नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ। सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो। गएको मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएको भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएको हो। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिरो रोकथामको लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए।

सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको छ। विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक संरचना निर्माणको काम बाँकी रहेको थियो। पहिरोको जोखिम क्षेत्रबाट ढुंगा झार्ने काम ७० प्रतिशत सकिएको जानकारी दिँदै खनालले काम गर्ने अवधि छ महिना तोकिएको भए पनि यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा काम सकिने भएको छ।

नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने छ। आयोजनालाई यस अगाडि दुई हप्ताको समय दिइएको भए पनि काम नसकिएपछि र फेरि ११ दिनको म्याद थप गरिएको हो। आयोजनाले दुई हप्ताको समय माग गरेको थियो। मुख्य राजमार्ग भएकाले थप भएको समयभित्रै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको र पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन नरोकिने पनि बताईएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ। त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम यसअघि नै भइसकेको छ। यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ।