Home / Sports / क्रिकेट क्रेजी बालकका सपना

क्रिकेट क्रेजी बालकका सपना

क्रिकेट क्रेजी बालकका सपना

एउटा समय थियो बालकहरू घाँटीमा गुलेली बोकेर हिँड्थे। डन्डीबियो खेल्थे। बालिकासँग मिलेर गट्टा पनि खेल्थे। मोजामा थाङ्ना खाँदेर फुटबल खेल्थे। तर, समय बदलिएको छ। गाउँघरमा छिटफुट यस्ता खेल खेलिए पनि सहरमा क्रिकेटको क्रेज बढिरहेकै छ।

(गाउँघरमा पनि ब्याटजस्तो देखिने काठको मुंग्रो देखिन थालेको छ।) बालक हुने घरको एउटा कुनामा ब्याट देखिनु सामान्य भएको छ। उपहार लिँदा र दिँदा बालकहरू ब्याट रुचाउँछन्।

यस्तै क्रिकेट क्रेजीहरूले भरिएको छ टुँडिखेल। मैदानको मध्य भागमा दुईचार समूह फुटबल खेल्दै छन्। त्योभन्दा झन्डै दोब्बर बढी समूह क्रिकेटको बल र ब्याटमा मस्त छन्। दुईतीनवटा इँटाको टुक्रा राखिएको छ अगाडि। वयष्कदेखि बालकसम्म ब्याट बोकेर त्यही इँटालाई ताकेर बलिङ गर्छन्। बल ब्याटमा ठोक्किएर पर पुगेपछि बालकहरू धुलो उडाउँदै दौडिन्छन्, उनी लड्दै बल फ्याँक्छन्।

मैदानको बीचमा धुलो टक्टक्याउँदै उठ्छन् भोटेबहालका नौ वर्षीय बालक आयुष बोहोरा। उनी खुसी हुँदै भविष्यमा क्रिकेटर बन्ने बताउँछन्। उनलाई युवा स्पिनर सन्दीप लामिछाने एकदमै मन पर्छ। अझ सन्दीपको बलिङ उनलाई विशेष मन पर्छ। विद्यालय छुट्टी भएपछि बल र ब्याट बोकेर टुँडिखेल धाउनु उनको दिनचर्या बनेको छ। बालमस्तिष्कमा क्रिकेटर बन्ने सपना सजाइसकेका आयुष भन्छन्, ‘सन्दीप दाइजस्तै बलर बन्छु।’

यी बालकको सपना कहाँ गएर टुंगिएला, निश्चित छैन। तर, यतिचाहिँ भन्न सकिन्छ, क्रिकेट क्रेज बढ्दो छ।

नेपाली टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाट अहिलेसम्मकै ठूलो सफलता लिएर घर फर्किएको छ। आयोजक नामिबिया र क्यानडाविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय क्रिकेट जगत् नै चकित बन्यो। असम्भव प्रायः देखिएको अवस्थामा पुगेर सम्भव बनाउँदै खेल जित्दा नेपाली खेलाडीले निकै प्रशंसा पाए।

नामिबियाविरुद्ध वसन्त रेग्मी तथा क्यानडाविरुद्ध करण केसीले सशक्त ब्याटिङ गर्दा नेपालले असम्भव प्रायः देखिएको खेल जितेको थियो। यो दुवै खेलमा सन्दीपले पनि बलियो साथ दिएका थिए।

पुबुदुको नजरमा नपरेका भए सायद सन्दीपको प्रतिभा पनि बाहिर आउने थिएन। त्यसैले सन्दीपजस्तै अन्य प्रतिभालाई समेट्न अवसरको सिर्जना गर्न आवश्यक छ।

वसन्त र करणको ब्याटिङसँगै प्रतियोगितामा सन्दीपको बलिङले आयुष र उनका साथीहरूलाई ठूलो प्रभाव पारेको छ। आयुषसँगै क्रिकेट खेलिरहेका भोटेबहालका ११ वर्षीय रोहितकुमार जैसवाललाई पनि सन्दीपजस्तै बलर बन्नु छ। त्यसका लागि उनले अहिलेबाटै लेग स्पिन बलिङमा जोड गरिरहेका छन्।

क्यानडाविरुद्धको खेलपछि उनको मन पर्ने खेलाडीको सूचीमा करण केसी पनि थपिएका छन्। सन्दीपको नक्कल गर्दै एक ओभर लेग स्पिन बलिङ गरेर देखाएपछि रोहितले भने, ‘बलरमा त मेरो मन पर्ने सन्दीप दाइ नै हो। बलिङ अलराउन्डर बन्ने इच्छा छ। ब्याटिङमा करण दाइको जस्तै आक्रामक खेल्न मन पर्छ।’

व्यवस्थित मैदान तथा पर्याप्त खेल सामग्रीको अभावका बीच टँडिखेलमै खेलेर भए पनि आयुष र रोहितजस्ता धेरै बालक भविष्यमा देशका लागि खेल्ने सपना देखिरहेका छन्। उनीहरूको जोश र इच्छालाई कुनै पनि तरिकाले मर्न नदिए भविष्यमा नेपालले साँच्चै सन्दीपजस्ता अरू धैरै प्रतिभावान् खेलाडी पाउनेछन्।

त्यो दर्शक, त्यो प्रभाव

नेपालले सन् २०१० मा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जित्दा पहिलोपटक घरेलु क्रिकेटमा सर्वाधिक समर्थक मैदानमा पुगेका थिए। डिभिजन पाँच प्रतियोगिता त्यस बेला नेपालले आयोजना गरेको सबैभन्दा ठूलो प्रतियोगिता थियो। अनि घरेलु मैदानमै आफ्नो टोलीले विदेशी टोलीलाई पराजित गर्दै उपाधि जितेको हेर्न नेपाली समर्थक कीर्तिपुरसम्म नपुग्ने कुरै भएन।

त्यस बेला नेपाललाई उपाधि जिताउन दर्शकको व्यवहार पनि महत्वपूर्ण रह्यो। अमेरिकाविरुद्धको समूह चरणको जित्नैपर्ने खेलमा नेपाल हार नजिक पुगेको थियो। त्यति नै बेला समर्थकले मैदानमा पानीका बोतल र ढुंगा प्रहार गरेपछि ४५ मिनेट खेल रोकिँदा परिमार्जित नतिजामा अमेरिका विजयी बन्यो।

उनी प्रत्येक शनिबार ‘सन्दीप सपना’ बोकेर टँडिखेल धाउँछन्। आफ्नो बाल मस्तिष्कमा क्रिकेट भरिसकेका उनी भन्छन्, ‘सन्दीप दाइजस्तै बलर बन्छु।’

यद्यपि अमेरिका, नेपाल र सिंगापुरको आठ÷आठ अंक हुँदा नेट रन रेटमा नेपाल दोस्रो हँदै डिभिजन चारमा बढुवा भयो। अनि दोस्रो दिन भएको फाइनल खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दै उपाधि पनि जित्यो नेपालले। दर्शकले ४५ मिनेट खेल नरोकेको भए नेपाल रन रेटमा पछि पर्दै डिभिजन चारमै रहने पक्का थियो।

दर्शकको व्यवहारका कारण नेपाललाई कारबाही गर्नुको सट्टा प्रतियोगिता खेल्न दिएको भन्दै सिंगापुरले आईसीसीको आलोचनासमेत ग¥यो। नेपालले त्यही अवसर सदुपयोग गर्दै थप अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उपाधि जित्यो।

नेपालले यस बीचमा डिभिजन चारको दुई तथा डिभिजन तीनको एक उपाधि जित्यो। सन् २०१२ मा एसीसी ट्रफी एलिटको उपाधि पनि जित्यो। नेपाली टोलीको यही प्रदर्शन र सफलताले गर्दा पछिल्लो पुस्ताका युवाहरूमा क्रिकेटमोह ह्वात्तै जाग्यो।

नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहँदा प्रत्येक बलको अपडेटका लागि सामाजिक सञ्जाल चहार्ने र प्रतियोगिता खेलेर फर्कंदा विमानस्थलमा स्वागतका लागि पुग्ने क्रेजी समर्थकलाई हेरेर नेपालीहरूको क्रिकेटमोहलाई मापन गर्न सकिन्छ। नेपाली क्रिकेटको त्यही समर्थन र समर्थकलाई देखेर आईसीसी पनि नेपालको बारेमा कठिन निर्णय लिन सकिरहेको छैन।

अवसरको खाँचो

१७ वर्षीय युवा स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) अनुबन्धले नेपाली क्रिकेटको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमै पहिचान हुने काम भएको छ। नेपाली क्रिकेटमा सन्दीपजस्तै अन्य प्रतिभाहरू पनि छन्, जसले आफ्नो क्षमता देखाउने अवसर नै पाएका छैनन्। सन्दीप आफैंलाई पनि पूर्वप्रशिक्षक पुबुदु दासानायकेले चितवनको एक टे«निङ सेन्टरबाट बोलाएर सीधै राष्ट्रिय टोलीको क्याम्पमा राख्दै अवसर दिएका थिए।

पुबुदुको नजरमा नपरेका भए, सायद सन्दीपको प्रतिभा पनि बाहिर आउने थिएन। त्यसैले सन्दीपजस्तै अन्य प्रतिभालाई समेट्न अवसरको सिर्जना गर्न आवश्यक छ। त्यसका लागि झन्डै पछिल्लो वर्ष दिनयता आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको प्रक्रियालाई चाँडै टुंग्याएर घरेलु प्रतियोगिता सुचारु गर्न आवश्यक छ।

annapurnapost.com बाट साभार गरिएको

About admin

Check Also

यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘

काठमाडौं, असोज १२ – बुधबार सम्पन्न भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल, भारत, बंगलादेश …

Leave a Reply

Your email address will not be published. Required fields are marked *