आर्य तर्फबाट ६ जना महिला, ६ जना पुरुष, थारुतर्फ २ जना पुरुष २ जना महिला र दलिततर्फ २ जना महिला र २ जना पुरुष साथै मधेशी १ जना महिला र मुस्लिम १ जना महिला गरेर २१ जनामा ३ जना पिछडिएको क्षेत्रसहित महिला ११ जना गरी प्रदेशसभाका लागि २२० जनाको नाम लिष्ट तयार गरेको प्रमुख गुरुङले जनाए।












