सवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो ।
शर्मा तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष, कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए । उनी लोकदोहोरी कलाकारसमेत थिए । उनकी श्रीमती र एक छोरा छन् । पार्थिव शरीरमा उनका बुुबा ईश्वरीप्रसाद घिमिरे र श्रीमती सिर्जनाले दागबत्ती दिएका थिए ।
शर्माको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भूषालले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलि दिन कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव), प्रतिनिधिसभाका सांसद् नवराज सिलवाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, चेतनाथ सञ्जेल, लाल कुमारी पुन (सुसिला), पूर्व सांसद्हरु सुशीला नेपाल, गंगा पराजुली, नेकपाका केन्द्रीय सदस्यहरु सूर्य थापा, हरि दाहाल (ललित), राष्ट्रिय समाचार समिति (रासस) का महाप्रवन्धक ओपेन्द्र शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, नेपाल टेलीभिजनका महाप्रबन्धक सचिन रोका, पत्रकार बलराम थापा, गगन विष्ट, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान, नेकपाका नेता शिव कट्टेललगायत पत्रकार तथा लोकदोहोरीका कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए ।














