‘छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म एमालेमै रहन्छु’: भीम रावल

0 minutes, 0 seconds Read
Spread the love

एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन्।

धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन।’

त्यो अवस्था अझै सिर्जना भएको छैन? भन्ने प्रश्नमा रावलले ‘अध्ययन गर्दैछु’ भन्ने जवाफ दिए।

उनले एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे आफूलाई कुनै जानकारी नभएको बताए।

अधिवेशनका लागि रावलले निमन्त्रणा नगरिएको विषयमा निकै चर्चा भएको थियो। पार्टी नेतृत्वले रावललाई सुदूरपश्चिममै पाखा लगाउन खोजेको कतिपय कार्यकर्ताले बताएका थिए। केही समयअघि भने एमालेले रावलसित संवाद गर्न टोली बनाएको थियो। त्यो टोलीसित एकपटक भेट भएको रावलले बताए। एकपटक पार्टी अध्यक्षसित पनि भेट भएकोबाहेक थप के भयो भन्नेबारे पार्टीबाट जिम्मेवारी पाएका व्यक्तिलाई थाहा हुने उनले बताए।

यस्तै रावलले सुदूरपश्चिमको भूगोलमा भारतका प्रधानमन्त्री आएको विषयमा राज्य मौन बस्नु आपत्तिजनक भएको बताए।

‘आफ्नो सिमानाको रक्षा गर्नु राज्यको पहिलो दायित्व हुन्छ, संसदबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा जारी गरिसकेपछि कुनै विदेशी प्रधानमन्त्री कुनै जानकारीबिना आउँदा नेपाल सरकारले तत्काल बोल्नुपर्ने हुन्छ’, उनले भने।

तत्काल भारतका अधिकारीहरूलाई बोलाएर सोध्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउद र अरू अधिकारीहरू मौन रहेको रावलको भनाइ छ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका बेला दुई देशको सम्बन्ध नयाँ समझदारीमा र नयाँ उचाइमा गयो भनेका कुरा स्मरण गर्दै त्यो भनेको नेपालको भूमि मिच्ने सहमति हो कि के हो जनतालाई स्पष्ट पार्नुपर्ने उनले बताए।

भ्रमणका क्रममा  गरिएको भनिएका सम्झौता पनि सार्वजनिक नगरिएको रावलले बताए।

‘कोशी प्रदेशमा भाँडभैलो गरेर कसलाई मन्त्री बनाउने, कसलाई पदबाट हटाउने, संवैधानिक निकायमा आफ्नो मान्छेलाई नियुक्ति दिने जस्ता काममा सरकार व्यस्त रहनु अत्यन्तै आपत्तिजनक छ,’ उनले भने।
सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *