भदौ १७

सुर्खेत, मुगु र जुम्ला — घरमा खाने अन्न नभएपछि एक साताअघि मुगुको मुगमकार्मारोङ स्थित पुलुका ग्याम्पाछिरिङ लामा झन्डै एक दिन हिँडेर छाइल बजार आई चामल लिएर गए । उनको गाउँ पुलुमै खाद्य डिपो छ । ‘गाउँमा डिपो भएर के गर्नु रु चाहिएका बेला कहिल्यै चामल हुँदैन, यसअघिको अन्न खाइसकियो, नयाँ खाद्यान्न पाकेकै छैन,’ उनले भने, ‘डिपोमा वर्षायाममा कहिल्यै चामल हुँदैन, चाहिएका बेला चामल नपाइए डिपो भएको के काम ,

चामल सकिएपछि सुनसान बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जुम्लास्थित शाखा कार्यालय । जुम्लाको चन्दननाथ नगरपालिकास्थित उर्थुका सलिमान बुढा गत आइतबार चामल ल्याउन खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय पुगे । तर त्यहाँ चामल छैन भनेपछि उनले बजारबाट ८० रुपैयाँ प्रतिकिलो मोटा चामल किनेर लिएर गए । कम्पनीले भने प्रतिकिलो ५१ रुपैयाँमा मोटा चामल बिक्री गर्ने गरेको छ । ‘चाडपर्व आइसकेका छन्, खाद्यमा भए सस्तो हुन्थ्यो,’ उनले भने, ‘ढुवानी अनुदानको चामल नपाइँदा हामी गरिबलाई बिहान–बेलुकाको छाक टार्न पनि ऋण लिनुपर्ने बाध्यता छ ।’

 

खाद्यान्न मौज्दात न्यून भएपछि कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला र मुगुका सबै डिपोमा चामल वितरण बन्द छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै चामल ढुवानी नगर्दा अहिले हुम्लाको सिमकोटमा १५ सय, मुगुमा ५ सय र जुम्लामा २ सय ७५ क्विन्टल मात्र चामल छ, जो यहाँ चाहिनेभन्दा ज्यादै न्यून हो । हुम्लामा चामल वितरण गर्न कम्तीमा २ हजार २ सय क्विन्टल चामल हुनु अनिवार्य छ । बितेका ३ आर्थिक वर्षमा कर्णालीका हिमाली जिल्लामा कम्पनीले साउनदेखि मंसिरसम्म कहिल्यै चामल पठाएको छैन । पठाए पनि सदरमुकाममा मात्र सीमित हुँदा दुर्गमका बासिन्दा वर्षौंदेखि खाद्यान्न अभाव भोग्न बाध्य छन् ।

‘हामीलाई चामल चाहिने भनेकै बर्खा र हिमपात सुरु हुनुअघि हो,’ डोल्पाको शे फोक्सुन्डो–३ का जवाहन लामाले भने, ‘तर त्यो बेला कहिल्यै चामल हुँदैन, चैतदेखि जेठसम्म ३ महिना हाम्रै उत्पादनले पनि खान पुग्छ ।’ ५ वर्षयता दसैं–तिहारमा पनि फोक्सुन्डोका बासिन्दाले चामल पाएका छैनन् । अनुदानको चामल गाउँमा नआउँदा स्थानीय प्रतिक्विन्टल १२ हजारदेखि २० हजार रुपैयाँसम्म रकम खर्च गरेर चामल किनेर खान बाध्य भएको लामाले जनाए । गत वर्ष माथिल्लो डोल्पाका डिपोमा कम्पनीले मंसिर १७ पछि मात्रै चामल पठाएको थियो ।

शे–फोक्सुन्डो डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो । गाउँपालिकामा झन्डै ४७ सय जनाको बसोबास छ, जहाँ चीनको बाटो भएर चामल ढुवानी हुन्छ । ‘चीनले कोरोनाको कारण देखाउँदै ३ वर्षदेखि चामल ढुवानी गर्न दिएको छैन,’ गाउँपालिका अध्यक्ष धावासुन्दुक गुरुङले भने, ‘हाम्रा जनताले चाडबाडमा पनि पेटभरि चामल खान पाउँदैनन् ।’ ५ हजार क्विन्टल चामल माग गरिए पनि गत वर्ष कम्पनीले १ हजार ७ सय ६७ क्विन्टल मात्र पठाएको उनको भनाइ छ । यस वर्ष पनि ५ हजार क्विन्टल चामल माग गरिएकामा कति चामल आउने हो, केही थाहा नभएको उनको गुनासो छ ।

 

मुगुको सोरु गाउँपालिकामा पनि खाद्यान्न अभाव भइरहन्छ । उत्पादनले ३ महिना पनि नधान्ने भएपछि स्थानीय खाद्य र बजारको चामलमा निर्भर छन् । गत वर्ष कम्पनीले पुस १६ मा पहिलो चरणमा ९० क्विन्टल चामल पठाएको थियो भने श्रीकोटमा कात्तिक २४ मा १ सय ७० क्विन्टल चामल पुगेको थियो । ‘खाद्य डिपो नाम मात्रैको छ, ठेकेदारले चामल ल्याएर १र२ दिनमै बिक्री गरी फर्कन्छन्,’ स्थानीय पहलभान शाही भन्छन्, ‘हामीले कहिल्यै पेटभरि खान नपाउने भयौं ।’ धेरैजसो गाउँमा खाद्यान्न अभाव भएपछि स्थानीयले सरसापटी गरेर जोहो गरिरहेको उनको भनाइ छ ।

कालीकोटमा पनि खाद्यान्न समस्या उस्तै छ । अहिले कालीकोटस्थित कम्पनीको शाखा कार्यालयमा १ हजार ६१ क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिने भन्दै डिपोका कर्मचारीले खाद्यान्न दिन आनाकानी गरिरहेको स्थानीयको गुनासो छ । ‘गाउँमा त झन् अनुदानको चामल कहिल्यै आउँदैन,’ पलाता गाउँपालिका–२ लार्फका ६१ वर्षीय मयालाल विकले भने, ‘खाद्यमा ५० रुपैयाँ प्रतिकिलो पाइने चामल बजारमा ८० रुपैयाँमा किनेर खान बाध्य छौं ।’ पलाता र पचालझरना गाउँपालिकाका लागि थिर्पुमा डिपो स्थापना गरिएको छ  । तर त्यहाँ अहिले चामलको मौज्दात शून्य छ ।

अहिले डोल्पामा झन्डै ११ सय क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा पनि ८ हजार २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कम्पनीका प्रादेशिक प्रमुख माधव मिश्रले बताए । कोटा स्वीकृति र टेन्डर प्रक्रियामा ढिलाइका कारण अहिले कर्णालीका हिमाली जिल्लाका खाद्य गोदाम रित्तिएका हुन् । ‘गत वर्षको सबै चामल सकियो, यो वर्ष ठेक्का प्रक्रियामै ढिलाइ भयो, अरू जिल्लाभन्दा जुम्ला, मुगु र हुम्लामा बढी समस्या देखियो,’ उनले भने, ‘अहिलेसम्म कर्णालीभरि कसैको ठेक्का स्वीकृत भएको छैन, टेन्डर भने आह्वान गरिसकेका छौं, ठेक्का आशयको सूचना १र२ दिनभित्रै निकाल्छौं ।’

ठेक्का आशयबारे १५ दिनभित्र उजुरी नपरे लगत्तै खाद्यान्न ढुवानीको प्रक्रिया सुरु हुने उनको भनाइ छ । दसैंअघि नै सबै जिल्लामा पर्याप्त चामल पुर्‍याउने गरी कम्पनीले गृहकार्य थालेको उनले बताए ।

मुगुमा खाद्यान्न ढुवानीमा भएको ढिलासुस्तीले दसैंतिहारमा पनि अभाव हुने देखिएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको करिब १६ हजार क्विन्टल खाद्यान्न साउनमै बिक्रीवितरण भइसकेको र चालु वर्षको नयाँ कोटा नै स्वीकृत नहुँदा दसैंअघि खाद्यान्न ढुवानी हुने सम्भावना न्यून देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

साउनमै कम्पनीले ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भए पनि भदौ पहिलो साता मात्र कम्पनीले टेन्डर प्रक्रिया सुरु गरेको थियो । दसैंमा खाद्यान्न अभाव नहोस् भनेर छिटो ठेक्का स्वीकृत गरी चामल ढुवानीको व्यवस्था मिलाउन पहल भइरहेको कम्पनीको मुगु शाखाका सूचना अधिकारी पुष्कर भामको भनाइ छ । ‘हामीले त प्रयास गरिरहेकै छौं तर वर्षाका कारण भत्किएको सडक मर्मत नभए दसैंअघि सडक मार्गबाट चामल ल्याउन भने समस्या हुन्छ,’ उनले भने, ‘जिल्लामा दसैंमा खाद्यान्न अभाव हुन नदिन सबै पक्षको सहकार्य जरुरी छ ।’

कम्पनीले शाखा कार्यालयको गोदाममा चामल नभएपछि भदौ १ देखि बिक्री बन्द गरेको थियो । कम्पनीको खाद्य गोदाममा चामल नभएपछि स्थानीय २५ किलोको प्रतिबोरा २ हजारदेखि २ हजार ५ सय रुपैयाँमा चामल किनेर उपभोग गर्न बाध्य भएको स्थानीय अगुवा रूपबहादुर मल्लले बताए ।

खाद्यमा २५ किलोको प्रतिबोरा चामल १५ सय रुपैयाँमै पाइने गरेको थियो ।

कैदीबन्दीका लागि मौज्दात राखियो चामल

जुम्लामा भने कारागारका कैदीबन्दीका लागि र आपत्कालीन अवस्थाका लागि चामल मौज्दात राखिएको छ । जुम्लास्थित खाद्यको गोदाममा अहिले १ सय ६८ क्विन्टल मात्र अरुवा मध्यम चामल छ । यो चामल सर्वसाधारणले किन्न सक्ने अवस्थाको हो । बास्मती चामल पनि ९० क्विन्टल मात्र मौज्दात छ । तर बास्मती चामल २० किलोकै बोराको २ हजार ३ सय रुपैयाँ मूल्य पर्छ ।

चामल लिन प्रतिदिन ४० जनासम्म सर्वसाधारण आउने गरेको कम्पनीको जुम्ला शाखा प्रमुख निर्मल विष्टले जनाए । ‘लैजाने भए बास्मती चामल छ, लैजानुस् भन्छौं,’ उनले भने, ‘तर महँगो भएकाले कसैले लिन मान्दैनन्, रित्तो हात फर्किएर जान्छन् ।’ जुम्लामा चामलको वार्षिक कोटा ६ हजार क्विन्टल हो । त्यसमध्ये १३ सय क्विन्टल डोल्पाका डिपोमा पठाइन्छ । बचेको ४ हजार ७ सय क्विन्टल चामलले ७ देखि ८ महिना धान्ने गरेको विष्टले बताए ।

‘चामल अपुग हुँदा हरेक फागुनमा थप कोटा माग गर्ने गरेका छौं,’ उनले भने, ‘गत वर्ष २ हजार ५ सय क्विन्टल चामलको कोटा मागिएको थियो तर ठेकेदारले ढुवानी गर्न मानेका छैनन् ।’ डोल्पाका डिपोमा समेत चामल सकिएको छ । जुम्लादेखि डोल्पाको काइगाउँ र सर्मी डिपोमा चामल जान्छ ।

खड्का निर्माण सेवाले थपिएको चामल ढुवानीको जिम्मा लिएको छ । तर पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ठेकेदार कम्पनीले गत वर्षको थप चामल ल्याउन नमानेको विष्टको भनाइ छ । ‘थपिएको २ हजार ५ सय क्विन्टल चामल आएको भए दसैंसम्म राम्रैसँग बेच्न मिल्थ्यो,’ उनले भने, ‘ठेकेदारले गत वर्ष गरिएको ठेक्का संशोधन गरे मात्र चामल ल्याउँछु भन्ने अडान राखिरहेका छन्, तेलको मूल्य बढेकाले हामीले पनि कर गर्न समस्या भयो ।’ खाद्यमा अरुवा मोटो चामल ४६, मकवानपुर ४७, मध्यम ५०, सोना ५१, स्टिम जिरा ६६ र बास्मती चामल १ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ ।
साभार कान्तीपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय