सोलुखुम्बु
जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–११ रमितेस्थित कडेनी झोडेनी सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ।
आइतबार साँझ बेवारिसे अवस्थामा सिद्धिचरण नगरपालिका–४ ओखलढुंगाकी ४७ वर्षीया राधिका ठटालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार जंगलमा बेवारिसे अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शवको प्रकृति हेर्दा २–३ दिनअघि नै मुत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ। ओखलढुंगाको एक स्वास्थ्य केन्द्रमा कार्यरत रहेको र सोलुखुम्बुमा मितिनी भेट्न भनी हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए।
मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ।












