यही पौष २२ गते म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्वर ७, ताकममा अस्पताल शिलान्यास कार्यक्रम जिल्ला सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमा पालिका उपमेयर रेशम छन्त्याल, स्थानिय बुद्धिजिवी र स्थानियबासीहरुको सहभागितामा रहेको कुरा पुस २८ गते कान्तिपथ डटकमले समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचारमा ताकमका ३,४,५ नं वडाबासीहरु उपल्लो जाती र वडा ६ नं का दलितहरुले दलितहरुलाई सेलरोटी बनाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।
त्यस गाँउपालिकामा अझैंपनि जातिय बिभेद कायम नै रहेको र बर्षौं देखी बिभेद सहदै आएको कुरा दलित समुदायका युवा कुशल रसाईलीले आफ्नो सामाजिक सञ्जाल मार्फत गुनासो ब्यक्त गरेका थिए ।
उक्त कुरा ब्यक्त गरेपछि कान्तिपथ डटकमले समाचार प्रकाशित गरेपछि जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई दबाब दिएर उल्टै माफी मगाएको छ । सोही समाचार कान्तिपथबाट प्रकाशन भएपछि पत्रकार सन्तोष गौतमले सोही समाचारलाई खण्डन गरेका छन् ।
यस्तो छ उनको समाचारको खण्डन
२०७७ पुष २२ गतेका दिन धवलागिरी गाउँपालिका–७ ताकममा भएको अस्पताल र वडा कार्यालय भवन शिलन्यास कार्यक्रममा जातीय बिभेद भएको भन्ने बिषयमा स्थानीय युवा कुशल रसाइलीले सामाजिक सञ्जाल फेसबुकमा राखेर पछि हटाएको स्टाटसलाई आधार बनाएर काठमाडौबाट सञ्चालन हुने] www.kantipath.com अनलाइनले मैले समाचार नलेखेको भन्ने आरोप लगाई मेरो प्रतिक्रिया समेत नलिई एकपक्षीय दंगले मेरो र पत्रकारिताको बदनाम गर्ने नियतले मेरो व्यक्तिगत तस्बिर प्रयोग गरेर https://kantipath.com/breaking-news/bhupendra-thapa-vs-santosh-gautam लिंकमा सम्बन्धित घटनाको तथ्य र बास्तबिकतानै बनुझी पत्रकारिताको आचारसंहिता विपरित समाचार सम्प्रेषण गरेकामा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै यस घटनामा मेरो कुनै संलग्नता नरहेको, विभेदलाई संरक्षण गरेको भनेर लगाइएको आरोप झुटा भएको र सामाजिक संजालमा आएको उक्त बिषयको तथ्य, प्रमाण नभएको र गुनासो गर्ने ब्यक्तिलेनै स्टाटस हटाएर समाचार नलेख्न अनुरोध गरेको ब्यहोरा अवगत गराउदछु । स्वतन्त्र हिसाबले समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकारलाई सामाजिक सञ्जाल मार्फत चरित्रहत्या गर्न खोजिएकोमा दुख ब्यक्त गर्दै गल्ती सच्चाउन र खण्डन प्रकाशन नगरेमा कानुनी उपचार खोज्ने अवगत गराउदछु ।
समाचारमा उल्लेखित घटनाको बिषयसँग सम्बन्धित तथ्यहरु निम्नअनुसार रहेको जानकारी गराउदछु ।
१. कार्यक्रम स्थलमा अतिथि लगायत गाउँका सबै दलित र गैरदलितहरुसँगै बसेर बितरण गरिएको रोटी, अचार र चिया खाइएको थियो ।
२. कार्यक्रम स्थलमा कसैले पनि जातीय विभेद र भेदभाव गरिएको बिषयमा गुनासो गर्नुभएन् र अहिलेसम्म न्यायको लागि प्रक्रिया सुरु गर्नुभएको छैन् । जातीय विभेद भएको र लुकाइएको भए त्यो खेदजनक, निन्दनिय छ । दोषीले कानुनी कारबाही भोग्न तथा पिडितले न्याय पाउनुपर्छ भन्नेमा मेरो स्पष्ट धारणा छ ।
३. फेसबुक मार्फत जातीय विभेद भएको गुनासो गर्नुभएका ताकमका कुशल रसाइलीलाई बुझ्दा उहाँले खाजा तयार पार्ने क्रममा दलित र गैर दलितलाई आ आफ्नो समुदायले खाजा बनाउने भनेको सुनेको आधारमा सामाजिक सञ्जालमा स्टाटस लेखेको तर बुझ्दा त्यस्तो नभएर एकै ठाउँमा रोटी बनाएर सँगै बितरण भएको बुझेपछि फेसबुकमा स्टाटस हटाएको बताउनुभएको छ । उहाँले जातीय विभेदको तथ्य जुटाएर कानुनी उपचार खोज्ने बिषयमा छलफलमै रहेको प्रतिक्रिया दिनुभएको थियो । पहिला समाचार लेखिदिन आग्रह गर्नुभएका कुशलले पछि आफै फोन गरेर अहिल्यै नलेखिदिनुहुन अनुरोध गर्नुभएको थियो । २०७७ पुष २८ गते निज कुशल आफैले विज्ञप्ति जारी गरेर कुरा नबुझि फेसबुकमा लेख्दा पर्न गएको असरप्रति सार्वजनिक रुपमै क्षमा याचना गर्नुभएको छ ।
४. कार्यक्रमको आयोजक ताकमको वडा कार्यालय भएको नाताले वडा अध्यक्ष कलानिधी शर्मासँग जातीय बिभेद भएको गुनासोको बिषयमा प्रतिक्रिया लिदाँ उहाँले कार्यक्रमको तयारी तथा सञ्चालनको क्रममा कसैलाई पनि भेदभाव नगरिएको, आफूसँग विभेदको बिषयमा कसैले पनि गुनासो नगरेको तर एक्कासी सामाजिक सञ्जालमा भाइरल भएको बिषयले दुखित तुल्याएको प्रतिक्रिया दिनुभएको छ ।
५. ताकम प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमा पनि कार्यक्रम भएको ७ दिनसम्म जातीय बिभेद भएको बिषयमा कसैले उजुरी नगरेको जानकारी आएको छ ।
कुनै पनि किसिमले कसैमाथि भेदभाव र छुवाछुत हुनुहुदैन भन्ने बिषयमा म स्पष्ट छु । यस्ता सामाजिक कुरितिको संरक्षण गर्नुहुदैन । कानुनी कारबाही हुनुपर्छ । यसमा मेरो साथ र सहयोग रहन्छ । अन्याय भएको अवस्थामा पिडितले न्यायको लागि आवाज उठाउने र कानुनी उपचार खोज्ने बाटो खुल्ला छ । यस्ता संबेदनशिल बिषयमा मैले विगत देखिनै कलम चलाउदै आएको र खबरदारी गर्दै आएको छु । सामाजिक सञ्जाल सूचनाको स्रोत हो, न्यायालय होइन् भनेर बुझिदिनुहुन अनुरोध छ ।
सन्तोष गौतम
धवलागिरी गाउँपालिका–७ ताकम म्याग्दी