महँगी बढिरहने हो भने कांग्रेस सत्तामा बसिरहन जरूरी छैन: प्रदीप पौडेल

0 minutes, 0 seconds Read
Spread the love

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महँगी निरन्तर बढिरहने हो भने सरकारमा बसिराख्न जरूरी नहुने बताएका छन्।

संघीय सरकारमा कांग्रेसका ९ जना मन्त्री छन्।

उनले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन्।

‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरूरी छैन,’ कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने।

उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे।

‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरूरी छैन। म जान नपाएर भनेको होइन,’ उनले भने, ‘जनताको काम गर्न सत्तामा जाने हो।’

पार्टी सरकारमा भएकोले यो-यो काम पूरा भयो र यी बाँकी छन् भनेर भन्न पाउने स्थिति निर्माण हुनुपर्ने पनि उनले बताए।

उनले रोजगारी सिर्जना हुन नसकेको बताए। ‘नयाँ रोजगारीको क्षेत्र देखिएको छ?,’ उनले भने, ‘सुशासनको पक्षमा के-के गरिन्छ भनेर घोषणा पत्रमा लेखिएको थियो?’

काम नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए।

पार्टीका कामकारबाही कछुवा गतिमा भइरहेकोमा उनले असन्तुष्टि जनाए।

उनले पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्।

‘वैचारिक विषयलाई पनि अघि बढाउनुपर्छ,’ उनले भने। उनले बन्न चाहने सबैलाई पार्टीको सदस्यता दिनुपर्ने बताए। ‘आफूलाई भोट हाल्नेलाई मात्र सदस्य बनाउने व्यवस्थालाई अन्त्य गर्नुपर्छ,’ उनले भने।

मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीलाई बहुमत दिन सक्दैन भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि संसदलाई समावेशी बनाउन सकिने बताए।

‘महिला मात्रै, दलित मात्रै लड्ने सिट छुट्याएर संसदलाई समावेशी बनाउन सकिन्छ,’ उनले भने, ‘समानुपातिक प्रतिनिधित्वको अहिलेको व्यवस्थालाई प्रत्यक्षबाट प्रतिनिधित्व गर्न सकिन्छ।’

उनले कांग्रेस नेतृत्व पनि प्रत्यक्ष तर्फबाट चयन गर्नुपर्ने बताए। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *